त्रैमासको अन्त्यमा एक महिने निक्षेपका लागि बैंकहरुले किन गर्छन् तानातान ?




काठमाडौं । २०७४ असार महिनामा वाणिज्य बैंकहरुले एक महिनाको मुद्दती लिन औषतमा ९.१३ प्रतिशत ब्याज दिएर १६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप लिए ।

२०७४ को साउनमा आउदा एक महिने निक्षेपको ब्याज ७.५२ प्रतिशतमा झर्यो । एक महिने निक्षेप पनि १० अर्ब रुपैयाँमा सिमित भयो ।

एक वर्षको तथ्यांक विश्लेषण गर्दा त्रैमासको अन्तिम महिनामा त्यही एक महिने अवधिको निक्षेपको ब्याज र निक्षेप रकम बढेको देखिन्छ । आर्थिक वर्ष २०७४÷७५ को असार महिना बाहेकको तथ्यांक विश्लेषण गर्दा त्रैमासको अन्त्यमा निक्षेप बढाउनको लागि बैंकहरुले महंगो ब्याज तिरेर एक महिना अवधीको लागि निक्षेप तानेको देखिन्छ ।

बैशाख महिनामा बैंकहरुमा एक महिने निक्षेप १६ अर्ब ७० करोड रुपैयाँ थियो । बैशाख महिनामा बैंकहरुले एक महिने निक्षेप तान्नको लागि औसतमा १०.६८ प्रतिशत ब्याजदर तिरेका छन् ।

जेठ महिनामा बैंकहरुसँग एक महिने अवधीको मुद्दती निक्षेप ३६ अर्ब १७ करोड रुपैयाँ छ । यसको लागि बैंकहरुले औसतमा ११.०९ प्रतिशत ब्याजदर खर्च गरेको राष्ट्र बैंकको प्रतिवेदनले देखाउँछ ।

गत जेठमा बैंकले सबैभन्दा बढी ब्याजदर नै एक महिनाको अवधीको मुद्दती निक्षेप तान्नको लागि दिएका छन् ।

किन हुन्छ यस्तो ?
‘सिसिडी मिलान गर्नको लागि त्रैमासको अन्तिममा बढी ब्याजदरमा एक महिना अवधीको लागि निक्षेप लिनै पर्छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

हिसाब मिलानको लागि बैंकहरुले एक महिना अवधीको मुद्दती निक्षेपमा पैसा लिएको देखिन्छ । मुख्य रुपमा त्रैमासिक अवधीको अन्तिममा कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी) मिलानको लागि एक महिने मुद्दती निक्षेपमा बैंकले महंगो ब्याजमा पैसा लिन्छन् । कतिपयले यसलाई वास्तविक निक्षेप नभएको समेत बताउने गरेका छन् ।

सीसीडी मिलाउन बैंकहरुले यस्तो तानतुन गर्ने गरेका हुन् ।

गत आर्थिक वर्षमा त्रैमास सकिएपछि निक्षेपको रकम बढेको माघ महिनामा मात्र हो । पुस महिनामा ११ अर्ब ५५ करोड रुपैयाँ औसतमा १०.६८ प्रतिशत ब्याजदरमा बैंकहरुले एक महिने अवधीको लागि निक्षेप लिएका थिए । माघ महिनामा औसत ब्याजदर ९.९८ प्रतिशतमा घटेपनि एक महिने अवधीको लागि १९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप लिएको देखिन्छ ।

‘बाध्यताको कारण एक महिना अवधीको लागि यस्तो खालको निक्षेप लिनुपर्ने हुन्छ, त्रैमासको अन्त्यमा हिसाब मिलेपछि अर्को महिना यस्तो निक्षेप रकम र ब्याजदर घट्ने गर्छ,’ अर्काे एक बैंकका सिइओले भने ।

बैंकहरुको निक्षेप हरेक महिना बढेपछि पछिल्लो समयकै उच्च एक महिनाको लागि मुद्दती निक्षेप लिएको भने जेठ महिनामा हो । असार महिनाको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छैन । तर, असार महिनामा यो रकम र ब्याजदर भने बढ्न सक्ने देखिन्छ ।


क्लिकमान्डु