सेयर बजार सुधारको प्रयास नगर्दा सरकारलाई लाग्यो घाटा, गत वर्ष पुँजीगत लाभकर ९६ करोडले घट्यो



काठमाडौं । आर्थिक वर्ष २०७३/७४ मा ४ खर्ब ९ अर्ब रुपैयाँको सेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा भयो । सरकारले १ अर्ब ४६ करोड रुपैयाँ सेयर बजारबाट लाभकर संकलन गर्न सफल भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा सेयर बजार बढ्दा लगानीकर्ता,नेप्से,धितोपत्र बोर्ड बोक्रर तथा सरकारलाई लाभ भयो । तर,आर्थिक वर्ष २०७४/७५ मा जम्मा २ खर्ब ४२ अर्ब रुपैयाँको सेयर कारोबार भयो । सेयर बजार घट्न थाल्यो कारोबार समेत घट्न थाल्यो । जसको असर सरकारलाई समेत पर्यो ।

आर्थिक वर्ष २०७३/७४ मा नेप्से सरकारलाई बढी आयकर तिर्ने उत्कृष्ट १५ नम्बरमा परेको थियो । सेयर बजारको पुँजीगत लाभकर नेप्से मार्फत जाने गर्छ । जसले गर्दा कर कार्यालयको रेकर्डमा नेप्सेले कर तिरेको देखिन्छ । यो वर्ष ५० करोड मात्र लाभकर दाखिला भएको हुँदा नेप्सेको स्थान निकै नै तल झरेको छ ।

गत आर्थिक वर्षमा सरकारले सेयर बजारबाट जम्मा ५० करोड रुपैयाँ पुँजीगत लाभकर असुली गरेको देखिएको छ । यो भनेको आर्थिक वर्ष २०७३/७४ को तुलनामा ३३ प्रतिशतले कमी हो ।

आर्थिक वर्ष २०७४/७५ मा पुँजीगत लाभकर व्यक्तिगत तर्फ ५ प्रतिशत तथा संस्थागत तर्फ १० प्रतिशत थियो । चालु आर्थिक वर्षदेखि सेयर बजारमा लाग्ने पुँजीगत लाभकर व्यक्तिगत तर्फ ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत बनाइएको छ । सेयर बजारमा कुनै सुधार नभएमा लाभकर बढेपनि यसबाट हुने कर असुली अझै घट्ने देखिन्छ ।

सेयर बजार ओरालो लागेपछि योसँग जोडिएका र यसबाट हुने आम्दानी सबैको घटेको नेप्सेका एक अधिकारीले बताए ।

‘सरकारका कतिपय व्यक्तिको नीति सेयरमा लाग्नेले मात्र कमाएको भन्ने बुझाई छ,बजार घटेपछि सरकार आफैले आम्दानी गर्ने पुँजीगत लाभकर यो वर्ष घट्यो,’ ती अधिकारीले भने ।

सेयर बजार पछिल्लो एकवर्षदेखि बियरिस ट्रेण्डमा छ । जसले गर्दा बजार उच्च बिन्दुमा पुगेको बेला लगानी गर्ने लगानीकर्ताले घाटा खाएका छन् । सेयर बजारमा बढ्दो आपूर्ति बैंकको ब्याजदर तथा सरकारी नीतिलाई नै सेयर बजार घट्ने कारणको रुपमा लिइएको छ ।


क्लिकमान्डु