अर्थमन्त्री खतिवडाको लाइन विपरित बोर्ड अध्यक्ष कार्की स्टक एक्सचेन्ज थप्ने तयारीमा



काठमाडौं । धितोपत्र बोर्डले आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने घोषणा गर्यो ।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सेयर बजारलाई प्रतिस्पर्धी बनाउनको लागि नयाँ स्टक एक्सचेन्ज आवश्यक भएको नीति सार्वजनिक गर्दै बताएका थिए ।

शुक्रबार आर्थिक पत्रकार समाज(सेजन)सँग अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष कार्कीले नयाँ स्टक एक्सचेन्जको औचित्य आवश्यक भएको भन्दै भने,‘एउटा मात्र सरकारी एक्सचेन्ज भएर मात्र हुँदैन,नयाँ एक्सचेन्ज चाहिन्छ ।’

कार्कीले सरकारी मात्र संस्था हुँदा बैंक तथा टेलिकम कम्पनीको अवस्थालाई तुलना गरेर हेर्नुपर्ने र निजी लगानीमा प्रतिस्पर्धा थपिएपछि बजारको विस्तार हुने बताए ।

बोर्डले नयाँ स्टक एक्सचेन्ज थप्ने नीति लिएपनि अर्थमन्त्रालय भने यसमा सहमत छैन । हालका अर्थमन्त्री डा युवराज खतिवडा नयाँ स्टक एक्सचेन्ज खोल्ने नीतिमा छैनन् ।
बुलिस ट्रेण्डमा २ अर्ब रुपैयाँसम्मको सेयर कारोबार भएपनि अहिले २५ देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने गरेको छ ।

बोर्डका अध्यक्ष कार्कीले भारतमा पनि नयाँ स्टक एक्सचेन्ज खोलिएपछि बजार विस्तार भएको तर्क दिएका छन् ।

अहिले सेयर कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)मात्र रहेका छ । जसमा नेपाल सरकार सहित राष्ट्र बैंकको लगानी बढी छ भने तथा केही सेयर बोक्ररको लगानी न्यून रहेको छ ।

नेप्सेमा रहेको सरकारी लगानीलाई कमी गर्ने वा नयाँ स्टक एक्सचेन्ज थप्ने विषय भने जहिलेपनि विवादमा पर्ने गर्छ । बोर्डका पदाधिकारीहरु जहिलेपनि स्टक एक्सचेन्ज थप्नेमा हुन्छन् स्टकका पदाधिकारी अहिलेको सरकारी लगानी घटाएर निजीकरणको पक्षमा रहेका छन् ।

धितोपत्र बोर्डमा नेतृत्व फेरिएपनि नयाँ स्टक एक्सचेन्ज खोल्न दिने नीति ल्याएको भने १० वर्ष पुरा भएको छ ।

सूचिकृत कम्पनी र कारोबारको आधारले दुईवटा स्टक एक्सचेन्ज चलाउन केही कठिन देखिएपनि प्रतिस्पर्धा भने बढाउने देखिन्छ ।

धितोपत्र बोर्डको संचालक समितिले केही महिना अगाडि नै स्टक एक्सचेन्ज खोल्नको लागि सैद्दान्तिक सहमति दिने निर्णय गरेको थियो । २०६६ सालमा स्टक एक्सचेन्ज खोल्नको लागि चारवटा कम्पनीको आवेदन परेको थियो ।

विभिन्न व्यवसायिक घरानाहरुको चासो स्टक एक्सचेन्ज खोल्नमा रहेको छ ।
निर्वाचन अगाडि अर्थमन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले आफ्नो सेयर बिक्रीपछि मात्र नयाँ स्टक एक्सचेन्ज खोल्न दिदा ठिक हुने सुझाव दिएको थियो ।

गतवर्ष अर्थमन्त्रालयको नेतृत्व नयाँ स्टक एक्सचेन्जको लागि सहमत थियो । कर्मचारीहरु असहमत रहेपनि तत्कालिन मन्त्री कृष्णबहादुर महरा र त्यसपछि अर्थमन्त्री बनेको ज्ञानेन्द्रबहादुर कार्की नयाँ स्टक एक्सचेन्ज खोल्नको लागि सहमत दिए । तर,यो पटक अवस्था त्यस्तो छैन ।

अर्थमन्त्रालय स्रोतका अनुसार अहिलेका अर्थमन्त्री डा खतिवडा अहिलेसम्म नयाँ स्टक एक्सचेन्जको अनुमति दिनको लागि सहमत छैनन् । ‘मन्त्रीज्यू अहिलेसम्म नयाँ स्टकको लाइसेन्स दिने पक्षमा हुनुहुन्न,पछि केही परिवर्तन भए अर्को कुरा हो,’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

बोर्डका अध्यक्षले जसरीपनि लाइसेन्स दिन खोजेपनि अर्थमन्त्रालयको सहमति बिना लाइसेन्स बाड्न भने सम्भव छैन ।


क्लिकमान्डु