तपाइलाई कस्तो असर पार्छ यो मौद्रिक नीतिले ?




काठमाडौं । राज्यका हरेका नीति नियमले आम नागरिकको जीबनयापनमा प्रत्यक्ष वा परोक्ष प्रभाव पारिरहेको हुन्छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि मौद्रिक नीति ल्याएको छ । यो नीतिले तपाइको दैनिकीमा के कस्तो प्रभाव पार्छ ? यो बिषयमा अलिकति चर्चा गरौं ।

मौद्रिक नीतिले प्रत्येक्ष रुपमा आम नागरिकलाई प्रभाव पार्दैन । यो नीति बजेट (सरकारको बित्तीय नीति) जस्तो प्रत्येक्ष राहत दिने वा लाभ दिन सक्ने भूमिकामा हुँदैन । यसले पार्ने प्रभाव परोक्ष मात्रै हो ।

तपाइ कुन पेशा वा ब्यवसायमा हुनुहुन्छ, त्यसैको आधारमा यो नीतिले पार्ने प्रभाव फरक हुन सक्छ ।

तपाइ अन्तराष्ट्रिय ब्यापार अर्थात आयात निर्यात ब्यापारमा संलग्न हुनुहुन्छ भने बिदेशबाट अग्रिम रकम प्राप्त भएको आधारमा तेस्रो मुलुकको सामान नेपाल बाहेक अन्य मुलुकमा प्रतितपत्र (एलसी) मार्फत अन्तराष्ट्रिय प्रचलन अनुसार निर्यात ब्यापार गर्न सक्ने सुविधा यो मौद्रिक नीतिले दिएको छ ।

यस्तै तपाइले भारतबाट बस्तु आयात गर्दा ५ करोड रुपैयाँभन्दा बढीको आयातमा अब एलसी खोलेर मात्रै गर्नुपर्ने भएको छ । तेस्रो मुलुकबाट सामान आयात गर्नुहुन्छ भने ४० हजार अमेरिकी डलरभन्दा माथिको आयातमा एलसी खोल्नुपर्ने भएको छ ।

तपाइ सुनचाँदी ब्यवसायमा संलग्न हुनुहुन्छ र तपाइले बिदेशी, गैरआवाशीय नेपाली वा कुटनीतिक नियोगका पदाधिकारीलाई स्वेदेशमै परिवत्य विदेशी मुद्रामा सुनका गरगहना विक्री गर्नुभयो भने त्यसलाई निर्यातको रुपमा मानेर सुन उपलब्ध गराउने ब्यवस्था यो मौद्रिक नीतिले गरेको छ ।

तपाइ उद्योग ब्यवसायमा संलग्न हुनुहुन्छ भने तपाइले कच्चा पदार्थ आयातमा पाउने विदेशी मुद्राको ऋणको अवधी ९० दिनबाट बढेर १८० दिन भएको छ ।

सरकारले जारी गरेको ट्राभल डकुमेन्टको आधारमा तपाइ बिदेश भ्रमणमा जादै हुनुहुन्छ भने राहदानी सुविधामा स्थलमार्ग प्रयोग गर्नेहरुलाई जस्तै गरी १ हजार अमेरिकी डलरसम्मको सटही सुविधा तपाइले पाउनु भएको छ ।

तपाइ लघु उद्यम गर्न चाहनुहुन्छ भने गाउँपालिकाका लघुवित्त वित्तीय संस्थाका कार्यालयहरुबाट धितो राखेर सामुहमा आवद्ध भए वा नभए पनि लघु उद्यम संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पाउनु हुने भएको छ ।

तपाइ बैंक तथा वित्तीय संस्थामा जागिर गर्नुहुन्छ भने तपाइको दक्षता अभिबृद्धिका लागि तपाइलाई जागिर दिने बैंक तथा वित्तीय संस्थाले लगानी गरेर तालिम शिक्षा जस्ता बिषय तपाइलाई उपलब्ध गराउने छन् । यो उपलब्धी तपाइले यो मौद्रिक नीति मार्फत पाउनु भएको हो ।

तपाइ बैंकबाट ऋण लिने ब्यक्ति हो भने २५ करोड रुपैयाँभन्दा माथिको ब्यवसायिक ओभरड्राफ्ट कर्जा लिदा वा नविकरण गर्दा तपाइले पेश गरेको चालु सम्पत्ति तथा दायित्वका विवरणहरु स्वतन्त्र रुपमा तेस्रो पक्षले प्रमाणित गरेको हुनुपर्ने भएको छ ।

तपाइ कुनै बैंक तथा वित्तीय संस्थाको संचालक वा उच्च ब्यवस्थापनमा हुनुहुन्छ भने नयाँ निमय बारे पनि जानकारी राखिराख्नुहोस । त्यो नयाँ नियम के हो भने बाणिज्य बैंकहरुको प्रत्येक आर्थिक बर्षका लागि निक्षेप दायित्व तथा कर्जा सापट सहितको बार्षिक कार्ययोजना संचालक समितिबाट पास गराएर साउन मसान्त भित्रै राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ ।

तपाइको स्थीर सम्पत्ति वा घर जग्गाको धितो मूल्यांकनमा बैंक तथा वित्तीय संस्थाले केही गडबढी गरिदिए भन्ने तपाइलाई लागेको छ भने आगामी आर्थिक बर्षदेखि यो गुनासो पनि कम हुन सक्छ । किनभने राष्ट्र बैंकले यस्तो धितो मूल्यांकनमा एकरुपता दिन सरोकारवालाको समन्वयमा धितो मूल्यांकन मार्गदर्शन बनाउने भएको छ ।

तपाइलाई नगद चाहिएको बेला बैंकको एटिएम मेसिनबाट पैसा झिक्न खोज्नुहुन्छ तर पैसा आउँदैन, पैसा घटेको म्यासेज भने आउने गरेको पनि हुन सक्छ । यस्तो अबस्थामा बैंक खुलेको बेलामा गएर तपाइले गुनासो गर्नुपरेको हुन सक्छ । यो समस्या समाधान गर्न राष्ट्र बैंकले निश्चित समयभित्र तपाइको खातामा पैसा जम्मा हुने र त्यसो नभए ब्याज दिनुपर्ने नियम ल्याएको छ ।

तपाइ कुनै उद्योग ब्यवसाय गर्नुहुन्छ र बैंकबाट ऋण लिन चाहनुहुन्छ भने तोकिएका अन्य कागजातको साथमा कर चुक्ता वा दाखिलाको प्रमाणपत्र पनि बुझाउनु पर्ने भएको छ । र, तपाइले ऋण लिन बैंक तथा वित्तीय संस्थामा पेश गरेको वित्तीय विवरण कर कार्यालयका कर्मचारीको हातमा पुग्ने भएको छ ।

तपाइको बैंक वा वित्तीय संस्थाको प्रत्येक बर्ष क्रेडिट रेटिङ गराउनु पर्ने भएको छ भने तपाइ ५० करोड रुपैयाँभन्दा बढी कर्जा लिने ब्यक्ति हो भने तपाइले काम गर्ने वा तपाइको संस्थाको क्रेडिट रेटिङ गराउनै पर्ने भएको छ ।

तपाइ सेयर लगानीकर्ता हुनुहुन्छ भने तपाइको लागि सबैभन्दा खुसीको खबर छ । तपाइले सेयर धितो राखेर लिएको कर्जामा सेयरको मूल्य २० प्रतिशतसम्मले घटेपनि ऋण दिने बैंक तथा वित्तीय संस्थाले धितो थप्न वा ऋण घटाउन अब फोन गर्ने छैनन् ।

सेयर लगानीकर्ताले माग गर्दै आएको बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने भन्ने माग सम्बोधन भएको छ । तपाइ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्नुहुन्छ भने तपाइको यसअघि २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण हुने भएपनि अबदेखि ३ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण हुने भएको छ ।

मौद्रिक नीतिले अरु पनि नीतिगत ब्यवस्था गरेको छ । यो ब्यवस्थाले बजारमा अहिलेको तरलता अभावको समस्या समाधान गरिदिनेछ भने तपाइले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सजिलोसँग पाउनु हुनेछ । यसको अलावा तपाइले लिएको ऋणको ब्याज पनि घट्न सक्छ ।

तपाइ कृषि उर्जा जस्ता क्षेत्रको ब्यापार ब्यवसायमा हुनुहुन्छ भने तपाइले सहुलियत ब्याजदरको कर्जा पाउनु हुनेछ । यो मौद्रिक नीतिको कार्यान्वयनबाट मूल्य बृद्धि धेरै भएर तपाइको दैनिकी प्रभावित हुन सक्ने खतरा भने छ ।


क्लिकमान्डु