तपाईंले पिउने रक्सी सक्कली हो कि नक्कली ? यसरी चिन्नुहोस् (भिडियोसहित)
काठमाडौं । बजारमा मदिरा किन्न जाँदै हुनुहुन्छ भने होसियार । अहिले नेपाली बजारमा उही नामका र उस्तै देखिने मदिराको संख्या बग्रेल्ती भेटिन्छन् । मदिरा पसलेले पनि उही नामको र उस्तै देखिने मदिरा सस्तोमा बेच्ने गर्छन् । ब्राण्डेड रक्सी सस्तो पाईयो भन्दै उपभोक्ता पनि केही नसोची, मदिराको बोतलमा लेखिएको सबैकुरा नपढी किन्ने गर्छन् ।
हिमालयन डिस्टीलरीले बजारमा ल्याएको गोल्डेन योक, पछिल्लो समय बजारमा चलेको मदिरा हो । यो मदिराले राम्रो व्यापार गरेपछि अहिले बजारमा यो रक्सी जस्तै देखिने आधा दर्जनभन्दा धेरै उत्पादन पाईन्छन् ।
गोल्डेन बार, गोल्डेन लभ, गाल्डेन इगल जस्ता नाममा दुरुस्तै गोल्डेन योक जस्तै देखिने यी उत्पादन बजारमा बग्रेल्ती भेटिन्छन् । उस्तै डिजाईन र उस्तै रंगका यी उत्पादन झट्ट हेर्दा कुन सक्कली हो र कुन नक्कली हो भनेर छुट्याउनै गाह्रो हुन्छ ।
जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजले मात्रै आफ्नो ट्रेड मार्क चोरी भएका ७० वटा मुद्दा दायर गरेको छ । उद्योग विभागले १२ वर्ष लगाएर इन्ड्रस्टीजका ११ मुद्दाको फैसला गरेको छ ।
यसका अलवा ब्लु डाईमण्ड नामक रक्सीका पनि प्रसस्तै नक्कली भर्सन बजारमा भेटिन्छन् । रुस्लान भोड्काका पनि आधा दर्जनभन्दा धेरै नक्कली उत्पादन बजारमा भेटिन्छन् ।
जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजको उत्पादन गोल्डेन योक बजारमा अत्याधिक कपी भएपछि कम्पनीले गोल्डने योकको डिजाईनमा पनि केही परिवर्तन गरेको थियो । तर डिजाईन परिवर्तन गर्दा पनि बजारमा कपी हुने क्रम भने रोकिएन ।
कुनै पनि कम्पनीको ट्रेडमार्क र उसका उत्पादनको डिजाईन बौद्धिक सम्पत्तिको रुपमा लिइन्छ ।
ठूला र स्थापित कम्पनीको उत्पादन जस्तै देखिने गरि कमसल पदार्थ प्रयोग गरेर बनाईने यस्ता डुब्लिकेट उत्पादनले उपभोक्ताको स्वास्थ्यमा असर त पर्छ नै मुल कम्पनीको साख पनि गिराउने बताउँछन् जावलेखेल ग्रुप अफ इन्ड्रस्टीजका लिगल अफिसर गुरुप्रसाद अधिकारी । अधिकारीका अनुसार बजारमा भेटिने यस्ता कमसल उत्पदानले सरकारी राजस्वमा पनि गिरावट आउँछ ।
सरकारले मदिरामा प्रयोग हुने युपी (अन्डर प्रुभन)को आधारमा राजश्व शंकलन गर्ने गर्छ । यसरी डुब्लिकेट रक्सी उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादनमा युपी धेरै राखेर कमसल खालको रक्सी उत्पादन गर्ने गर्छन् ।
उपभोक्ता झुक्किने गरी वा उपभोक्तालाई उही वस्तु हो कि भनी भ्रम सिर्जना हुने गरी उस्तै ट्रेडमार्कमा वस्तु तथा सेवा बजारमा ल्याउन पाइँदैन । तर, नियमन गर्ने निकाय उद्योग विभाग नै कमजोर भएपछि नक्कली उत्पादनले बजार आगटेको छ ।
रक्सीमा युपीको मात्रा जति धेरे भयो त्यति अल्कोहलको मात्रा कम हुँदै जान्छ भने जती युपीको मात्रा कम हुन्छ, त्यति नै अल्कोहोलको मात्रा बढ्दै जान्छ ।
युपीको मात्रा धेरै भएको रक्सीले राजश्व कम तिर्नुपर्छ । युपीको मात्रा धेरै भएमा उत्पादन लागत पनि कम हुने र राजश्व पनि कम तिुर्नपर्ने हुन्छ । अधिकारीका अनुसार यसरी ठूलो कम्पनीको नाम र डिजाईन चोरी गरेर युपीको मात्रा कम राखेर ओरिजिनल उत्पादकले बनाएको बजार बिगार्ने गर्छन् ।
उस्तै देखिने रक्सी कम मूल्यमा पाउँदा उपभोक्ता पनि खुसी भएर किन्दा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको उनको भनाइ छ ।
कसरी चिन्ने ?
मदिरा किन्न जाँदा आफूले किन्ने मदिराको बोतलमा लेखिएका कुराहरु राम्रोसँग अध्ययन गर्ने हो भने सक्कली र नक्कली छुट्याउन सकिने अधिकारी बताउँछन् ।
उदाहारणका लागि सक्कली रुस्लान भोड्काको बोतलमा ३० युपी लेखिएको हुन्छ । र, यसको उत्पादक कम्पनी बिजय डिस्टीलरी प्रालि लेखिएको हुन्छ । तपाईंले बजारमा रुस्लान भोड्का किन्न जाँदा ३५/४०/५०/६० युपी लेखिएको पाउनुभयो भने त्यो नक्कली हो ।
त्यस्तै, गोल्डेन योक र ब्लू डायमण्डमा ४० युपी लेखिएको छ भने त्यो सक्कली हो । गोल्डेन योकको उत्पादक कम्पनी हिमालयन डिस्टीलरी हो भने ब्लू डायमण्डको एशियन डिस्टीलरी हो । तपाईंले मदिरा किन्न जानुअघि कुन ब्राण्डको मदिरा कुन कम्पनीले उत्पादन गर्न भन्ने कुरा अध्ययन गरेर जानु भयो र बोतलमा लेखिएको कुरा पढ्नुभयो भने सक्कली र नक्कली रक्सी छुट्याउन सक्नुहुनेछ ।
उद्योग विभागको ढिलासुस्ती
उद्योग विभागले कुनै पनि ट्रेड मार्क दर्ता भएर बजारमा उत्पादन पठाउनु अगाडी तीन महीनाको समय दिएर ट्रेड मार्कमा दावि विरोध गर्न आह्वान गर्ने गर्छ । यसको लागि विभागले औद्योगिक बुलेटीनमा सूचना प्रकाशन गर्ने गर्छ । तीन महिनाको अवधिमा कुनै पनि दावि विरोध नआएपछि विभागले उत्पादन अनुमति दिनेगर्छ ।
तर विभागले समयमै सूचना ननिकाल्दा बजारमा ट्रेड मार्क चोरी गरेका उत्पादन आईसक्ने बताउँछन् उनी । उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालका अनुसार अहिले विभागमा ४ सयभन्दा धेरै ट्रेड मार्क चोरीका उजुरी छन् ।
उजुरी परेपनि तिनका छानविन गर्न लामो समय लाग्ने उनले बताए । उनका अनुसार विभाग, उच्च अदालत र पूनरावेदन अदालतसम्म मुद्दा पुग्ने भएकाले छानविन हुन समय लाग्ने गर्छ ।
ट्रेड मार्क चोरी हुँदा सक्कली उत्पादकहरू मारमा परेका छन् । आफ्नो उत्पादन र कम्पनीको साख जोगाउनकै लागि भए पनि कम्पनीले तारन्तरा आफ्नो उत्पादनको डिजाईन परिवर्तन गर्ने गरेको अधिकारीको भनाइ छ । यसरी छोटो अवधिमा उत्पादनको डिजाईन परिवर्तन गर्दा कम्पनीलाई ठूलो नोक्सानी हुन्छ ।
मदिराका अलावा सुर्तीजन्य पदार्थ, खाद्यान्न, पेय पदार्थ, शृङ्गारका सामग्रीमा ट्रेड मार्क चोरी गर्ने वा नक्कल गर्ने प्रवृति बढ्दै गएको छ । पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ का अनुसार उद्योग विभागमा जसले पहिला पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ताको आवेदन दिन्छ तिनमा उसैको हक कायम हुने व्यवस्था छ । त्यस्तै, विदेशमा दर्ता पेटेन्ट, ट्रेडमार्क र डिजाइन नेपालमा पनि दर्ता नगराई व्यवसाय सञ्चालन गर्न नपाउने कानूनी व्यवस्था छ ।
उपभोक्ता झुक्किने गरी वा उपभोक्तालाई उही वस्तु हो कि भनी भ्रम सिर्जना हुने गरी उस्तै ट्रेडमार्कमा वस्तु तथा सेवा बजारमा ल्याउन पाइँदैन । तर, नियमन गर्ने निकाय उद्योग विभाग नै कमजोर भएपछि नक्कली उत्पादनले बजार आगटेको छ ।
जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजले मात्रै विभागमा आफ्नो ट्रेड मार्क चोरी भएका ७० वटा मुद्दा दायर गरेको छ । विभागले १२ वर्ष लगाएर इन्ड्रस्टीजका ११ मुद्धाको फैसला गरेको छ ।
यसरी ट्रेड मार्क चोरी हुँदा सक्कली उत्पादकहरू मारमा परेका छन् । आफ्नो उत्पादन र कम्पनीको साख जोगाउनकै लागि भए पनि कम्पनीले तारन्तरा आफ्नो उत्पादनको डिजाईन परिवर्तन गर्ने गरेको अधिकारीको भनाइ छ । तर यसरी छोटो अवधिमा उत्पादनको डिजाईन परिवर्तन गर्दा कम्पनीलाई ठूलो नोक्सानी हुन्छ ।
ट्रेडमार्क ऐन-२०२२ मा ‘ट्रेडमार्कबाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने वा सर्वसाधारण जनताको सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा नराम्रो असर पर्ने वा अरू कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने सम्भावना छ भन्ने लागेमा वा सो ट्रेडमार्क पहिले अरू कसैको नाममा दर्ता भइसकेको देखिएमा सो ट्रेडमार्क दर्ता नगरिने’ व्यवस्था छ ।