नयाँ म्यादमा पनि नआउने भयो मेलम्चीको पानी, ठेकदारले रोक्यो १६ दिनदेखि काम




काठमाडौं । राष्ट्रिय गौरबको आयोजना मेलम्ची खानेपानीको ठेकेदार कम्पनीले काम नगर्दा १६ दिनेदेखि आयोजनाको काम ठप्प भएको छ ।

मेलम्चीमा कार्यरत ठेकेदार सीएमसीले सरकारबाट पैसा नपाएको कारण आयोजना निर्माण कार्य रोकिएको दाबी गरेको छ । तर, उसलाई भुक्तानी दिने खानेपानी तथा सरसफाई मन्त्रालयले भने नियमित भुक्तानी गरिरहेको जनाएको छ ।

ठेक्का सम्झौता अनुसार नेपाल सरकारले ठेकेदार कम्पनी सीएमसीको मुख्यालय इटालीलाई भुत्तानी गरिरहेको छ । तर, सीएमसीको मुख्यालयले उसको नेपाल कार्यालयलाई नियमित भुक्तानी नदिदा काम रोकिएको हो ।

एसियाली विकास बैंकको ऋणमा निर्माणाधिन मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसी हो । नेपाल सरकारले मेलम्चीमै काम गर्ने कम्पनिलाई सिधै भुक्तानी दिने व्यवस्था नभएकाले मन्त्रालयले सिएमसीको केन्द्रीय कार्यालय इटालीमा रकम भुक्तानी गर्ने गर्दछ । केन्द्रीय कार्यालयले ठेकेदार कम्पनीलाई भुक्तानी नदिँदा काम प्रभावित भएको हो ।

गत चैत २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा मेलम्ची आयोजनाको २७ किमी लामो सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेपछि असार मसान्तसम्म सुन्दरीजलको जलाशयमा पानी खसाल्ने लक्ष्य राखिएको थियो । तर, ‘ब्रेक थ्रु’लगत्तै सीएमसीले रकम नपाएको भन्दै काम रोकेको हो ।

काम रोकिएपछि मन्त्री बिना मगरले आयोजनाबारे चासो राखेकी छिन् । उनले सरकारले ठेकेदार कम्पनीको केन्द्रीय बैंकमा रकम जम्मा गर्दा पनि काम रोकिएको भन्दै मातहतका निकायलाई समस्या समाधानका लागि निर्देशन दिएकी छिन् ।

काम ढिलो हुँदा आयोजनाको लागत बढ्ने र नियमित रुपमा आउने बोनस र भत्ताको सुविधा पाइने कारण ठेकेदार कम्पनी, मेलम्ची खानेपानी बोर्ड र मन्त्रालयका कर्मचारीहरु काम ढिलो गराउने बहानामा छन् । यता, स्थानीय सरोकार समितिले पनि मन्त्रालयसँग बार्गेनिङ गरेर काममा विभिन्न अवरोध गरिरहेको छ ।

स्थानीय सरोकार समितिका अध्यक्ष उपेन्द्र तामाङले ‘ब्रेक थ्रु’को औपचारिक कार्यक्रमै आफूहरुको माग सम्बोधन नगरी मेलम्चीको पानी काठमाडौं लगिए आफूहरु चुप लागेर नबस्ने चेतावनी नै दिएका थिए । मेलम्ची आयोजनामा ‘कन्सल्टेन्ट’को काम गरिरहेको इप्टिसाले पनि इञ्जिनियरिङमा ढिलासुस्ती गरिरहेको मन्त्रालयको आरोप छ ।

१६ दिनदेखि रोकिएको आयोजनाको काम सुरु नहुँदा असार मसान्तसम्म सुन्दरीजलमा पानी खसाल्ने मन्त्री बिना मगरले लक्ष्य पनि अधुरै हुने देखिन्छ । ‘ब्रेक थ्रु’ भए पनि सुन्दरीजलसम्म पानी ल्याउन गर्नुपर्ने निर्माणका थुप्रै काम अहिले पनि बाँकी छन् ।

२७ किलोमिटर लामो सुरुङको काम सक्न गर्न अझै थुप्रै समय लाग्छ । हाल आयोजनामा मुहानको काम ठप्प छ । मन्त्रालयका अनुसार निर्माण सामग्री पर्याप्त मात्रामा उपलब्ध छैन भने ठेकेदार कम्पनीले पेट्रोलियम पदार्थ ढुवानी नै गरेको छैन । दैनिक तीन सिप्ट काम हुनेमा आयोजनामा प्राविधिक र मजदुर नहुँदा एक सिप्ट काम पनि हुन सकेको छैन ।

सुरुङको भेन्टिलेसनका लागि आयोजना प्रमुखले पनि खासै चासो लिएका छैनन् । पानी आइहाले पनि काठमाडौं उपत्यका खानेपानी (केयुकेएल) ले उपत्यकामा खानेपानी बितरण गर्ने पूर्व तयारी गरेको छैन ।

अहिलेकै परिस्थितिमा असार मसान्तसम्म सुन्दरीजलमा पानी झर्ने र दशैंसम्म उपत्यकाबासीलाई पानी बितरण गर्ने सम्भावना टरेको मन्त्रालयकै अधिकारीहरुको भनाइ छ ।

काम रोकिएपछि मन्त्री बिना मगरले आयोजनाबारे चासो राखेकी छिन् । उनले सरकारले ठेकेदार कम्पनीको केन्द्रीय बैंकमा रकम जम्मा गर्दा पनि काम रोकिएको भन्दै मातहतका निकायलाई समस्या समाधानका लागि निर्देशन दिएकी छिन् । तर, अहिलेसम्म समाधानको ठोस परिणाम आउन सकेको छैन ।


क्लिकमान्डु