बक्यौता नतिरेका ३ एयरलाइन्सको उडान रोकिदै, कस्को बक्यौता कति ?



काठमाडौं । मलेसियाको एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने २३ करोड बक्यौता रकममध्ये आइतबार २ करोड रुपैयाँ मात्र बुझाएको छ । विमानस्थल कार्यलयले बक्यौता रकम नतिरे सोमबार (आज) देखि उडान रोक्ने चेतावनी दिएको थियो ।

गत साता विमानस्थल कार्यलयले एयर एसिया एक्ससहित आन्तरिक एयरलाइन्स कम्पनी सिम्रिक र सौर्यलाई आइतबारसम्म बक्यौता तिर्न पत्र काटिएको थियो ।

पत्रमा सोमबार बाट उडान रोक्ने उल्लेख गरिएको थियो । एयर एसिया एक्सले २ करोड बुझाएपनि अझै २१ करोड रुपैयाँ बाँकी छ भने अन्य दुई एयरलाइन्सले रकम नबुझाएको विमानस्थल कार्यलयले जानकारी दिएको छ ।

आज १ बजे दिउसोसम्म पनि रकम भुक्तानी नगरे तिनवटै एयरलाइन्सको उडान रोक्ने तयारी विमानस्थल कार्यलयले गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले बक्यौता रकम बुझाउन विदेशी एयरलाइन्समा एयर एसिया एक्स तथा आन्तरिक एयरलाइन्समा सिम्रिक एयरलाइन्स र सौर्य एयरलाइन्सलाई आइतबारसम्मको भाका राखेर पत्रमार्फत ताकेका गरेका थिए ।

आइतबार एयर एसियाले मात्रै २ करोड रुपैयाँको चेक बुझाएको छ भने सौर्य र सिम्रिकले बक्यौता रकम नतिरेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

आन्तरिक वायुसेवातर्फ सिम्रिक एयरलाइन्सको २ करोड १० लाख रुपैयाँ तिरेको छैन । अर्को कम्पनी सौर्य एयरलाइन्सले २ करोड ४२ लाख चुक्ता गरेको छैन । हेलिकोप्टर कम्पनी सिम्रिक एयरले बक्यौताबापतको १८ लाख अझै तिरेको छैन ।

विमानस्थलले सोमबार १ बजेसम्म बक्यौता नतिरेपछि सौर्य, सिम्रिक र एयर एसियाका सबै उडान रोक्ने भनेको छ । एयर एसियाले आज पुनः २ करोड ५० लाख बुझायो भने सिम्रिक र सौर्यले तिर्ने प्रतिवद्धता जनाएका छन् ।

‘हामीले आज बाट उडान रोक्ने तयारी गरेका थियौ, तिर्ने प्रतिवद्धता जनाएपछि छाडेका छौ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्ययले भने ।

विमानस्थलमा भन्सार कार्यालय, अध्यागमन, नेपाल एयरलाइन्ससहित भाडामा पसल र कबल सञ्चालन गर्नेहरूसमेतले तिर्नुपर्ने २ अर्ब हाराहारी बक्यौता छ । यी मध्ये एयर एसिया, सिम्रिक र सौर्यले तिर्न अटेर गरेपछि पत्रै काट्नुपरेको थियो ।

रकम नै असुल नभएपछि विमानस्थल कार्यालयले पुस २३ गतेसम्मको भाका राखेरै उडान रोक्नुपर्ने अवस्थमा आइपुगेको हो । सोमबार पनि रकम नआए, तीनवटा एयरलाइन्सको फलाइट प्लान नै क्लियर नगर्ने तयारी विमानस्थलको छ ।

कुनै पनि एयरलाइन्सले व्यावसायिक उडान भर्नुअघि फलाइट प्लान फारम भरेर विमानस्थलको अपरेसन विभागमा बुझाउनुपर्छ । यो भएन भने एयर ट्राफिकले जहाज उडाउन पाइलटलाई अनुमति दिँदैनन ।

‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र बक्यौता शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र कम्पनीको कारोबार रोक्का गर्नसक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ ।

नेपालमा उडान गरिरहेका दुईदर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्न बाँकी करिब २ अर्ब रुपैयाँमध्ये ५६ करोड ८७ लाख केही समय अगाडी मात्रै चुक्ता गरेका थिए । अझै १ अर्ब ३५ करोड १५ लाख ३३ हजार रुपैयाँ उठाउन बाँकी छ ।

 


क्लिकमान्डु