दुई हेलिप्याडसहितको सिद्धबाबा सुरुङ: प्रधानमन्त्रीको उपस्थितिमा ‘ब्रेकथ्रु’ हुँदै, कहिलेबाट गुड्लान् गाडी ?
काठमाडौं । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेक थ्रु (दायाँवायाँ छेडेर जोड्ने काम) माघ ११ गते हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू परम्पराअनुसार पूजाआजा गरी उक्त दिन यो सुरुङमार्ग अन्तर्गतको मुख्य टनेलको अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि माघ २ र ८ गते अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण माघ ११ मा ब्रेक थ्रु गर्न लागिएको हो । सोहि दिन प्रधानमन्त्री ओलीले ६ लेनमा विस्तार हुन लागेको बुटवलको गोरुसिंगे चन्द्रौटा सडक खण्डको शिलन्यास गर्ने कार्यक्रमसमेत छ ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार त्यो दिन ब्लास्टिङ र ड्रिलिङ (एनएटीएम) प्रविधिमार्फत मुख्य टनेलमा खन्न बाँकी रहेको करिब २ मिटरको दूरी ब्रेक थ्रु गरी छिचोल्ने कार्यक्रम छ ।
‘माघ ११ गते प्रधानमन्त्रीज्यूबाट अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको छ,’ आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले भने,‘अहिले हामी त्यहि कार्यक्रमको लागि पूर्वतयारीमा जुटेका छौं ।’
सिद्धबाबा क्षेत्रमा सुक्खा र वर्षात सिजनमा ढुंगासहितको ठूला पहिरो गएर सवारीसाधनका साथै जनधनमा ठूलो क्षति गर्दै आएकाले सरकारले दीर्घकालीन रुपमा उक्त समस्या समाधान गर्न त्यहाँ सुरुङमार्ग निर्माण गरिएको हो । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गको तिनाउ ३ दोभान क्षेत्रमा सुरुङमार्ग निर्माण भएको हो ।
यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्ग(भित्री पहाडी क्षेत्र छिचोलिने) १,०८९ मिटर लम्बाईको निर्माण गर्न लागिएको छ । उत्तर र दक्षिण सडकलाई जोड्ने गरी यो सुरुङमार्ग निर्माण भएको हो ।
मुख्य सुरुङमार्गको चौडाई साढे १० मिटर र उचाइ करिब ७ मिटर छ । लाइनिङसहित यो सुरुङमार्गको कूल लम्बाई ११२६ मिटर छ ।
आयोजनाले उत्तर र दक्षिणतर्फबाट एनएटीएम प्रविधिमार्फत खन्दै सुरुङको बीचमा २ मिटरजतिको दूरी बाँकी राखिएको छ । उत्तरतर्फबाट ४८० मिटर र दक्षिणतर्फबाट ६०७ मिटर गरी १०८७ मिटर सुरुङ खनि सकिएको छ । सुरुङको उत्तर र दक्षिण भाग जोड्न २ मिटर मात्रै बाँकी छ । यहि २ मिटरको अन्तिम ब्रेक थ्रु प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम तय भएको हो ।
यो सुरुङमार्ग इन्जिनियरिङ, प्रोक्युरमेन्ट तथा कन्स्ट्रक्सन(ईपीएस) विधिबाट निर्माण भइरहेको जानकारी दिँदै अधिकारीले सुरुङमार्गमा सवारी साधन गुड्दा आपातकालीन अवस्थामा यात्रुलाई उद्धार गर्नका निम्ति १५१ मिटरको पहिलो वाइवास, १६१ मिटरको दोस्रो वाइपास र १३० मिटर दूरीको तेस्रो वाइपास पनि निर्माण गरिएको छ ।
‘सुरुङमार्गमा सवारी र यात्रुलाई समस्या पर्दा उद्धार गर्न तीनवटा वासपास सहायक सुरुङमार्ग निर्माण गरेका छौं, तीनवटै सहायक सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ,’ अधिकारीले भने ।
उनका अनुसार पहिलो वाइपास सुरुङमार्गको ब्रेक थ्रु २०८१ असोज ४ गते, दोश्रोको २०८१ पुस ७ गते र तेश्रो सुरुङमार्गको ब्रेक थ्रु २०८१ भदौं २६ गते भएको थियो । दोश्रो वाइपास सुरुङमार्ग बीचमा भएकाले सबैभन्दा अन्तिममा उक्त वाइपासको ब्रेक थ्रु भएको हो ।
मुख्य सुरुङमार्गमा समस्यामा परेका यात्रुको उद्धार गरी तत्कालै अस्पतालसम्म लैजानको लागि सुरुङमार्गको उत्तरी र दक्षिणी छेउमा हेलिप्याडसमेत निर्माण गरिने अधिकारीले जानकारी दिए ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले यो आयोजनाको ठेक्का २०७८ चैत ९ गते मूल्य अभिवृद्धि कर(भ्याट) सहित ७ अर्ब ३९ करोड रुपैयाँमा कवोल गरेको थियो ।
सडक विभागले यो कर्पोरेशनसँग २०७८ फागुन २५ गते ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का शर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ बर्षभित्र अर्थात २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापश्चात् २०८० पुसदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको थियो ।
यस्तै व्लास्टिङ गर्ने काम २०८१ जेट १३ गतेबाट सुरु भएको थियो । सुरुङ दैनिक १० मिटरको दरले खनिएको अधिकारीले जानकारी दिए ।
चालु आर्थिक बर्ष २०८१/८२ मा यो आयोजनाको लागि ६५ करोड ८१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति ३८.८५ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत सम्पन्न भएको छ ।
सुरुङमार्ग सम्पन्न भएर सञ्चालनमा आएपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रमा सुरक्षित रुपमा यात्रा गर्न सहज हुने अधिकारीले जानकारी दिए ।
ठेक्केदार कम्पनीलाई ५ वर्षसम्मको सञ्चालनको जिम्मा
यो सुरुङमार्गको निर्माण पश्चात् ५ वर्षसम्म सञ्चालन तथा मर्मत सम्भारको जिम्मेवारी ठेक्केदारी कम्पनीको नै हुनेछ ।
यस्तै सम्झौता शर्तअनुसार सुरुङमार्गको वारेन्टी, सञ्चालन तथा मर्मत सम्भारको लागि ५ बर्ष तोकिएको छ । यो ५ बर्षसम्म सञ्चालन र मर्मत सम्भार गर्ने जिम्मेवारी ठेक्का पाउने कम्पनीकै हुनेछ ।
निर्माणकै क्रममा रहेकाले यो सुरुङमार्ग प्रयोग गरी सवारी साधन गुडाउनेले शुल्क तिर्नु पर्ने वा नपर्ने बिषयमा अहिले मोडालिटी तयार भएको छैन् । सुरुङमार्गमा ६० किलोमिटर प्रति घण्टाको दरले सवारी साधन गुडाउन पाइने व्यवस्था छ ।
के के काम गर्न बाँकी ?
सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ ।
यस्तै सुरुङमार्गको उत्तरतर्फ र दक्षिणतर्फको बाहिर सडकको स्तरोन्नतिको काम र रकनेट गर्ने काम बाँकी छ । रकनेटका लागि पहाडको थोरै भाग काट्ने र नेट बिछ्याउने काममा केही ढिलाइ भएको छ ।
अधिकारीका अनुसार रक सेड, पहुँच सडकको निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ्ग, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ ।