एक महिनालाई मर्मतमा गएको वाइडबडी ८३ दिनमा फर्कियो, जहाज बनाउन ढिलो हुँदा समस्यामा निगम
काठमाडौं । एक महिनालाई भनेर मर्मतमा गएकाे नेपाल वायुसेवा निगमको वाइडबडी ए३३०–२०० सिरिजको ९एन एएलजेड ( मकालु)८३ दिनमा फर्किएको छ । इटलीमा सिचेक सकेर निगमकाे उक्त जहाज सोमबार बिहान पाैने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा अवतरण गरेकाे छ ।
जहाज बनाउन ढिलाे हुँदा निगम भने आर्थिक समस्यामा पर्दै गएको छ । निगमकाे जहाज समयमा नै मर्मत सकेर नआउँदा निगमकाे उडान तालिका प्रभावित हुनुका साथै आर्थिक रुपमा सबल हुन नसकेकाे पनि निगमले जानकारी दिएकाे छ । निगमकाे १२ भदौदेखि मर्मतमा रहको जहाज फर्किएसँगै अब यसका २ न्यारोबडी र २ वाइडबडीले नियमित उडान गर्ने निगमका प्राविधिक प्रवक्ता मनाेज साहले बताए ।
निगम राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजको मर्मतका संभार गर्ने संस्था (एमआरओ) छनोटमा भएको कमजोरीले निगमलाई ठूलो क्षति हुन पुगेको छ । निगमले एक महिनाका लागि जहाजको सम्पूर्ण मर्मत (सिचेक)को लागि १२ भदौ (अगस्ट २८) मा इटली पठाएको जहाज आज सोमबारसम्ममा मर्मतमा गएकाे ८३ दिन भएकाे छ ।
निगमले उडान गरिरहेको एयरवसको ए३३०–२०० सिरिजको ९एन एएलजेड जहाज एक महिनाको लागि इटली गएको उक्त जहाज २७ कात्तिक (१२ नोभेम्बर)मा फर्कने मिति तय भए पनि यस अघिको वाइडबडी मर्मतमा भएको ढिलाइले यसपटकलाईसमेत ढिलाे गरिदिनु नै शंका भएको निगमकै उच्च अधिकारी बताउँछन ।
इटलीकाे एमआरओ एटिटेकले जहाज दिन्छु भनेको समयमा यसअघि पनि निदएर धोका दिएकाे थियाे । त्याे नियति यसपाली पनि दाेहाेर्याएकाे निगमकाे भनाइ छ ।
यसअघि निगमले ८ असारमा इटली पठाएको जहाज पनि २७ भदौमा (८० दिनपछि) मात्रै फर्किएको थियो । यो पटक पनि एक महिनाको लागि मर्मतमा गएको जहाज झन्डै तीन महिना लगाएर फर्किएको छ ।
निगमको जहाज उडाएर लाभ दिनसक्ने वाइडबडी जहाज पालैपालो साढे दुई महिनाभन्दा बढी समय थन्कनु भनेको दुईवटा जहाजको थन्किएको समय अर्थात सँगसँगै नउडेका साढे ५ महिना भएको छ । लामो समयसम्म जहाज थन्किएपछि निगमले किस्ता र ब्याज तिर्नुपर्ने भएकोले ठूलो घाटा भएको वायुसेवा निगमको भनाइ छ ।
निगमलेसमेत इटलियन कम्पनीलाई एमआरओ दिनु गल्ती भएको स्वीकार गर्दै ढिलो गरेर मर्मत गर्दालागेको घाटाको क्षतिपूर्ति माग्ने भनेर यस अघि नै घोषणा गरेको थियो । विडम्बना निगमको जहाज दिन ढिलो गरेकोमा क्षतिपूर्ति दिनु त कता हो कता उल्टै अर्को जहाजलाईलाई समेत लगेर करिव ३ महिना थन्काएर बल्ल पठायो ।
यस अघि नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा वायुसेवा निगमको कामकारबाहीका सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले समेत निगमले एमआरो छनोट गर्नु नै गलत भएको भन्दै प्रश्न उठाएको छ ।
निगमको आर्थिक विनियमावली, २०६५ तथा सार्वजनिक खरिद ऐन नियमका प्रावधानहरू पूर्ण रूपमा पालना नगरी एमआरओ छनोट गरेको भन्दै सरकारी समितिले प्रश्न उठाउँदा निगमले भने अहिलेम्म एमआरओको विषयमा केही प्रतिकृया नै दिएको छैन। प्रतिवदेनका सिफारिस तथा सुझावहरू खण्डको ‘ख’ मा ‘इटालीको एटिटेकसँग गरिएको ठेक्का प्रक्रिया त्रुटिपूर्ण देखिएको हुँदा त्रुटि सच्याउन विद्यमान प्रावधानबमोजिमको प्रक्रिया अवलम्बन गर्न मनासिव देखिएको’ भन्नै व्यवस्था उल्लेख छ ।
निगमले भने प्रतिस्पर्धाबाटै छानेको कम्पनी भएको दाबी गरेको छ । यस अघि गत असारमा वाइडबडी मर्मतमा पठाउँदासमेत निगमले निगामक निकायको स्वीकृति निदएको भन्ने विषयमा विवाद भएको थियो । उक्त एमआरोमा मर्मत गर्न जाने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएपछि मात्रै जहाज मर्मत हुन थालेको हो ।