अमेरिकी राष्ट्रपति चुनाव: बहुमत ल्याउने उम्मेदवारलाई पनि हराउनसक्ने इलेक्टोरल कलेज के हो ?



एजेन्सी । अमेरिकामा २०१६ को निर्वाचनका बेला हिलारी क्लिन्टन अत्यधिक लोकप्रिय थिइन् र उनले लोकप्रिय मत पनि डोनल्ड ट्रम्पले भन्दा धेरै ल्याएकी थिइन् ।

तर झन्डै ३० लाख कम मत ल्याउने ट्रम्प कसरी विजेता बनेका थिए ? अमेरिकाको निर्वाचनमा थोरै मत ल्याउनेले पनि जित्नसक्ने र धेरै मत ल्याउने पराजित हुने अवस्था कसरी आउँछ ?

यस्तो अवस्थाको पछाडि केही रोचक प्रावधानहरु छन् । अमेरिकामा नोभेम्बर ४ मंगलबार नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचन भइरहेको छ । विश्वकै शक्तिशाली देशको रुपमा चिनिने अमेरिकामा अब को राष्ट्रपति बन्ला भनेर विश्व समुदायले चासोका साथ हेर्नु स्वभाविक पनि छ ।

त्यहाँ प्रमुख रुपमा डेमोक्रेट्सको उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ । त्यसो त यसपटक उनीहरुबीच निकै कडा प्रतिस्पर्ध हुने अपेक्षा गरिएको छ ।

कसरी हुन्छ निर्वाचन ?

सामान्यतया अमेरिकाका ५० राज्यहरुका ५३८ प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्छन् । ती ५३८ जना प्रतिनिधिलाई इलेक्टोरल र उनीहरुको पूरा समूहलाई ‘इलेक्टोरल कलेज’को रुपमा चिनिन्छ ।

र यही इलेक्टोरल कलेजका वहुमत कम्तीमा २७० जना इलेक्टर वा निर्वाचकले नै राष्ट्रपति र उपराष्ट्रपति चयन गर्छन् । तर प्रत्येक राज्यमा त्यहाँको जनसंख्याको आधारमा इलेक्टोरल मत संख्या निर्धारण गरिन्छ । कुनै राज्यमा कम्तीमा ३ इलेक्टोरल मतदेखि बढीमा ५४ वटासम्म इलेक्टोरल मत छ ।

अल्यास्का, नर्थ डकोटा, वासिंटन डिसी र वाइओमिङमा तीन/तीन वटा इलेक्टोरल मत छ भने सबैभन्दा धेरै क्यालिफोर्निया राज्यमा ५४ इलेक्टोरल मत तोकिएको छ । तर सामान्य रुपमा प्रत्येक राज्यमा सबैभन्दा धेरै प्रत्यक्ष मत पाउने पार्टीले उक्त राज्यको सबै इलेक्टोरल कलेज मत पनि पाउन सक्छ ।

यसरी राष्ट्रपति र उपराष्ट्रपति जित्नका लागि पनि उम्मेदवारहरुले तिनै इलेक्टोरल मत बढाउनका लागि धेरै मेहनत गरेका हुन्छन् । र विशेषगरी विभाजित हुनसक्ने वा मत परिवर्तन हुनसक्ने इलेक्टोरल मतलाई आफ्तो पक्षमा पार्न राष्ट्रपतिका उम्मेदवारहरुले धेरै मेहनत गरेका हुन्छन् ।

साथै सहरहरु भन्दा पनि कतिपय कम जनसंख्या भएका र अन्य केही राज्यका इलेक्टोरल मत परिवर्तिन हुनसक्ने सम्भावना हरेक निर्वाचनमा भएकै हुन्छ । त्यस्ता केही राज्यलाई स्विङ स्टेटको रुपमा पनि व्याख्या गरिन्छ । र पूर्वघोषित मतभन्दा पनि तिनै स्विङ स्टेटहरुमा उम्मेदवारको ध्यान केन्द्रित हुने गरेको हुन्छ ।

कम मत पाउने पनि कसरी राष्ट्रपति बन्न सक्छ

अमेरिकी निर्वाचनको एउटा रोचक प्रणाली के छ भने पपुलर भोट थोरै पाउने उम्मेदवार पनि राष्ट्रपतिमा निर्वाचित हुनसक्छ । यसको प्रमुख कारण भनेकै इलेक्टोरल मत प्रक्रिया हो । उदाहरणका लागि डोनल्ड ट्रम्प स्वयं २०१६को निर्वाचनमा डेमोक्रेटको तत्कालीन उम्मेदवार हिलारी क्लिन्टनले भन्दा थोरै मत पाएर पनि राष्ट्रपति निर्वाचित हुने उम्मेदवार हुन् ।

उनीभन्दा पहिले जर्ज डब्लु बुस पनि थोरै मतका बावजुद राष्ट्रपति बनेका थिए । ट्रम्पले पहिलो पटक २०१६ मा हिलारीले भन्दा ३० लाख थोरै मत पाएका थिए ।

यसैगरी जर्ज डब्लु बुसले आफ्ना तत्कालीन प्रतिस्पर्धी एल गोरले भन्दा ५ लाख कम मत पाएका थिए । यसवाहेक १९औं शताब्दिमा पनि यसरी थोरै मत पाएर पनि राष्ट्रपतिहरु थिए। २०२० को निर्वाचनमा भने जो बाइडेन लोकप्रिय मत पाउनुका साथै इलेक्टोरल मतमा पनि विजयी बनेका हुन् ।

अमेरिकी निर्वाचनको बुझ्नुपर्ने तथ्य के हो भने कुनै पनि उम्मेदवार देश र विश्वभर लोकप्रिय भएर पनि २७० इलेक्टोरल मत ल्याउन नसक्दा पराजित बन्नु पर्ने अवस्था आउन सक्छ । हिलारी क्लिन्टन त्यसकै एक उदाहरण हुन् ।

यसरी कुनै लोकप्रिय उम्मेदवार पनि केही स्विङ स्टेटहरुमा मुद्दा वा राजनीतिक एजेन्डाका आधारमा अलोकप्रिय पनि हुनसक्छ । अर्थात् ती इलेक्टोरलहरुले उसलाई नछान्न पनि सक्छन् ।

यससँगै कहिलेकाहीँ दुई उम्मेदवारको बराबर मत आउनसक्ने सम्भावना पनि रहन्छन् । यस्तो अवस्थामा अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नेछ । यसरी दुई उम्मेदवारको बराबर मत आएर तल्लो सदनले एक पटक मात्रै राष्ट्रपति चयन गरेको छ । तर यसपटक कमला ह्यारिस र डोनल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिए पनि बराबर मत आउनसक्ने सम्भावना नरहेको विश्लेषकहरु बताउँछन् ।

इलेक्टोरल कलेजको राम्रा र नराम्रा पक्ष

अमेरिकाको यो निर्वाचन प्रणालीबारे बारम्बार चर्चा भइरहन्छ । यसलाई लोकतान्त्रिक पद्दति भनेर कसैले प्रशंसा गर्छन् भने कसैले यसको आलोचना पनि गरेका हुन्छन् ।

यसमा मूलत ससाना र कम जनसंख्या भएका राज्यलाई पनि उम्मेदवारले महत्त्व दिएका हुन्छन् । साथै प्रत्येक राज्यको छुट्टाछुट्टै मतगणना गर्न सकिने भएकाले पुन:मतदान र गणनामा सहज हुन्छ । उम्मेदवारहरु आफैं धेरै दौडधुपमा लाग्नु पर्दैन ।

अर्कोतर्फ आम मतदाताहरुले आफ्नो मतको अर्थ नभएको पनि महसुश गर्नसक्छन् । यस्तै धेरै मत पाउने उम्मेदवार पनि पराजित हुनसक्ने अवस्थाले गर्दा वहुमतको सम्मान नभएको पनि तर्क गरिएको हुन्छ । यस्तै स्विङ स्टेटहरु निर्वाचनको क्षणमा निर्णायक हुन्छन् । जसले अल्पमत पाउने उम्मेदवारलाई पनि जिताइदिन सकिन्छ ।

यसपटकको निर्वाचनमा विशेषगरी नर्थ क्यारलाइना, एरिजोना, मिसिगन, नाभाडा, पेन्सिल्भेनिया र विस्कन्सिन गरी सातवटा राज्यहरुमा निकै कडा प्रतिस्पर्धा हुने बताइन्छ । र यीनै सात राज्यका इलेक्टोरल कलेज मतले अबको राष्ट्रपति निधो गर्ने आकलन गरिएको छ ।


क्लिकमान्डु