चिनियाँ अर्बपति उद्यमीहरु सरकारबाट किन सताइँदैछन् ?



एजेन्सी । अर्बपति समेत रहेका चिनियाँ एक उद्यमी सुन दाउ १८ वर्षको जेल सजाय भोगिरहेका छन् । ७० वर्षीय सुन कुनै बेलासम्म चीनमा एक सफल किसानको रुपमा चिनिन्थे । उनी सुँगुर र कुखुरा पनलक किसानको रुपमा विश्वभर चर्चित छन् ।

जति धेरै अर्बपति सुँगुरपालक किसानको रुपमा चिनिन्छन् उत्ति नै उनी चीनका प्रधानमन्त्री सी चिनफिङका आलोचकको रुपमा पनि । उनै सुन यतिबेला भ्रष्टाचारसहित दर्जनौं मुद्दामा १८ वर्षको जेल सजाय भोगिरहेका छन् ।

सुनले आफ्नो नेतृत्वबिना दसकौंदेखि दुख गरेर जोगाएको व्यवसाय ध्वस्त हुने चिन्ता व्यक्त गर्दै हालै अदालतलाई निवेदन लेखेका थिए । त्यसो त उनको कम्पनी हेबेइ डाउ एग्रिकल्चर एन्ड एनिमल हस्बन्ड्री ग्रुपमा १० हजारभन्दा कर्मचारीहरु छन् । र उनले आफ्नो अपिलमा समयमै सुनुवाइ नभए आफ्नो व्यवसाय पूर्ण रुपमा ध्वस्त हुने उनको चिन्ता थियो ।

र अदालतसँगै पार्टी समिति र सबै तहका सरकारहरुले त्यस्तो अवस्था देख्न चाहँदैनन् होला भनेर पनि उनले अपिलमा उल्लेख गरेका थिए । तर २०२१ को जुलाइमा जेल परेपछि सुनले आफ्नो व्यवसायलाई अगाडि बढाउन सकिरहेका छैनन् । त्यति मात्रै हैन । उनको जेलजीवनले देखाउँदैछ कि चीन सरकारका लागि समृद्धि जत्तिकै महत्त्वपूर्ण सत्ता पनि हो ।

चीनलाई खुला बजारमा लैजाने तत्कालीन नेता देङ सियायो पेङले भनेका थिए,’देशमा धनाढ्यहरु हुनु गौरवको कुरा हो ।’
चीन आज उनै देङले देखाएको बाटोमा हिँडिरहेको छ । तर उनको नीति विपरीत चीनमा अर्बवपतिहरु अनेक किसिमका दुख र अवरोध सामना गरिरहेका छन् । विशेषगरी राज्यसत्ताबाट उनीहरुले अनेक सतावट भोगिरहेका छन् ।

सुँगुर पालक किसानको रुपमा चिनिएका अर्बपति सुन मात्रै नभएर अन्य थुप्रै चिनियाँ व्यवसायीहरु यतिबेला सत्ताबाट सतावटको शिकार बनिरहेका छन् ।

सुँगुर किसान सुनको हकमा उनी सफल उद्यमी त थिए नै यससँगै उनले चीनमै बसेर लामो समयदेखि चिनियाँ कम्युनिस्ट पार्टी र यसका नेता सी चिनफिङको कट्टर आलोचक बन्दै प्रो डेमोक्रेटसी अभियन्ताहरुको समर्थक बन्ने साहस पनि गरिरहे ।

पछिल्लो साढे ३ वर्षको अवधिमा चीनमा कम्तीमा ३६ जना उद्योगी व्यवसायी, व्यापारी तथा वित्तीय क्षेत्रका हस्तीहरु जेल वा हिरासतमा पुगेका छन्, दोषी ठहर भएका छन् वा उनीहरुमाथि अनुसन्धान भएको छ । र तीमध्ये २२ जना निजी क्षेत्रका व्यवसायी थिए भने अरुले राज्य नियन्त्रित फार्ममा काम गर्थे ।

चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश बनाउन निजी व्यवसायीहरुको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका छ । जसले देशको जीडीपीको ५० प्रतिशतभन्दा धेरै निजी क्षेत्रले नै योगदान गरेको छ । र वहुसंख्यक रोजगारी पनि निजी क्षेत्रले नै सिर्जना गरेको छ ।

यसका बावजुद चिनियाँ कम्युनिस्ट पार्टीमाथि आलोचना भइरहने एउटा प्रश्न छ- सत्तारुढ सीसीपी सत्ताको लागि जस्तोसुकै मूल्य पनि चुकाउन तयार छ । यतिसम्म कि सत्ता र शक्तिका लागि आर्थिक विकासमा हुने अवरोधको खतरा मोल्न पनि सीसीपी तयार छ ।

यद्यपि सीसीपीका नेताहरु यस्तो आलोचना खण्डन गर्दै निजी क्षेत्रलाई आफूहरुले महत्त्व दिइरहने प्रतिबद्धता व्यक्त गर्छन् । तर उनीहरुको प्रतिबद्धतामाथि प्रतिप्रश्न उठाउने ठाउँ छाड्दै सुनको अपिलमाथि हालसम्म पनि हेबेइ प्रान्तको उच्च अदालतले सुनुवाइ गरेको छैन । त्यतिमात्रै हैन, सुनसँगै उनको परिवारका सदस्यहरु र कम्पनीका उच्च कर्मचारीहरु पनि जेल पुगेका थिए।

यसैगरी २०२० को सेप्टेम्बरमा घरजग्गा व्यापारी रेन झिकिङले कोरोनो महामारीका बेलाको अवस्थालाई सरकारले व्यवस्थापन गर्न नसकेको र यसका लागि सरकार जिम्मेवार बन्नु पर्ने भन्दै एउटा आलेख लेखेपछि ब्लगर समेत रहेका रेन पक्राउ परेका थिए। चिनियाँ नेताको नाम नै उल्लेख नगरिकनै उनले महामारीले राज्य संयन्त्रलाई नंग्याइदिएको भनी टिप्पणी गरेका थिए ।

अनबङ इन्स्योरेन्स ग्रुपका अध्यक्ष रहेका वु छिआओह्वी पनि ठगी तथा घोटालाको आरोपमा २०१८ मा १८ वर्षकै लागि जेल पठाइए । न्युयोर्कमा ल्यान्डमार्क वाल्डर्फ अस्टोरिया होटेल खरिद गरेपछि अनबाङ विश्वभर निकै चर्चामा आएको कम्पनी हो । यो कम्पनी १० अर्ब डलरभन्दा धेरै रकम अपचलन गरेको भन्दै अध्यक्ष वु दोषी ठहर भएका थिए ।

वुका प्रतिरक्षा वकिल समेत रहेका ली जिङछिङका अनुसार यहाँ उल्लेख भएका फरक ठाउँका तीनै जना व्यापारी तथा अर्बपतिहरुका फरक मुद्दामा एउटै प्रकृतिको सजाय तोकिएको छ ।

ली वुका वकिल त थिए तर उनलाई वुसँग भेट्न दिइएको थिएन । जो २०२२ पछि चीन छाडेर जापान गएर बस्दैआएका छन् । उनी यी तीन घटनालाई संयोग मात्रै मान्दैनन् । लीको आरोप छ-तीन सरकारले यी तीन ठूला व्यापारीहरुको जेलमै मृत्यु भएको हेर्न चाहेको छ । साथै उनी यस घटनालाई डरलाग्दो भएको व्याख्या गर्छन् ।

गत जुलाइमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो सम्मेलनको क्रममा सीसीपीका नेता तथा राष्ट्रपति सी चिनफिङले दुई कडा प्रतिबद्धता व्यक्त गरेका थिए । निजी र राज्य क्षेत्रका व्यवसाय गरी दुबै क्षेत्रलाई सँगसँगै विकास गर्ने उनको प्रतिबद्धता थियो । यस क्रममा नेता सीले भनेका थिए, ‘हाम्रो पार्टीलाई विश्वास छ-निजी क्षेत्रका व्यवसायी तथा उद्यमीहरु हाम्रो आफ्नै परिवारका सदस्य हुन् ।’

तर व्यवहारमा भने सीसीपीले व्यवसायी तथा उद्यमीहरुमाथि कडा नियम लगाउँदा दर्जनौं उद्यमी र कर्पोरेटका उच्च अधिकारीहरु जेलमा छन् । कतिपय पक्राउ परेका छन् र आफ्नो पेशाबाट मात्रै नभएर सार्वजनिक स्थानबाट नै गायब परिरहेका छन् ।

यसका एक उदाहरण हुन् अलीबाबा कम्पनीका मालिक ज्याक मा । २०२० मा चिनियाँ नेतृत्वको आलोचना गरेपछि उनी वर्षौंसम्म सार्वजनिक स्थानमा देखिनै छाडेका थिए । यतिसम्म कि उनको अवस्थाबारे कसैले केही भनिरहेको पनि थिएन । यसबीचमा थाइल्यान्ड, ताइवान लगायत देशमा उनलाई देखियो । तैपनि सार्वजनिक दृश्यमा उनी अहिलेसम्म पनि खुलेर आएका छैनन् ।

यसै वर्षको सुरुतिर सेलिब्रिटी बैंकर बाओ फानले स्वास्थ्य समस्याको कारण देखाउँदै अब परिवारका सदस्यसँग समय बिताउने भन्दै चाइना रेनेसा होल्डिङ्सको अध्यक्ष र सीईओ पदबाट राजीनामा दिए । जवकि इन्भेस्टमेन्ट बैंकले भने बाओले आफूमाथिको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको थियो ।

तर के मुद्दामा अनुसन्धान गरिएको भन्ने विस्तृतमा खुलाइएको छैन । र चाइना रेनेसाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । फेब्रुअरीमा नै चीनको एक अदालतले चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष टियान हुइउलाई घुस तथा आन्तरिक व्यापार लगायतका मुद्दामा दोषी ठहर गर्दै निलम्बन गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । हङकङका प्रोडेमोक्रेसी मिडियाका जिमी लाइ विदेशी शक्तिसँग मिलेर देशद्रोह गरेको भन्दै मुद्दा खेपिरहेका छन् ।

सन् २०२३ मा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले बढे पनि चिनियाँ प्राविधिक कम्पनीहरूले तीन वर्षअघि चीनले यस क्षेत्रको विरुद्धमा कदम चालेदेखि बजार पूँजीकरणमा १ ट्रिलियन डलरभन्दा बढी गुमाएका छन्। यसबीचमा वैदेशिक लगानीमा पनि आकस्मिक रुपमा गिरावट आएको छ । जुन २०२३ को सोही अवधिको तुलनामा २०२४ को पहिलो ६ महिनामा २९ प्रतिशतले घटेको हो । साथै चीनमा रहेका विदेशी कम्पनीहरुले पछिल्लो समय जटिल अवस्थाको सामना गरिरहनु परेको बताइन्छ ।

३ वर्षअघि, बजार पूँजीकरणका आधारमा चीनका शीर्ष १०० सूचीबद्ध कम्पनीहरूको मूल्यको ५५ प्रतिशत हिस्सा निजी फर्महरूको थियो भने हाल यस वर्षको जुन महिना सकिँदासम्म त्यो हिस्सेदारी घटेर ३३ प्रतिशतमा झरेको छ । देङ सियाओपिङको नेतृत्वमा चीनको उदारिकरण र सुधारको युग सुरु गरेपछि नै निजी क्षेत्रलाई चीनको आर्थिक प्रणालीको महत्वपूर्ण हिस्सा मानिदै आएको छ ।

तर यसबीचमा निजी क्षेत्रका उद्यमीहरु धमाधम जेल पर्नु वा भाग्नु पर्ने अवस्था आउनुले देङको नीति सी चिनफिङको नेतृत्वले बदल्न खोजिरहेको देखिन्छ । दर्जनौं उद्यमीहरु यतिबेला जेलमा छन् वा देश छाडेर भागेका छन् । केही भने गुमनाम बनेका छन् । चीन सरकारले सनलाई दोषी ठहर गर्दै दाउ समूहलाई एक अर्ब युआन (१४ करोड डलर)भन्दा बढीको जरिवाना गरियो । यस्तै वु सियाओहुई जेलमा परे । र उनलाई १०.५ अर्ब युआन जरिवाना गरिएको छ । अर्का प्रसिद्ध व्यवसायी अलिबाबाले २ अर्ब ८० करोड डलर जरिवाना तिरेका छन् । यस्तै तियान हुइयुको सबै सम्पत्ति जफत गरियो।

यी मुद्दामा चिनियाँ नियामक निकायको कडा आलोचना पनि हुँदै आएको छ । अदालतको डकुमेन्ट अनुसार व्यवसायी सनले विवाद उत्पन्न गरेर राज्यविरुद्ध आक्रमण गर्न उक्साएको आरोप लागेको थियो । कृषिका लागि गैरकानुनी रुपमा जमिन कब्जा गरेको उनीमाथि आरोप थियो । उक्त मुद्दामा अरु १९ जनालाई छोटो समयका लागि जेल राखिएको थियो ।

सनले सन् १९८० को दशकमा १ हजार कुखुरा र ५० वटा सुँगुरहरुसहित आफ्नो उद्यम सुरु गरेका थिए । विशेषगरी देङको नेतृत्वमा अर्थतन्त्र खुला भएपछि उनले आफ्नो व्यवसाय फस्टाउने अवसरा पाएका थिए । प्रारम्भिक चरणमा चिनियाँ कम्युनिस्ट पार्टीले समेत कृषि उद्यमको विकासका विषयमा उनको सुझाव लिने गरेको थियो । यतिसम्म कि बेइजिङमा उच्चपदस्थ नेताहरुले उनलाई व्यवसायबारे सुझावका लागि नै बोलाएका थिए ।

चीनमा सनले समाजलाई भोकमरीबाट मुक्त गर्न पनि सनले धेरै काम गरेका थिए । यससँगै पार्टीका लागि पनि उनले धेरै सहयोग गरे । तर उनै सन हाल चीन सरकारबाट हाल अनेक कानुनी र व्यवहारिक रुपमा पनि जटिल परिस्थितिको सामना गरिरहेका छन् ।

सन मात्रै नभएर अन्य थुप्रै व्यवसायीहरु चिनियाँ कम्युनिस्ट पार्टी वा सरकारबाट विभिन्न उल्झनको सामना गरिरहेका छन् । मुद्दा कस्तो लगाइयो भन्दा पनि उनीहरुलाई एकै प्रकृतिको सजाय र जरिवाना दिनुले नियतमाथि आशंका उत्पन्न हुने विश्लेषकहरु बताउँछन् । यसरी कुनै बेला चीनलाई निजी उद्यम र व्यवसायको सहायताले समृद्ध बनाउने सपना देखेका देङ सिआयोपिङको विपरीत हालका राष्ट्रपति सी चिनफिङको नेतृत्वको सरकारले भने उनीहरुमाथि नै दबाब र अवरोध सिर्जना गर्दैआएको छ ।


क्लिकमान्डु