अभिनेता राज कटुवालको सेयर टिप्स: लगानी गर्दा यी कुरामा ध्यान दिनुस्




मैले व्यवसायिक जीवन सुरु गरेको १५ वर्ष भयो। रहरैरहरमा सिनेमामा काम गरेर करियर सुरु गरें पनि मैले व्यवसायी बन्नुपर्छ भन्ने सोचका साथ १५ वर्ष अगाडिबाट व्यवसाय थालें। यसबिचमा मैले दरबारमार्ग र नयाँ वानेश्वरमा एकसाथ दुई रेष्टुरेन्ट चलाए।

तर ६-७ वर्ष अगाडि मैले चिनेको र आदर गर्ने सानुराजा तिम्लसिनाले सेयर र सोको कारोबारकोबारेमा अवगत गराउनुभयो। उहाँको कुराबाट म सेयर कारोबारमा आकर्षित भएं। आजसम्म मैले हात हालेको सबै व्यवसायमा मैले मुनाफा नै आर्जन गरेको छु।

सेयरको कारोबारमा पनि म पछि परिन। समयक्रममा यस्तो भयो कि सुरुवाती चरणमै यसमा गरेको लगानीको प्रतिफलले गर्दा पछिल्लो समय सेयर कारोबार नै मेरो व्यवसाय भएको छ। यसले मलाई यति तान्यो की मैले मेरो रेष्टुरेन्ट व्यवसाय छोडे।

भाग्यकै कुरा हुनुपर्छ, जसै मैले रेष्टुरेन्ट व्यवसाय छोडे त्यसको केही समयपछि कोरोना महामारी सुरु भयो र लकडाउन भयो। यसको सबैभन्दा असर होटल-रेष्टुरेन्टकै क्षेत्रमा भएको छ।

सानुराजा दाइको सल्लाह र प्रेरणाबाट मैले झण्डै ४०-५० लाखको लगानीमा सेयर कारोबार सुरु गरें। यो लगानीले मलाई सेयर बजारमा अनुभवी बनायो। आज मसँग विभिन्न कम्पनीका राम्रै संख्याका सेयर छन्। चनाखो भएर लगानी गर्ने हो भने सेयर बजारबाट राम्रो कमाइ हुन्छ। यसका लागि अरु काममा जस्तो दिनरात घोटिनुपर्दैन। दिनमा २-३ घण्टा समय दिनसक्दा बजारबाट राम्रो प्रतिफल लिन सकिन्छ।
सेयरको कारोबारमा मैले उठेका र लडेका दुबै खाले मानिसहरु देखेको छु।

मान्छेहरु विशेषगरी दोश्रो बजारमा डुबेका छन्। यसरी डुब्नुको पछाडि सेयर बजारको फ्रिक्वेन्सी नबुझी जथाभावी लगानी गर्नेहरु धेरै छन्। आजकल सेयरप्रति मानिसहरुको आकर्षण निक्कै छ। पछिल्लो समय नेपाली सेयर बजारमा उछाल आइरहेको छ। मेरो ५-६ वर्षको सेयर अनुभवले सेयर लगानी गर्नुपर्ने ठाउँ हो भनेर बुझेको छु तर यसका लागि लगानीकर्तामा पैसाबाहेक अरु केही गुण क्षमता पनि हुनुपर्ने मेरो बुझाइ छ।

मेरा अनुभवका तिनै बुझाइलाई यहाँ केही बुँदामा साझा गर्न चाहन्छु।

१. लगानी गर्न खोजेको कम्पनीबारेमा यथेस्ट जानकारी

सेयर भनेको पैसा छ भन्दैमा जथाभावी लगानी गर्दै प्रतिफलको आशा गर्ने आकाशे खेती होइन। यसका लागि लगानीकर्तामा आफूले लगानी गर्न खोजेको कम्पनीको ‘फन्टामेन्टल’को जानकारी हुनु अपरिहार्य छ। फन्डामेन्टल राम्रो भएको कम्पनी लगानी योग्य कम्पनी हो। फन्टामेन्टल राम्रो भएको भन्नाले वित्तिय अवस्था राम्रो भएको कम्पनी हो। यो भनेको प्रति सेयर आम्दानी राम्रो कम्पनी भएको हो भनेर बुझ्नपर्छ। यस्ता कम्पनी नाफामा चलेका, नाफा बढाइरहेका तथा सेयर लाभाशं दिनसक्ने हुन्छन्।जस्तो कुनै कम्पनीले वर्षेनी लाभाशं दिनसक्छ वा दिइरहेको छ त्यस्ता कम्पनी राम्रा कम्पनी हुन जसले दिन सक्दैनन् ती कम्पनी राम्रा होइनन्। तर दिन नसकेपनि भविष्यमा सम्भावना बोकेका कम्पनीलाई पनि लगानी योग्य मान्न सकिन्छ तर तीमाथि लगानी गर्दा आफू सुरक्षित भएरमात्र लगानी गर्नुपर्छ।

२. कुर्ने धैर्यता

सेयरबाट छिटोछिटो मुनाफा आर्जन गर्ने आशा धेरै आम लगानीकर्तामा रहेको मैले पाएको छु। आशा गर्नु नराम्रो होइन, केही लगानीकर्ताले यसबाट राम्रै मुनाफा आर्जन गरेको पनि देखेको छु तर यो सँधै लगानीकर्ताको पक्षमा हुँदैन। केही लगानीकर्ता आज सेयर किन्नुहुन्छ र केही मात्रामा सेयर बढ्ने बित्तिकै सेयर बेच्ने गर्नुहुन्छ। तर कतिपय अवस्थामा आज बढिरहेको सेयर भोलिपल्टबाटनै ओरालो लाग्न थाल्दा लगानीकर्ताको आशामा तुषारापात हुन्छ। यस्तोमा भने लगानीकर्तामा धर्यता चाहिन्छ। किनकी सेयर बजारमा ‘होल्ड इज गोल्ड’ भन्ने भनाइ चर्चित छ। भाउ घट्दा तपाईंसँग बढ्नेबेलासम्म कुर्ने धर्यता र क्षमता तपाईंको लगानीमा छ भने त्यसले केही समयपछि राम्रै प्रतिफल दिन्छ। यही वर्षपनि नयाँ सरकार नबन्दासम्म सेयर बजारमा उत्साह थिएन। नयाँ सरकार बनेपछि सेयरमा उछाल आयो। यसले कुरेर बस्ने लगानीकर्तालाई राम्रै मुनाफा दियो। किनेको मूल्यभन्दा कममा सेयर नबेच्नुस्। कुर्नुस् र बढेपछिमात्र बेच्नुस्।

३. ऋण लिएर कारोबार नगर्नुस्

सेकेण्डरी बजारमा ऋण लिएर कारोबार गर्ने गल्ती गर्नु हुँदैन। अघि मैले माथि नै उल्लेख गरेझैं आज बढ्छ भनेर किनेको सेयर अचानक घट्न लाग्यो र तपाईंले ऋण लिएको अवधिसम्म पनि ऋण लिएर किनेको सेयरको रकम बढेन भने के हुन्छ? यस्तोमा ऋण थेग्ने क्षमता तपाईंसँग छैन भने तपाईंले घाटा बेहोर्नुपर्छ। त्यसैले ऋणमा सकभर सेयर नकिनौं।

४. हल्लाको पछि नलागौं

हल्लाको पछाडि लागेर सेयर कारोबार नगरौं। धेरै लगानीकर्ता बजारिया हल्लाको पछि लागेर लगानी गर्नुहुन्छ। हामीले बुझ्नुपर्ने कुरा के छ भने बजारमा हल्ला फिजाउने समूह पनि क्रियाशिल हुन्छ जसले सेयर लगानीकर्ता त्यसमा पनि नयाँलाई छिट्टो प्रभाव काम गर्छ। उनीहरुको पछि लागेर लगानी गर्ने लगानीकर्ताहरु डुब्ने गर्छन्। एकपटक बैकिङ मर्जरका बेलामा मर्जर नहुने दुई बैंक मर्जरमा जाँदैछन् भनेर हल्ला पिटाइयो जुन हल्लाको पछाडि लाग्दा केही लगानीकर्याले घाटा बेहोर्नुपर्‍यो। यस्तो हल्लाबाट विशेषगरी आज किनेर भोलि वा पर्सिमै नाफा खोज्ने लगानीकर्ताहरु परिरहेका हुन्छन्। त्यसैले लगानी गर्नुपूर्व हल्ला भन्दा पनि अध्ययन गर्नुपर्छ।


क्लिकमान्डु