वित्तीय अवस्था कमजोर रहेका हाइड्रोपावरमा आकर्षण बढ्दो, सचेत भएर लगानी गर्न आग्रह



काठमाडौं । सेयर बजार करिब तीन महिना देखि बढिरहेको छ । दुई महियता बजारले बुलिस ट्रेन्ड समातेको छ ।
बजार बढ्दा सबैखाले कम्पनीको सेयर मूल्य समेत निकै बढेको छ । अहिले खराब वित्तीय स्थिति भएका कम्पनीको समेत सेयर मूल्यमा वृद्धि भइरहेको छ ।

सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरिसकेका छन् । केही कम्पनीहरुले वित्तीय अवस्था सार्वजनिक गरिरहेका छन् ।

लगानीकर्ताहरुले वित्तीय अवस्था नहेरी समेत अन्धाधुन्ध लगानी गरिरहेका छन् । यस्तो स्थिति अझ बढी जलविद्युत कम्पनीमा रहेको छ ।

नेप्सेमा ९१ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । बिहीबारको कारोबार अनुसार ९१ वटा कम्पनीमा ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

बिहीबार सेयर मूल्य बढेका कम्पनीको वित्तीय अवस्था सबैको सन्तोषजनक छैन । ५६ वटा कम्पनीले असार मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेकोमा १० जटा कम्पनीको मात्रै नाफा बढेको छ । असार मसान्तसम्म ७ वटा कम्पनीको नाफा घटेको छ । ५६ वटा कम्पनीमध्ये तीन वटा कम्पनीले भने असार मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरिसकेका छैनन् । बाँकी कम्पनी नोक्सानमा छन् ।

१७ वटा कम्पनीको विद्युत बिक्रीबाट हुने आय बढेको छ भने २५ वटा कम्पनीको घटेको छ । बाँकी कम्पनीमध्ये कतिपयले केही समय यता मात्रै विद्युत उत्पादन सुरु गरेका कारण अघिल्लो आवको असार मसान्तको विवरण उल्लेख छैन । कतिपय विद्युत बिक्रीबाट हुने आम्दानी बढेका कम्पनीहरुको पनि नाफा भने घटेको छ ।

कम्पनीहरुले असार मसान्तसम्म प्रकाशित गरेको वित्तीय अवस्था हेर्दा बिहीबार सेयर मूल्य बढेका कम्पनीमध्ये अधिकांशको प्रति सेयर आम्दानी नोक्सानमा छ भने नेटवर्थ १०० भन्दा कम छ ।

३३ वटा कम्पनीको प्रति सेयर आम्दानी नोक्सामा छ भने १९ वटाको सामान्य बढेको छ । असार मसान्तसम्म १० रुपैयाँ भन्दा कम इपिएस हुने कम्पनीको संख्या १७ वटा रहेको छ । कुथली बुखरी स्मल हाईड्रोपावर कम्पनीको ईपीएस १२ रुपैयाँ ९३ पैसा छ रहेको छ भने भगवती हाईड्रोपावरको प्रतिकित्ता इपीएस ११ रुपैयाँ ०२ पैसा छ ।

भगवतीको नेटवर्थ १२४ रुपैयाँ ३५ पैसा छ । कम्पनीको सेयर मूल्य ९८९ रुपैयाँ रहेको छ । कम्पनीको नाफा अघिल्लो आवको असार मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ८.४५ प्रतिशतले घटेको छ ।

यस्तै कुथली खुरीको इपीएस १२ रुपैयाँ ९३ पैसा रहेको छ भने नेटवर्थ १६१ रुपैयाँ ९५ पैसा छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१४० रुपैयाँ रहेको छ । अहिलेसम्म सबैभन्दा बढी सेयर मूल्य हुने जलविद्युत कम्पनी यही नै हो ।

कम्पनीको वित्तीय अवस्था हेर्दा १०० रुपैयाँ भन्दा बढी नेटवर्थ हुने कम्पनीको संख्या १८ वटा छ । ३५ वटा कम्पनीको १०० रुपैयाँ भन्दा कम छ । सबैभन्दा थोरै नेटवर्थ हुने कम्पनीमा शिव श्री हाइड्रोपावर कम्पनी छ । यो कम्पनीको नोक्सानमा छ । अघिल्लो आवको असार मसान्तसम्म ३० करोड ८५ लाख नोक्सानमा रहेको कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ८८ लाख १४ हजार नोक्सानमा छ । ईपीएस २४ रुपैयाँ ३० पैसा नोक्सानमा छ ।

असार मसान्तसम्मको वित्तीय अवस्था निकै कमजोर भएका कम्पनीको सेयर मूल्य भने निकै उछाल आइरहेको छ । सेयर मूल्य अनुसार हेर्दा ६ वटा कम्पनीको सेयर मुल्य प्रतिकित्ता ३ सय भन्दा कम छ । बाँकी कम्पनीको अधिकांशको सेयर मूल्य ४ सय भन्दा बढी नै छ ।

यस्ता कम्पनीका लगानीगर्दा निकै सोच बिचार गर्नुपर्ने नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । हेमनत गरेर कमाएको पैसा अरुका लहलहैमा लागेर खेर फाल्न नहुने उनको सुझाव छ ।

‘कृपया आफुले लगानी गर्ने कम्पनीको वित्तीय अवस्थाको बारेमा अध्ययन गरेर मात्रै लगानी गर्नुहोस’ उनले भने ‘अरुको भरमा, अरुको लहै लहैमा लगानी नगर्नुहोस् । त्यस्ता कम्पनीको मूल्य घट्यो भने डुब्ने त प्राय लगानीकर्ता नै हो ।’

असार मसान्तसम्म वित्तीय अवस्था कमजोर भएका कम्पनीले लाभांश समेत दिन नसक्ने हुँदा सबै लगानीकर्ता सचेत हुनुपर्ने उनको सुझाव छ ।

लगानीकर्ताले लगानी गर्नु अघि आफूले ट्रेडिङ गरिरहेको हो कि इन्भेष्टमेन्ट गरेको हो त्यसमा ध्यान दिन उनको सुझाव छ । लहडमा लगानीगर्दा दीर्घकालमा नोक्सान हुने उनको दाबी छ ।

नेटवर्थ कम भएका, ईपीएस नकारात्मक भएका कम्पनीमा लगानी गर्दा पटक पटक सोच्न उनको सुझाव छ ।


क्लिकमान्डु