संसद्‍को चालु अधिवेशनबाटै टीआरसी विधेयक पारित गर्छौं: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकमा सहमतिलाई कोशेढुंगा भएको भन्दै चालु अधिवेशनबाटै शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार सिंहदरबारमा टीआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । अब कानूनको हिसावले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा रहेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कामलाई अन्तिम रुप दिन कुनै अन्योल नरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।

साथै विधेयकलाई संसदको समितिले सर्वसम्मतिले पारित गरेर पठाउने पनि उनले विश्वास व्यक्त गरे । साथै शान्ति प्रक्रिया टुंग्याउन प्रतिक्षा गर्नुपर्ने कुनै कारण नरहेको पनि उनले बताएका थिए ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आज एउटा कोशेढुंगाको रुपमा हामीले सफलता प्राप्त गरेका छौँ । अब हामीलाई कानूनको हिसावले शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्त्री कामलाई अन्तिम रुप दिन कानूनी रुपमा कुनै अन्योल, दुविधा छैन । अब यसलाई संसदको समितिले मैले विश्वास लिएको छु सर्वसम्मतिले पारित गरेर पठाउँछ । र पूर्ण हाउसले पनि यसै सदनमा हामी पास गर्छौं ।’

उक्त अधिवेशनमा पर्याप्त छलफल भइसकेकाले अब विधेयक पास गर्ने उनले बताए । यस्तै कार्यदलले सबैसँग परामर्श गरेर नै विधेयक तयार पारेको भन्दै अब दलहरुको सहमतिको कुनै प्रश्न बाँकी नरहेको उनले बताए ।

‘हामीसँग परामर्श गरेर नै विधेयक तयार पारिएको हो । अब पार्टीहरुको सहमति छ कि छैन भन्ने प्रश्न रहेन । हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताको रुपमा सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कार्य अघि बढाउन कानूनलाई संशोधन गर्नैपर्ने अवस्था थियो, त्यो संशोधन नगर्दा पीडितमैत्री हुन सकेन र त्यसले हामीलाई अघि बढाउन सकेन भनेपछि मात्रै संशोधन ऐन आएको थियो । एउटा पीडादायी अवस्थाबाट त हामी गुज्रियौँ त्यसकारण नै त्यसको समाधान गर्नुपर्‍यो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पुरानै शान्ति प्रक्रियाको अवशेष बाँकी रहनु उचित नभएकाले यो प्रक्रिया टुंग्याइएको बताएका थिए । शान्ति सबैको चाहना भएकाले सत्य निरुपण तथा मेलमिलापको प्रक्रियालाई विश्व समुदायले स्वीकार गर्नेगरी टुंग्याइने पनि उनको भनाइ थियो ।


क्लिकमान्डु