अनलाइन महसुल संकलनमा फड्को मार्दै प्राधिकरण, एकदिनमै साढे १३ करोड संकलन गरेर नयाँ रेकर्ड



काठमाडौं । विद्युत महसुल संकलनमा अनलाइनको प्रयोग बढ्दो छ ।

नेपाल विद्युत प्राधिकरणले करिब ७ वर्षअघिबाट अनलाइन महसुल भुक्तानी प्रणाली प्रयोग ल्याएको थियो । सुरुमा केहि ग्राहकले मात्रै प्रयोग गरेको भए पनि अहिले ३५ प्रतिशतले बिजुलीको बिल भुक्तानी अनलाइनबाटै गरिरहेका हुन् ।

शहरी क्षेत्रमा अनलाइनबाटै भुक्तानी गर्नेहरु बढिरहेका छन् । ‘शहरमा अलि धेरै छ तर पछिल्लो समयमा गाउँघरहरुबाट पनि भुक्तानी गर्नेहरु बढिरहेका छन्,’ बिलिङ तथा नेटवर्क शाखा प्रमुख रविन्द्र श्रेष्ठले भने, ‘वर्षेनी अनलाइन भुक्तानी गर्नेहरु बढिरहेका छन् ।’

उनका अनुसार आइतबार साढे १३ करोड रुपैयाँ अनलाइनबाट संकलन हुँदा नयाँ रेकर्ड कायम भएको छ । सार्वजनिक बिदा र शनिबार केहि घट्ने भए पनि अन्य दिनमा करिब १० करोड रुपैयाँ हाराहारी दैनिक संकलन हुने गरेको छ । तर आइतबार उपत्यकामा सार्वजनिक विदा हुदाँ पनि महसुल तिर्नेहरु बढेका हुन् ।

प्रत्येक महिना बिजुलीको बिल प्राप्त भएपछि अनलाइन भुक्तानी गर्न सकिन्छ । स्मार्ट मिटरमा भने प्राधिकरणका कर्मचारीले मिटर रिड गरेर बिल दिइरहनु पर्दैन । मिटरमा नै कति तिर्नुपर्छ भनेर हेर्न सकिन्छ । काठमाडौं करिब १ लाख स्मार्ट मिटर जडान भएका छन् । प्राधिकरणले देशभरी ६० लाख स्मार्ट मिटर जडान गर्ने योजना बनाएको  छ । यस्तो मिटरको डेटा सिधै प्राधिकरणको सर्भरमा पुग्छ भने ग्राहकले मिटरमा नै हेर्न पाउँछन् ।

विद्युत महसुल डिजिटल वालेट तथा मोबाइल बैकिङ सेवाबाट तिर्न सकिन्छ । इसेवा, प्रभु बैंक, खल्ती, आइएमई पे जस्ता ११ सेवा प्रदायकबाट महसुल तिर्न सकिन्छ ।

अनलाइनबाट भुक्तानी दिन मिल्ने भएपछि प्राधिकरण र मातहतका काउण्टरमा भीड देखिन छाडेको छ । पहिले भीडभाड हुने काउण्टरहरुमा प्राधिकरणका कर्मचारीहरु ग्राहक कुरेर बस्न थालेका छन् ।  प्राधिकरणले एउटै काउण्टरमा ८/१० जना खटाउने गरेको थियो । अहिले ३/४ जना खटाए पुग्ने भएको छ ।

२०७४ भदौदेखि चैतसम्म ६५ करोड रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ६० करोड रुपैयाँ संकलन भयो । अर्को वर्ष अर्थात २०७६/७७ मा आइपुग्दा झण्डै दोब्बर संकलन भयो । यो वर्ष करिब ८ अर्ब ७० करोड रुपैयाँ अनलाइनबाट संकलन भएको थियो । आव २०८०/८१ मा आइपुग्दा २१ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको छ ।

क्रस वर्ष अनलाइनबाट संकलित महसुल  (रुपैयाँमा)
२०७४ ( भदौ-चैत)६५ करोड
२०७५/७६४ अर्ब ६० करोड
२०७६/७७८ अर्ब ७० करोड
२०७७/७८११ अर्ब ७६ करोड
२०७८/७९१५ अर्ब २५ करोड
२०७९/८०२१ अर्ब २४ करोड
२०८०/८१२७ अर्ब ४४ करोड
स्रोत: नेपाल विद्युत प्राधिकरण

अनलाइन बिलिङमा ५ लाखको क्याप

प्राधिकरण ग्राहकहरुले ५ लाख रुपैयाँसम्म मात्रै अनलाइनबाट भुक्तानी गर्न पाउँछन् । ५ लाख रुपैयाँभन्दा बढीको बिल तिर्न प्राधिकरणकै काउण्टर धाउनुपर्ने बाध्यता छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डिजिटल प्राधिकरण बनाउने घोषणा गरेको भए पनि ५ लाख रुपैयाँभन्दा बढी अनलाइनबाटै तिर्न मिल्ने सुविधा दिन सकेका छैनन् । प्राधिकरणले यस विषयमा पटक पटक छलफल गरिसकेको छ । अनलाइन बिलिङमा ५ लाख रुपैयाँ क्याप हटाएर ग्राहकहरुलाई समेत सहज हुने बताइएको छ ।


क्लिकमान्डु