रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुनः निर्माण



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको दुई हजार २३ र उपल्लाचौरको दुई हजार चार साले सिँचाइ आयोजना पुनःनिर्माण भएको छ ।

पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर बनाएर सिँचाइ आयोजना पुनःनिर्माण गरिएको हो । २००४ मा निर्माण भएको नहरलाई चार साले र २०२३ मा निर्माण भएको आयोजनालाई तेईस साले सिंचाइ आयोजना नामकरण गरिएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत आयोजना पुनःनिर्माण भएको हो । उपल्लाचौर जल उपभोक्ता समितिका अध्यक्ष चन्द्रवीर थापाले पछिल्लो तीन आर्थिक वर्षमा ६० लाख बजेटबाट तीन सय ८० मिटर नहर र एक हजार ८२ मिटर पाइपलाइन जडान भएको बताए ।

‘२०४८ मा बनाइएको पक्की नहर मुहान् नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो’, उनले भने, ‘भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर पुनःनिर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ ।’

एक सय ५० घरधुुरी कृषकको करिब पाँच सय रोपनी जमिनमा १२ महिना सिँचाइ सुविधा पुगेको छ । चालुु आर्थिक वर्षमा विनियोजन भएको २२ लाख बजेटबाट एक हजार पाँच सय ७४ मिटर पाइपलाइन जडान, मुहानमा दुई वटा इन्टेक र ३० थान ग्यावीयन पर्खाल बनाएर २३ साले सिँचाइ आयोजनाको पुनःनिर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

समितिका सचिव ओम रोकाले पाइपलाइन जडान गरेपछि वर्खाको समयमा नहर बगाउने समस्या हटेको बताए । रत्नेचौरको २५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुुगेको उहाँले बताए । २३ साले सिँचाइ आयोजना मर्मत सम्पन्न भएपछि ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा सहज रुपमा आएपछि रत्नेचौरका किसानले असार महिनाभित्रमै धान रोपाइँ सकेका स्थानीय शङ्कर महतले बताए ।

‘पहिरो र बाढीले पुरानो कुलाको नहर र मुहान भत्काएपछि यसअघिको दुई वर्ष आकासे पानीको भरमा सिँचाइ गरेर धान रोप्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा ल्याएर सिँचाइ गर्न पाएपछि किसानलाई सहज भएको छ ।’


क्लिकमान्डु