बल्खु तरकारी बजार क्षेत्र डुबान हुँदा ३ करोडको क्षति

कुलेश्वरमा पनि ४ सय गोदाम डुब्दा करोडौं रुपैयाँको खाद्यान्न र फलफूल नष्ट



काठमाडौं । बल्खुस्थित कृषि तथा तरकारी बजारमा बाढी पस्दा करिब ३ करोडको क्षति भएको छ ।

बल्खु खोलामा राति २ बजेदेखि आएको बाढीको भेल उक्त बजारमा पस्दा ठूलो क्षति पुर्‍याएको तरकारी बजारका सञ्चालक मोहन बस्नेतले जानकारी दिए । उनका अनुसार बाढी पस्दा बजार परिसरमा रहेको ५ किराना पसलबाट १ करोड रुपैयाँ बराबरको विभिन्न प्रकारको खाद्यान्न र मरमसला बेगेर क्षति भएको छ ।

यस्तै दर्जनौं तरकारी पसलबाट १ करोड रुपैयाँबराबरको ताजा तरकारीसमेत खोलाको बाढीले बगाएको छ । बाढी बजारमा पस्नुअघि विभिन्न जिल्लाबाट उक्त बजारमा तरकारी भित्रिएको थियो । तरकारी बिक्री हुन नपाउँदै सबै बाढीले बगाएको बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार पसलमा भएको टेबल, कुर्सी, जोख्ने मेसिन पनि बगाएको छ । यस्तै कम्पाउण्ड वाल भत्काउनुका साथै १० वटा तरकारी बोक्ने ठूलो ट्रक र २० वटा मोटरसाइकल पनि बगाएको छ ।

‘अहिलेसम्म प्रारम्भिक चरणको अध्ययनअनुसार ३ करोडको क्षति भएको छ, क्षति अझै बढ्छ, बिजुली, सटरहरु भत्किएका छन्, बिजुलीका सम्पूर्ण वाइरिङ्गमा पनि क्षति पुगेको छ,’ बस्नेतले भने । २०६८ सालमा बस्नेतले ३२ करोड रुपैयाँको लगानीमा २० रोपनी जग्गामा उक्त बजार निर्माण गरी सञ्चालनमा ल्याएका थिए । यो बजारमा ४५० वटा पसलहरु थिए । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारपछि बल्खु बजारबाट अत्यधिक परिमाणमा तरकारीको कारोबार हुन्थ्यो ।

बजारमा पुगेको क्षतिको बारेमा स्थलगत जानकारी लिन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी बल्खु बजार जाँदै छन् ।

करोडौं रुपैयाँको खाद्यान्न र फलफूल नष्ट

बल्खु नजिकैको कुलेश्वरस्थित फलफूल र खाद्यान्नको होलसेल गोदाम र व्यापारिक प्रतिष्ठान पनि डुबानमा परेको छ । डुबानका कारण करोडौं रुपैयाँबराबरको खाद्यान्न, दाल, चिनी, गेडागुडी नष्ट भएको छ ।

थोक खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार कुलेश्वरमा रहेको खाद्यान्नको ४ सय गोदाम डुवानमा परेको छ । यस्ता गोदाममा भएको खाद्यान्न, दाल, चिनी, गेडागुडी सबै भिजेको छ । ७ हजार बोरा चिनी पनि गलेर नष्ट भएको छ ।

‘बागमती खोलाको बाढिको भेलले गोदाम डुवानमा पर्यो, गोदाममा २ मिटर उचाँईसम्म पानी छिर्यो,’ श्रेष्ठले भने, ‘सबैतिर पानीको भेल पसेकाले गोदामबाट सामान निकाल्न पनि पाएनौं । हामीलै करोडौं रुपैयाँबराबरको नोक्सानी व्यहोरेका छौं ।’

वागमती खोलाको पाटनतर्फ रिटेनिंग वाल निर्माण भएपनि कुलेश्वर बजारनजिकको खोलातर्फ भने निर्माण भएको थिएन । जसले गर्दा होचो भएको कुलेश्वर खाद्यान्न तथा फलफूल थोक बजारमा बाढीको भेल पसेको थियो ।


क्लिकमान्डु