पृथ्वीमा इतिहासकै सबैभन्दा गर्मी, अत्यधिक गर्मीले विश्व अर्थतन्त्रमा असर



यसैगरी गर्मी बढ्नाले २०३० सम्म विश्व अर्थतन्त्रमा २.४ ट्रिलियन डलर नोक्सान हुने आकलन गरिएको छ ।

एजेन्सी । यसै वर्षको जुलाइ २१ आइतबारका दिन पृथ्वीको इतिहासमै सबैभन्दा गर्मी दिनको रुपमा रेकर्ड सार्वजनिक भएको छ।

आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस रहेको कपर्निकल क्लाइमेट चेन्ज सर्भिसले तथ्यांक सार्वजनिक गरेको हो । जुन १९४० यताकै सबैभन्दा धेरै तापक्रम पुगेको रेकर्ड हो ।

गत वर्ष भने अधिकतम तापक्रम १७.०८ डिभ्री सेल्सियस तापक्रम पुगेको थियो । उक्त मापनको तुलनामा यस वर्ष ०.०१ डिग्रीले बढेको हो । यति थोरै तापक्रम बढेको जस्तो देखिए पनि यो तापक्रम वृद्धिले विश्वका विभिन्न क्षेत्रमा ठूला प्राकृतिक विपत्ति निम्त्याउने विज्ञहरु बताउँछन् । अब आउनसक्ने विपदहरु पनि भयानक हुनसक्ने विज्ञहरुको भनाइ छ ।

यसबीचमा अमेरिका र युरोपसहित विभिन्न क्षेत्रमा भीषण डढेलो फैलिरहेका छन् र विभिन्न देशमा तातो हावा चलिरहेका छन् । यस्ता प्रकृतिक विपद आउनुको कारण यही पृथ्वीको तापक्रम बढ्नुलाई पनि लिइन्छ । विश्वका धेरै ठाउँहरुमा तातो हावा चल्नुका साथै विभिन्न क्षेत्रमा भारी वर्षा लगायतका प्राकृतिक विपद आउने क्रम चलिरहेको छ ।

यद्यपि यस सम्बन्धी विभिन्न निकायका अधिकारीहरुले भने यो एक औसत मापन रहेको बताएका छन् । तर पछिल्ला दिनहरुमा जुनको अन्त्यतिर युरोप र अमेरिकासहित थुप्रै देशहरुमा गर्मीको रेकर्ड तोडिएको थियो ।

चर्को गर्मीले विश्व अर्थतन्त्रमा असर

पृथ्वीमा तापक्रम बढिरहँदा यसले विश्व अर्थतन्त्रमा नै गहिरो असर पार्ने विज्ञहरुको तर्क छ । जसअनुसार गर्मी बढ्नाले २०३० सम्म २.४ ट्रिलियन डलर नोक्सान हुने आकलन गरिएको छ । यस्तै गतिमा गर्मी बढिरहँदा विशेषगरी श्रम शक्ति संकटमा पर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

तर यस्तो अवस्थाबारे चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पृथ्वीमा अत्यधिक गर्मी बढ्ने क्रमलाई मानिसहरुले नै रोक्नुपर्ने बताएका छन् । र तापक्रमको बढ्दो गति रोक्नका लागि सबैले कडा मेहनत गर्नुपर्ने गुटरेसले बताए ।

गुटरेसले भनेका छन्, ‘गर्मी जारी छ । मानिस र पृथ्वीमा अत्यधिक गर्मीको अत्यन्त गम्भिर प्रभाव परिरहेको छ । अर्बौं मानिसहरुले अत्यन्त गम्भीर गर्मीको सामना गरिरहेका छन् । तातो लहरका कारण अवस्था झन् भयावह भइरहेको छ । बढ्दो तापमानको चुनौती सामना गर्न कम्मर कस्नुपर्ने छ ।’

पृथ्वीको बढ्दो तापक्रमका कारण उत्पन्न अवस्थालाई लक्षित गर्दै विभिन्न देशहरुले ठूलो बजेट छुट्याउनुपर्ने पनि गुटरेसको भनाइ छ । यसका लागि कार्बन उत्सर्जन कम गर्ने प्रविधि र उपकरणका साथै घर र सहरको डिजाइन पनि सोही अनुरुप निर्माण गर्नुपर्ने उनको सुझाव थियो ।

पछिल्ला केही साताको अवधिमा गर्मीका कारण सयौं मानिसको मृत्यु भइसकेको छ । ठूलो जनधनको क्षति भएको छ। र यसले गर्भवती महिला, गर्मीमा बस्न नपाएका मानिसहरु, मजदुर, विस्थापित भएकाहरु, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका मानिसहरुलाई बढी असर पार्ने बताइएको छ ।

यस्तै दैनिक श्रम गरेर परिवार पाल्ने आम मानिसहरुका लागि अत्यधिक गर्मीले आम्दानीका स्रोत नै नष्ट पार्नसक्ने तर्फ महासचिव गुटरेसको चिन्ता थियो ।

यसैबीच अरब देशहरु र अफ्रिकी देशहरु गर्मीकै कारण संकटको सामना गरिरहेका छन् । त्यस क्षेत्रमा ८० देखि ९० प्रतिशत जनसंख्याले अत्यधिक गर्मीको सामना गरिरहेका हुन् । एसिया र प्रशान्त क्षेत्रमा पनि यस्तै पीडित समुदाय करिब ७५ प्रतिशत छ।

यस क्रममा महासचिव गुटरेसले विश्वभरका आम कामदारहरुको सुरक्ष निश्चित गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको नयाँ रिपोर्ट अनुसार शारीरिक श्रम गर्ने विश्वभरका ७० प्रतिशत मानिस गर्मीको गहिरो चपेटामा परेको पनि उनले बताए ।

यस्तै शिलशिला गर्मी बढिरहँदा २०३० सम्मको अवधिमा विश्व अर्थतन्त्रमा नै २.४ ट्रिलियन डलरको आर्थिक नोक्सान हुने बताइएको छ ।

यसैबीच अबको समयदेखि नै कार्बन उत्सर्जनमा भारी कटौती गर्न थाले पनि २०५० सम्ममा जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा १९ प्रतिशत आम्दानी गिरावट आउने एक अध्ययनले देखाएको छ । विगत ४० वर्षमा विश्वका १ हजार ६ सय भन्दा बढी क्षेत्रहरुबाट प्राप्त अनुभवजन्य तथ्यांकका आधारमा पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेक्स इम्प्याक्ट रिसर्चका वैज्ञानिकहरुले आर्थिक वृद्धि र भविष्यको अर्थतन्त्रमा जलवायु परिवर्तनको असरबारे मूल्यांकन गरिरहेका छन् ।

यसरी हेर्दा दक्षिण एसिया र अफ्रिका सबैभन्दा धेरै प्रभावित क्षेत्रको रुपमा चित्रित गरिएको छ । साथै उत्तर अमेरिका र युरोप लगायतका क्षेत्रमा सबैभन्दा धेरै आम्दानीमा गिरावट आउने आकलन गरिएको छ ।

विशेषगरी कृषि र श्रम क्षेत्रको उत्पादकत्वमा यसको बढी असर देखिने वैज्ञानिकहरुले बताएका छन् । जलवायु परिवर्तनको असरले विश्व अर्थतन्त्रमा २०५० सम्ममा १९ देखि ५९ ट्रिलियन डलर नोक्सान पुर्‍याउन सक्ने आकलन गरिएको छ । यसवाहेक आगलागी, आँधीबेहरी लगायत प्राकृतिक विपदहरुले यो दरलाई अझै बढाउन सक्ने पनि प्रक्षेपण हुने गरेको छ ।

तर यस्तो क्षति र नोक्सान ल्याउनुमा मानवजातिकै प्रमुख हात रहेको भन्दै यसलाई मानिसहरुले नै रोक्नुपर्ने वैज्ञानिकहरुले बताउने गरेका छन् । पृथ्वीको तापक्रम बढिरहेको विभिन्न संकेत देखिरहँदा यसलाई रोक्ने उपायबारे पनि अन्तर्राष्ट्रिय बहस त हुने गरेका छन् ।

तर यस्तो अवस्था आउनु्मा ठूला र शक्तिशाली राष्ट्रहरु नै बढी जिम्मेवार हुने भन्दै उनीहरुबाट क्षतिपुर्ति पनि भराउनुपर्ने माग हुने गरेको छ । विशेषगरी आणविक हतियारको प्रयोग तथा विभिन्न कृत्रिम उपभोगका कारण ती देश र कतिपय व्यक्तिले पनि पृथ्वीको प्राकृतिक स्रोत बढी दोहन गरेको भन्दै विभिन्न संघसंस्थाहरु र विपन्न देशहरुले उनीहरुलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै आएका छन् ।


क्लिकमान्डु