डुबानमा पर्‍यो बालेन र सुनिताको कार्यालय रहेको राष्ट्रिय सभा गृह (भिडियो)



काठमाडौं । जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिम मुक्त बनाउने स्थानीय सरकार काठमाडौं महानगरपालिका आफैँ डुवानमा परेको छ ।

बुधवार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलको कार्यालय रहेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ.एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुवानमा परेको छ।

केही दिनअघि परेको वर्षाका कारण काठमाडौंको वागमती, विष्णुमती तथा धोविखोला आसपासका क्षेत्र डुबानमा परेका थिए । त्यसबेला मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए । सोही दिन उनको कार्यालय सभागृह पनि डुबेको थियो तर त्यसबारे कुनै सोधखोज भने गरिएन ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वको टोलीले डुबानको अनुगमन पनि गर्‍यो । तर काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतको कार्यालय रहेको सभागृह डुबानमा पर्दा भने न अनुनगमन भयो न जोखिममुक्त गराउन नगर प्रहरी नै खटियो ।

हरेक वर्षा याममा घण्टाघर, रन्तपार्क देखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग करोडौ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला बिस्थापित गरी ह्युम पाईप बिछ्याएका कारण ठूलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको छ ।

त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लव तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनःनिर्माणका गर्दैगर्दा पश्चिम तर्फको ढलको मंगलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह डुवानमा परेको हो।

सभागृह डुवानमा परेपछि मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोल सभागृहमा रहेको कार्यालय आएका छैनन् । मेट्रो रेडियो प्रशारण समेत प्रभावित बनेको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही विहानैदेखि डुवानमै लाइन बसिरहेको देख्न सकिन्छ ।


क्लिकमान्डु