भारतमा युपीआई भुक्तानी: सजिलो तर असुरक्षित पनि



डेढ अर्ब जनसंख्या भएको भारत वस्तु खपतका हिसावले पनि एक विशाल बजार भएको देश हो । जहाँ वर्षौंदेखि भुक्तानी प्रक्रिया एक ठूलो समस्याको रुपमा देखिएको थियो । जुन पछिल्लो समय एकदमै सहज बन्दैआएको छ। विशेषगरी कोरोना महामारीपछि भारतीय बजारमा एकीकृत भुक्तानी प्रक्रिया अर्थात् युपीआई एकदमै सरल बन्दै आएको छ ।

सामान्य ठेला पसल चलाउने साना व्यापारीहरुका लागि पनि भुक्तानीमा आएको डिजिटल सुविधाले धेरै सहज बनाइदिएको छ । कोरोना महामारीपछिका वर्षहरुमा वहुसंख्यक ग्राहकले युपीएकै माध्यमबाट भुक्तानी गर्ने गरेका छन् । त्यसो त प्रविधिको विकाससँगै युपीआई(युनिफाइड पेमेन्ट इन्टरफेस) भुक्तानी प्रक्रिया अत्यन्त सजिलो माध्यम पनि हो ।

कतिपय साना व्यापारीहरु यसले आफ्नो जीवनशैली नै परिवर्त गरिदिएको बताउने गरेका छन् । बीबीसीले भारतमा पछिल्लो समय युपीआई प्रक्रिया जति सहज बन्दै गरेको तर उत्तिकै असुरक्षित पनि रहेको भन्ने विषयमा गहन रिपोर्ट प्रकाशन गरेको छ। समाचार अनुसार भारत सबैभन्दा ठूलो रियल टाइम पेमेन्ट मार्केट रहेको पनि बताइएको छ ।

रिजर्भ बैंक र बैंकिङ इन्डस्ट्रीको सहयोगबाट युपीआई सन् २०१६ देखि भारतमा लागु गरिएको थियो। यो अनलाइन एपको माध्यमबाट पैसा तिर्ने वा लिने प्रक्रिया हो । जसबाट प्रयोगकर्ताहरुले एकैपटक पैसा पठाउन र पाउन सक्छन् ।

पछिल्लो समय यसको प्रयोग यति धेरै बढेको छ कि यही वर्ष मात्रै युपीआईले भारतमा १४ अर्ब ट्रान्जेक्सन गरेको छ। जुन गत वर्षको तुलनामा ९ अर्बभन्दा धेरै हो ।

तर यसको लोकप्रियता र प्रयोग आम उपभोक्तालाई जति सजिलो छ उसैगरी घोटाला गर्ने वा ठगी गर्नेहरुका लागि पनि सजिलो बन्दैआएको छ । जुन कुरा पछिल्लो समय चिन्ताको विषय बन्न थालेको छ ।

दिल्लीस्थित फ्युचर क्राइम रिसर्च फाउन्डेसनका संस्थापक शशांक शेखरले भनेका छन्, “डिजिटल पेमेन्ट सुविधाजनक त छ,तर यसमा केही कमजोरी पनि छन् ।” शेखरका अनुसार ठगी गर्नेहरुले आम मानिस वा व्यापारीलाई फसाउनका लागि केही तरिका अपनाउने गर्छन् । उनीहरु युपीआई पिन नम्बर थाहा पाउनका लागि केही उपाय वा ट्रिक लगाउने गर्छन्, जुन भुक्तानीको क्रममा जरुरी हुन्छ ।

कतिपय ठगी गर्नेहरुले त नक्कली युपीआई एप नै बनाउने गरेको बताइन्छ । उनीहरु वैध बैंकिङ एपको नक्कल गरेर लगइन डिटेल रअन्य जरुरी सूचनाहरु लिने गर्छन्। शेखर भन्छन्, ”जुन गतिबा देशमा डिजिटल परिवर्तन भएको छ, दुर्भाग्यवश उस्तै गतिमा डिजिटल साक्षरता वा इन्टरनेट सम्बन्धी सुरक्षा जानकारी आम जनताहरुमा पुगेको छैन ।”

२०२० को जनवरीदेखि २०२३ को जुनसम्मभएका वित्तीय ठगीका लगभग ५० प्रतिशत मुद्दामा युपीआई सिस्टमको प्रयोग भएको थियो ।
सरकारी तथ्यांक अनुसार,अप्रिल २०२३ मा सकिएको आर्थिक वर्षमा युपीआईसँग जोडिएका ठगीका ९५ हजारभन्दा धेरै घटना सार्वजनिक भए । जुन पछिल्लो वर्षको घटनाको तुलनामा ७७ हजारले बढी हो ।

बिहार लगायत भारतका ग्रामीण क्षेत्रमा यस्ता ठगीका घटना थुप्रै बाहिर आएका छन्। कतिपय व्यापारीहरु डिजिटल भुक्तानी प्रक्रियाबारे अभ्यस्त नहुनाले पनि यस्ता ठगीका घटना दोहोरिने गरेका छन् । यद्यपि भारत सरकार र केन्द्रीय बैंकले आम व्यापारी तथा उपभोक्ताहरुलाई यस्ता ठगीबाट बचाउने उपायबारे पनि काम गरिरहेका छन् ।

कसको जिम्मेवारी ?

तर यस्ता घटनामा जोडिने समस्याको जरो ज्यादै गहिरो रहेको र यसमा सबैभन्दा धेरै जिम्मेवारी बैंकर टेलिकमहरुको हुने विज्ञहरु बताउँछन् । वित्तीय अपराधसँग जोडिने घटनाबारे विशेषज्ञ डा दुर्गेश पान्डेय भन्छन्, ”समस्याको जरो ज्यादै गहिरो छ । यसमा सबैभन्दा धेरै जिम्मेवारी बैंक र टेलिकम कम्पनीहरुको हुन्छ ।”

यद्यपि कतिपय अवस्थामा बैंक मात्रै दोषी नहुने बताउँछन् पान्डेय । यसमा ठगी गर्नेलाई निजी सूचना त आम मानिसले नै दिने हुनाले यस्तो अवस्थामा आम व्यापारी वा उपभोक्ता पनि सतर्क हुनुपर्ने विशेषज्ञहरुको सुझाव छ । यसरी यस्ता समस्याका बावजुद युपीआईको प्रयोगलाई ग्रामीण क्षेत्रमा पनि बढाइएको पाइन्छ । जहाँ बैंकिङ सेवा सबैका लागि सहजै उपलब्ध हुँदैन ।

यद्यपि युपीआईको प्रयोगलाई कम गर्न भने निकै कठिन पनि छ। किनकि आम उपभोक्ताहरुको जीवनशैली वा व्यवहार नै बनिसकेको छ युपीआई । बरु यसको प्रयोगलाई सुरक्षित र भरपर्दो बनाउनुपर्ने विज्ञहरुको सुझाव छ।


क्लिकमान्डु