एकीकृत समाजवादीको प्रतिवदेन: एमाले दक्षिणपन्थी पार्टी, रास्वपा कस्तो ?



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमाले दक्षिणपन्थी अवसरवादी पार्टीको रुपमा हेरेको जनाएको छ । काठमाडौंमा जारी महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेसहित संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूप्रति पार्टीको नजर प्रस्ताव गरेको छ ।

प्रतिवदनमा एमालेको विचार र व्यवहार दुबै दक्षिणपन्थी भएको उल्लेख गरिएको छ ।

‘मुलुकमा जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा समाजवादी कार्यक्रम र कार्यदिशा अंगाल्नु पर्नेमा त्यसो गर्न नसकेको हुनाले यस पार्टीको विचार र व्यवहार दुवै दक्षिणपन्थी भएको स्पष्ट हुन्छ,’ अध्यक्ष नेपालले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको यो पार्टी नीति प्रधान नभएर नेता प्रधान हुँदै गएको छ ।’

त्यस्तै कांग्रेसलाई यथास्थितिमा रमाउने पार्टीको संज्ञा दिएको एकीकृत समाजवादीले माओवादीलाई सैद्धान्तिक अन्योलतामा फसेको पार्टीको रुपमा चित्रित गरेको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) सैद्धान्तिक अन्योलतामा फसेको निष्कर्ष अध्यक्ष नेपालको छ । ‘सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्तिप्रक्रिया हुँदै अहिलेसम्म आउँदा रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको छ । नेकपाको विभाजनपछि फेरि माओवादी अंगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्योलमा फसेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा एसले दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको पार्टीको रुपमा चित्रित गरेको छ ।


क्लिकमान्डु