एसईईको नतिजामा सांसदहरु असन्तुष्ट, लगाए सरकारलाई दोष



काठमाडौं । सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन् । सांसदहरुले धेरै विद्यार्थीहरु अनुत्तीर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन् ।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरे ।

उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताए । यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन उनले आग्रह गरे ।

‘हिजो प्रकाशित एसईईको परिणामले हाम्रो अगाडी ठुलो प्रश्नचिन्ह खडा गरेको छ । ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै असफल हुनु हो । शिक्षा प्रणाली नै असफल हुनु हो । र सरकार असफल हुनु हो । म यसरी बुझ्छु । शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँछु ५२ प्रतिशत विद्यार्थीको मनस्थिति कस्तो होला ? मनोविज्ञान कस्तो होला ? शिक्षा मन्त्रालय गम्भीर हुनुपर्छ, यसको बारेमा अध्ययन गर्नुपर्छ यिनीहरु किन अनुत्तिर्ण भए त ? विद्यालयको कमजोरी हो कि ? शिक्षा नीतिको कमजोरी हो कि ? विद्यार्थीहरु आफैको कमजोरी हो कि ? अध्ययन गरेर जरो पत्ता लगाऔँ’ उनले भने ।

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुत्तीर्ण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गरे । उनले शिक्षामा गुणस्तरीयता नभएका कारण यस प्रकारको परिणाम आएको बताए ।

२ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने उनले बताए ।

‘विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ? सरकारका असफलताका कारणले विद्यार्थीहरुलाई अयोग्य ठहराइयो । सरकारले गुणस्तरियता वृद्धि गरेर धेरै विद्यार्थीलाई पास गर्न लाग्नुपथ्र्यो । सरकार त्यतातिर लागेन । सरकारले त्यसरी पास, फेल गर्ने प्रणालीलाई नै अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास हुने व्यवस्था गर्‍यो । यसले शिक्षाको गुणस्तर कायम गर्न सकेन,’ उनले भने, ‘ सरकारले यस वर्ष पास र फेलको प्रणाली विकास गरेको छ । ५२ प्रतिशत भन्दा बढी ग्रेडिङभित्र परेन । ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ? सरकारलाई २ लाख ४२ हजार ३१३ जना मानिस तिमी अयोग्य हौ । तिमी पढेर खान सक्दैनौँ । उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गर्न मिल्छ ? सरकारले नागरिकलाई त्यसरी अयोग्य घोषणा गर्न सक्छ ? शिक्षामा गुणस्तरियता नभएकोले यस्तो भएको हो ।’

बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरु अनुत्तीर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन् ।
उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनि प्रश्न गरिन् ।


क्लिकमान्डु