आर्थिक विधेयकमाथि छलफलः राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड



काठमाडौं । सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सुझाव दिए ।

सांसद जीवन परिवारले आर्थिक विधेयकमा करका दायरा बढाउन भन्दा दर हेरफेरमा मात्रै ध्यान दिइइएकाले राजस्व चुहावटलाई ध्यान दिन आग्रह गरे । सांसद उदयशमशेर जबराले जलविद्युत् आयोजनामा सेयर किनबेच गर्दा राजस्व छली हुने स्थिति भएकाले त्यसलाई रोक्न माग गरे ।

सांसद प्रेम सुवालले मुलुकमा प्रगतिशील कर प्रणाली लागू गरी जनताको घाँटी थिच्ने प्रणाली हटाउन माग गरे । उनले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिक बाटोमा ल्याउने, विदेशमा सम्पत्ति राख्न नपाइने, जलविद्युत् आयोजना विदेशी दिन नहुने, चुरे दोहन गर्न नदिनेजस्ता नीति ल्याएमा मुलुक धनी हुने तर्क राखेका छन् ।

सांसद प्रभु साहले संविधानले दिएको सम्पत्तिको हकलाई कुनै कानुनले खोस्ने अवस्था आउन नहुने बताए । सांसद मनिष झाले मुलुकको आर्थिक स्थिति बलियो नभएको अवस्थामा राजस्वको लक्ष्य निर्धारण गर्दा वास्तविकताका आधारमा गर्न र सङ्कलनका चुनौती सामना गर्ने नीतिमा केन्द्रित हुन सुझाव दिए ।

सांसद बद्रीप्रसाद पाण्डेले आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता र नीतिगत निरन्तरता हुनुपर्नेमा जोड दिए । सांसद श्यामकुमार घिमिरेले नेपालमा विश्वका अन्य मुलुकका तुलनामा धेरै करका दर उच्च भएको मुलुक भएको स्थितिमा लगानी अभिवृद्धि हुन नसक्ने भनाइ राखेका छन् ।

प्रतिनिधिसभाबाट आजै विनियोजन विधेयक, २०८१ पारित भएपछि आर्थिक विधेयकमाथि छलफल सुरु भएको हो ।


क्लिकमान्डु