इजरायलका लागि ८०० केयरगिभर माग, २ लाखभन्दा बढी तलब, यस्तो छ योग्यता



काठमाडौं । इजरायलमा सहायक कामदार (केयरगिभर)का लागि जनशक्ति माग भएको छ ।

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नवैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन माग गरेको हो ।

सूचनामा जनाइए अनुसार २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सकिनेछ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तिमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेकोले आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।

त्यस्तै विगतमा इजरायल गई कार्य नगरेको, बाबु, आमा, पति ,पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको, शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको हुनुपर्ने योग्यता तोकिएको छ ।

८०० जना माग गरिएको भए पनि ५०० जना मुख्य उम्मेदवार हुनेछन् भने ३०० जना वैकल्पिक उम्मेदवार हुनेछन् । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन् । उनीहरुले मासिक इजरायली मुद्रा ८ हजार ८८० सेकेल (दुई लाख १० हजार नेपाली रुपैयाँ बढी)पाउने छन् । इजरायल जाने कामदारको करार अवधि पाँच वर्षको हुनेछ ।


क्लिकमान्डु