धनुषामा मात्रै ८ अर्ब ७७ करोड बजेट लगेको आरोप सत्य होइन: उपप्रधानमन्त्री महासेठ



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ८ अर्ब ७७ करोड बजेट धनुषा जिल्लामा मात्रै लगेको भन्ने अरोप सत्य नभएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन शिर्षकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले सम्पूर्ण मधेस प्रदेशमा ७८२ करोड ५० लाख बजेट विनियोजन गरेको भन्दै २८ निर्वाचन क्षेत्र भएको कोशी प्रदेशमा १ हजार ८४ करोड ४० लाख बजेट गएको बताए । आवधिक योजना, राष्ट्रिय नीति तथा अन्य क्षेत्रगत नीति र योजनाले अंगीकार गरेअनुरुप बजेट आएको पनि उनको भनाइ थियो ।

‘मन्त्रालयले बजेट प्रस्ताव गर्दा राष्ट्रिय योजना आयोगबाट जारी भएको आगामी ३ वर्ष आर्थिक वर्ष २०८१/०८२ देखि ०८३/०८४ सम्मको बजेट तर्जुमाका लागि बजेट सीमा, मध्यकालीन खर्च, संरचनाको खाका तथा बजेट तर्जुमा सम्बन्धी मापदण्ड र ढाँचा २०८०, आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निमयावली, विभिन्न संवैधानिक आयोगबाट प्राप्त सुधारहरु लगायत प्रावधान तथा व्यवस्थाहरुलाई आधार मानेको अवगत गराउँछु,’ मन्त्री महासेठले भने ।

उनले कतिपय पत्रपत्रिकामा आएका खबरका आधारमा सांसदहरुले आफूमाथि आरोप लगाएको भन्दै त्यसप्रति आपत्ति जनाएका थिए । उनले भनेका छन्, ‘एउटा नाम नै नसुनेको पत्रिकाको भरमा, जुन पत्रिकाले सबै बजेट, ८ अर्ब ७७ करोड धनुषामा लग्यो भनेर भनेको छ । त्यही पत्रिकालाई आधार मानेर माननीयज्युहरुले प्रश्न उठाउनु भयो । वास्तवमा त्यो सही होइन । २८ निर्वाचन क्षेत्र भएको कोशी प्रदेशमा १ हजार ८४ करोड ४० लाख बजेट गएको छ । मधेस प्रदेशमा ७८२ करोड ५० लाख बजेट छ ।’

बजेटको विनियोजन हेर्दा क्षेत्रीय सन्तुलनका विषयमा सरकार संवेदनशील रहेको र आवधिक योजना, राष्ट्रिय नीति तथा अन्य क्षेत्रगत नीति र योजनाले अंगीकार गरेअनुरुप बजेट आएको पनि उनले बताएका थिए ।


क्लिकमान्डु