मेयर साम्पाङ र अन्य जनप्रतिनिधिको विवादले धरानको बजेट आएन



काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र अरु जनप्रतिनिधिहरुबीचको विवादका कारण सोमबार नगरसभा बस्न सकेको छैन । सोमबारका लागि नगरसभा तोकिए पनि विवाद बढ्दा नगरसभा बस्न नसकेको हो ।

जसले गर्दा धरानले आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेको छैन । मेयर हर्क साम्पाङले कार्यपालिका बैठकको निर्णयविपरीत जबर्जस्ती निर्णय गर्न खोज्दा नगरसभा बस्न नसकेको अन्य जनप्रतिनिधिहरुले बताएका छन् । मेयर साम्पाङले भने आफ्ना कारणले नगरसभा स्थगित नभएर वडाध्यक्षहरुको कारण स्थगित भएको दाबी गरेका छन् ।

पूर्वतालिका अनुसार सोमबार दिउँसो धरानस्थित सैनिक भवनमा नगरसभा गर्ने भनिएको थियो । तर, अचानक नगरसभा स्थगित हुनुमा मेयर साम्पाङ जिम्मेवार रहेको उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईले बताएका छन् । साम्पाङले कार्यपालिका बैठकको निर्णय विपरीत जबर्जस्ती एक्लै निर्णय गर्न खोज्दा यस्तो अवस्था आएको भट्टराईले बताए ।

धरान उपमहानगरपालिकामा यसअघि पनि पटक पटक मेयर साम्पाङ र अन्य जनप्रतिनिधिहरुबीच विवाद हुँदै आएको छ । बैठकमै कतिपय जनप्रतिनिधि र साम्पाङबीच विवाद भइरहेको देखिँदैआएको छ ।

सोमबार नै काठमाडौंसहित पोखरा, विराटनगर, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिकाले नगरसभाबाट बजेट सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु