नेपाल आइस र मुस्ताङ स्ट्रङ बनाउने सीजी ब्रुअरीले १ वर्षमा गर्‍यो ३ अर्बको व्यापार



काठमाडौं । नेपाल आइस, मुस्ताङ स्ट्रङ जस्ता बियर उत्पादन गर्ने चौधरी ग्रुपको बेभरेज कम्पनी सीजी ब्रुअरीले १ वर्षमा ३ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले आव २०७९/८० मा अघिल्लो आवको तुलनामा एक तिहाइ कम आम्दानी गरेको हो ।

आम्दानीमा गिरावट आउँदा कम्पनी घाटामा पुगेको छ । उधारो व्यापार र उत्पादन लागत वृद्धिले ब्रुअरीले घाटा बेहोर्नु परेको हो ।

आर्थिक वर्ष २०७९/८० मा सीजी ब्रुअरीको सञ्चालन आम्दानी ३ अर्ब ५ करोड रुपैयाँ । जुन आव २०७८/७९ को ४ अर्ब ५४ करोड रुपैयाँको तुलनामा एक तिहाइ कम हो ।

त्यसअघि कम्पनीले निरन्तर आम्दानी बढाइरहेको थियो । सञ्चालन आम्दानीमा गिरावट आउँदा डिप्रिसिएसन र कर तिर्नुभन्दा अघि नै कम्पनी घाटामा पुगेको हो ।सञ्चालन आम्दानीको अनुपातमा कम्पनीको घाटा ३ प्रतिशत छ । अघिल्ला आवहरुमा कम्पनीको नाफा सञ्चालन आम्दानीको २० प्रतिशतसम्म हुने गरेको थियो ।

बढेको उत्पादन लागतलाई उपभोक्तासमक्ष पुर्‍याउन नसक्नुको हबगित कम्पनीले गत आर्थिक वर्षमा घाटा बेहोर्नु परेको हो । यस अवधिमा कच्चा सामाग्री, बोतल, कर्मचारी खर्च र अन्तःशुल्कमा वृद्धि भएपनि प्रतिस्पर्धाका कारण कम्पनीले बियरको मुल्य उल्लेख्य रुपमा बढाउन सकेन ।

साथै कम्पनीको बजार हिस्सा पनि नमज्जाले घटेको छ ।

एक वर्षमा बिक्रीमा २५ प्रतिशतको गिरावट आउँदा आम्दानी ३३ प्रतिशतले घटेको छ । यसैगरी उधारो फिर्ता हुने अवधिमा पनि वृद्धि भएको छ । अर्थात् कम्पनीले बियर बेच्नेवित्तीकै त्यसवापतको रकम पाउँदैन ।

सीजी ब्रुअरीले उत्पादनमा विविधिकरण पनि गर्न सकेको छैन । अझ पनि नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रङ बियरबाट हुने आम्दानीले कम्पनीको आम्दानीको ७६ प्रतिशत हिस्सा ओगट्छ । गत वर्ष यस्तो हिस्सा ८० प्रतिशत थियो ।

बजार बिग्रिदा कम्पनीको रेटिङ पनि खस्किएको छ । कम्पनीले १ अर्ब १० करोड ५ लाख रुपैयाँ बराबरको अल्पकालीन ऋण र १५ करोड ३० लाख रुपैयाँबराबरको दीर्घकालीन ऋणका लागि गराएको रेटिङ इक्राएनपी एफोरप्लसमा झरेको हो । यसअघि उति नै रकम बराबरको ऋणका लागि गराइएको रेटिङ इक्राएनपी एटुप्लस थियो ।


क्लिकमान्डु