प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि मोदीको पद तथा गोपनीयताको शपथमा सहभागी हुन पुगेका दाहालल र मोदीबीच भेटवार्ता भएको हो ।

आइतबार बेलुका भएको भेटमा उनीहरुबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका विषयमा पनि समकक्षी मोदीसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए ।

प्रधानमन्त्रीसँगै कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाल लगायत भारत गएका थिए ।

त्यसअघि भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी विशिष्ट व्यक्तिहरुको सम्मानमा रात्रिभोजको आयोजना गरेकी थिइन् ।

राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गरेकी हुन् ।

रात्रिभोजमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथी उपस्थित थिए ।

रात्रिभोजमा हिजै पद तथा गोपनीयताको सपथ लिएका भारतका संघीय मन्त्री एवं राज्यमन्त्रीहरु, भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रधानमन्त्री दाहालको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासाले सोमबार विहान चियापानको आयोजना गर्ने कार्यक्रम छ । साथै आज विहान ११ बजे प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्ने जनाइएको छ ।

प्रधानमन्त्री दाहाल उक्त सपथ ग्रहण समारोहमा सहभागी हुन हिजो दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कनेछन् ।


क्लिकमान्डु