विज्ञापनमा ३ अर्ब १९ करोड खर्च देखाएर एनसेलले ८० करोड कर छली गर्‍यो, अनुसन्धान सुरु



काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले बजार प्रवर्धन तथा ग्राहक बढाउने नाममा गरेको खर्च (विज्ञापन)मा समेत कर छलि गरेको पाइएको छ ।

एउटै प्रकृतिको खर्चलाई विभिन्न शीर्षकमा राखेर धेरै खर्च देखाएको पाइएपछि महालेखापरीक्षकले प्रश्न उठाएको छ ।

२ वर्षमै बजारीकरणको नाममा एनसेलले गरेको खर्चमध्ये ३ अर्ब १९ करोड दोहोरो देखिएपछि महालेखापरीक्षकले ७९ करोड ९१ लाख रुपैयाँ कर छलि गरेको प्रतिवेदनमा औंल्याएको हो ।

दुई आर्थिक वर्षको फाइल अध्ययनबाट अस्वभाविक खर्च दावी देखिएपछि ठूला करदाता कार्यालयले अनुसन्धान अघि बढाएको छ।

‘अस्वाभाविक खर्च दावी गरेको देखिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं,’ ठूला करदाता कार्यालयका एक अधिकारीले क्लिकमान्डुसँग भने- ‘एउटै कामका लागि ४ ठाउँमा खर्च देखाउँदा कम आयकर तिर्नुपर्ने भएकाले एनसेलले कर छल्नकै लागि यस्तो बदमासी गरेको सहजै विश्लेषण गर्न सकिन्छ ।’

कानूनी लुपहोल खोजेर कर छलि गर्न एनसेल माहिर रहेको उसका विगतका कर विवादले पनि देखाउने ती अधिकारीले बताए ।

‘बहुराष्ट्रिय कम्पनीले नेपालमा देखाएको व्यवहार राम्रो छैन, यसले बहुराष्ट्रिय कम्पनीप्रतिको नेपालीको धारणामै असर गर्ने देखिएको छ,’ उनले भने ।

एकै प्रकृतिको खर्च भिन्न–भिन्न शीर्षकमा दोहोरो हुने गरी आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा बजारीकरण खर्चमा गरिएको ३ अर्ब १९ करोड ६६ लाख ४० हजार अमान्य गरी छलि भएको ७९ करोड ९१ लाख रुपैयाँ आयकर र त्यसमा लाग्ने ब्याजसमेत असूल गर्नुपर्ने महालेखापरीक्षकको ६१औं प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, एनसेलले ग्राहकलाई दिएको छुटको पनि खर्च दाबी गरेको छ। कुनै पनि प्याकेजलाई १०० रुपैयाँको कायम गर्ने र त्यसलाई ७ सयमा बिक्री गर्दा ३ सय रुपैयाँ खर्च दाबी गरी कर छलि गरेको हो ।

एनसेलले बैंकबाट लिएको ऋण पनि अपचलन गरेको छ ।

टेलिया सोनेराबाट अजियाटाले खरिद गर्दाको पुँजीगत लाभकरको विवादसँगै अन्य करसहितका विवादै विवादमा परेको एनसेलले बैंकबाट लिएको ऋण अपचलन गरेर पनि करछली गरेको पाइएकाे छ ।

एनसेलले व्यवसाय विस्तार गने शीर्षकमा नेपालका बैंकबाट लिएको ऋण अजियाटाको दायित्वमा रहेको लाभकरको दायित्व भुक्तानी प्रयोग गरेको हो। बैंकबाट दिएको ऋण खर्च देखाएर आय घटाएर कर छली गरेको भन्दै त्यसलाई अस्वीकार गरी नयाँ कर निर्धारण गर्न महालेखा परीक्षकले सरकारलाई निर्देशन दिएको छ। एनसेलले विदेशी ऋणलाई दुरुपयोग गरेर ५ अर्ब ३४ करोड रुपैयाँ करकट्टी गरेको महालेखाले औल्याएको छ ।

महालेखाको प्रतिवेदनले भनेको छ, ‘ठूला करदाता कार्यालय अन्तर्गतको एक दूरसञ्चार कम्पनीले आय वर्ष २०७८/७९ मा लिएको ऋण रकम व्यवसायको आय आर्जनमा प्रयोग भएको नभई विदेशी नियन्त्रित निकायले तिर्नुपर्ने पुँजीगत लाभकर लगायत नियमित किसिमका दायित्वहरू भुक्तानीमा प्रयोग भएको देखिएको छ । यस्तो रकमबाट दुई वर्षको ५ अर्ब ३४ करोड ४८ लाख ८१ हजार रुपैयाँ खर्च कट्टी अमान्य गर्नुपर्ने र यो रकममा २५ प्रतिशतले हुने कर १ अर्ब ३३ करोड ६२ लाख २० हजार रुपैयाँ र यही रकममा लाग्ने ब्याज तथा शुल्क समेत छानबिन गरी थप कर निर्धारण गर्नुपर्छ ।’

एनसेल ब्राण्डमा दूरसञ्चार सेवा दिएको एनसेल आजियटा लिमिटेडले नेपालमा रेनोल्ड होल्डिङका नाममा ८ करोड रुपैयाँ लगानी गरेको छ । यस्तो लगानीबाट एनसेलले पछिल्लो दुई दशकमा नेपालबाट करिब ६७ अर्ब रुपैयाँ लाभांशसमेत फिर्ता लगिसकेको छ ।

एनसेलले पछिल्लो समय नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति नलिइ ८० प्रतिशत शेयर स्वामित्व शतिसलाल आचार्यलाई बिक्री गरेको सम्बन्धमा विवाद भएको हो ।

आजियटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट यूकेबीच सन् २०२३ को डिसेम्बरमा भएको एनसेल आजियाटाको सेयर खरिद बिक्री सम्झौतामा उल्लेखित कारोबार समान व्यवसायिक व्यवहारको सिद्धान्तमा आधारित नभएको सरकारी छानविन समितिले नै औल्याएको छ ।

२०८० माघ १५ मा सरकारलाई बुझाएको एनसेलको सेयरको खरिदबिक्री अध्ययन तथा छानविन समितिको प्रतिवेदनले एनसेलको पछिल्लो समयको खरिद विक्री स्वीकार नगर्न गरेको सिफारिस अनुसार नै गत फागुन ६ मा सरकारले निर्णय गरिसकेको छ । सरकारको निर्णयबाट एनसेलको शेयर खरिद बिक्री सम्झौता अस्वीकार भएको छ ।


क्लिकमान्डु