साढे १० अर्ब ठगेर फरार महर्जन र कांग्रेस नेताको सचिवालयका जोशीको सहकारीको फाइल सीआईबी पुग्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाले कालिमाटीमा रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्था र स्क्वायर बचत तथा ऋण सहकारीको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाएको छ ।

दुवै सहकारीको कारोबार शंकास्पद देखिएको भन्दै महानगरको सहकारी विभागले थप अनुसन्धानका लागि ब्यूरोमा पठाएको जनाएको छ । सुमेरु बचत तथा ऋण सहकारी भरत महर्जनको संस्था हो । उनी माओवादी निकट सहकारीकर्मी तथा उद्यमी हुन् ।

यता महानगरपालिकाले स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको फाइल पनि ब्यूरोमा पठाएको छ । उक्त सहकारीका प्रमुख बासुमान जोशी हुन् । उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको सचिवालयमा आबद्द छन् ।

महामनगरले अनुगमन गर्दा कर्जा लगानी गरेको कुनै पनि प्रमाण फेला नपरेको पाइएको छ । यी सहकारीहरुमा कुनै कागजात फेला नपरेको जनाइएको छ । यी सहकारीले कर्जा लगानी गरेको कागजात भेटिएनको छैन् । कारोबार निकै शंकास्पद देखिएको छ । त्यसैले थप अनुसन्धानका लागि सीआईबीमा पठाएको बताइएको छ ।

जोशी अहिले फरार रहेका छन् । महर्जन लामो समयदेखि बेलायतमा लुकेर बसेका छन् । दुवै सहकारीको फाइल जेठ १४ गते सीआईबीमा पठाएको महानगरले जनाएको छ । ललितपुरको पुल्चोक र कालीमाटीमा रहेको सुमेरु सहकारी फरक-फरक भएपछि विभागले अनुगमन गरेको छ ।

अनुगमनको क्रममा दुवै सहकारी एउटै समूहबाट चलाउने गरेको पाइएको छ । दुवै सहकारी भरत महर्जनले सञ्चालन गरेका हुन् । महर्जनले सुमेरु सहकारीबाट करिब ३५ हजार बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगेर फरार रहेका छन् । सरकारले बनाएको संसदीय छानविन समितिको सूचीमा यो सहकारी पनि रहेको छ ।

महर्जनले कालिमाटीमा रहेको सुमेरुको पैसा पनि पुल्चोकमा नै लैजाने त्यही बाट परिचालन गर्ने गरेको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बागमती प्रदेश कार्यक्षेत्र भएको संस्था हो भने कालीमाटीमा रहेको सहकारी काठमाडौं महानगरपालिका कार्यक्षेत्र भएको सहकारी हो ।

पुल्चोकमा रहेको सहकारीको शाखा भक्तपुरको गठ्ठाघर र ललितपुरको धापाखेलमा रहेको छ । सहकारीले बचतकर्ता ठग्ने मनसायका साथ कालीमाटीमा रहेको संस्थालाई पनि पुल्चोकको शाखाको रुपमा देखाउने गरेको थियो । यी सबै सहकारीमा संस्थाका पूर्वअध्यक्ष भरत महर्जनले आफन्तलाई सञ्चालक तथा प्रबन्धक बनाएका छन् । काठमाडौं महानगरापलिकाले गरेको अनुगमनको क्रममा पनि त्यस्तै देखिएको छ ।

अहिले उक्त सहकारीको सञ्चालकमा स्वच्छन्दा मानन्धर रहेकी छिन् । उनी भरत महर्जनकी आफन्त हुन् । मानन्धर यसअघि सहकारीको गठ्ठाघर शाखामा प्रबन्धक रहेकी थिइन् । साथै उनी पुल्चोकमा रहेको सहकारीको सञ्चालक भएको अनुगमनले पुष्टि गरेको छ ।

विभागले अनुगमन गर्न जाँदा खोजेको आवश्यक कागजात भेटाउन सकेन ।

करिब ३ अर्ब बचत संकलन गरेको सहकारीले ऋण परिचालन करिब ९ करोड गरेको छ । बाँकी सबै पैसा भरत महर्जनले पुल्चोकको सहकारीमा लगेर चलाएको अनुसन्धानले देखाएको छ । महर्जनले पनि उक्त रकम पुल्चोकमा गएको स्वीकारेकी छिन् ।

कालीमाटीबाट करिब १ अर्ब ७४ करोड रुपैयाँ पुल्चोकमा गएको देखिए पनि पुल्चोकमा भने ३० करोड रुपैयाँ मात्रै गएको देखिएको छ । १ अर्ब ४४ करोड रुपैयाँ महर्जन आफ्ना विभिन्न १७ वटा कम्पनीमा लगानी गरेका छन् ।

महर्जनको नाममा विभिन्न १७ वटा निजी स्वामित्वका कम्पनी रहेका छन् । ति कम्पनीमा महर्जनकी श्रीमती, छोरा, छोरी, भतिज, भान्जा, आफन्त रहेका छन् ।

चार ठाँउको सहकारीका सञ्चालक, अध्यक्ष, प्रबन्धक र महर्जनको विभिन्न १७ वटा कम्पनीको सञ्चालक रहेका छन् । सबै आफन्त मात्रै सहकारीमा हुँदा उनलाई बचतकर्ताको पैसा मनलाग्दी रुपमा १७ कम्पनीमा लगानी गर्न सजिलो भएको छ ।

महर्जनले बचतकर्ताको पैसाबाट सुमेरु मेडिकल कलेज, शंकरापुर एकेडेमी, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, टौदहमा सुमेरु रिसोर्ट, धापाखेलमा इन्द्रेणी रेष्टुरेन्ट, कृषि फार्म, सुमेरु हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स लगायत कम्पनी खोलेर लगानी गरेका छन् । उनले बचतकर्ताको पैसा लगानी गरेर १६ अर्ब भन्दा बढीको सम्पत्ति जोडेका छन् ।

महर्जन २०७९ सालदेखि बेलायतमा लुकेर बसेका छन् । दुवै सहकारीका विषयमा अहिले थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।


क्लिकमान्डु