बाल मन्दिर, टीकापुर गिरीबन्धुको फाइल खोल्छौं: रास्वपा सांसद झा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाल मन्दिर, टीकापुर, गिरीबन्धु टी इस्टेट, टेरामक्स आदि प्रकरणको फाइल खोल्न चाहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले संसदीय छानबिन समिति बनाउन हुन्न भन्नेमा आफ्नो पार्टी नरहेको बताए ।

२०५४ सालदेखि अहिलेसम्म १५ वटा समिति बनेको र ती सबै समितिमा व्यक्ति किटान नगरिएको भन्दै उनले रास्वपा सभापति रवि लामिछानेको नाम किन उल्लेख गर्नुपर्ने भनेर चासो रहेको बताए ।

आफ्ना दलका नेताको संलग्नताको अभियोगमा आवाज उठ्दै गर्दा आफूहरुले पनि पुराना कतिपय फाइल खोज्न चाहेको बताए ।

‘हाम्रो केही सरोकार पनि छन् । हामी संलग्न कुनै अभियोगहरूमा यति आवाज उठाउँदै गर्दा मेरा पनि केही आवाजहरू छन्,’ उनले भने, ‘बाल मन्दिरको जग्गा, बाँसबारीको जग्गा, टीकापुरको जग्गा, गिरिबन्धु, टेरामक्सको फाइल खोल्न चाहन्छौं,’ उनले भने ।

विगतमा यी प्रकरणको फाइल नै नबनेकाले खोल्न नसकेको उनको भनाइ छ ।

केही पुराना दलहरुले आफूहरुलाई देश बिगारेउ भनेर पन्छिन खोजेको उनले आरोप लगाए ।

आफूहरु राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको भन्दै आफूहरुले राम्रो काम गर्ने प्रयास गरिरहेको बताए ।

आफूहरु केही विकल्प नभएर राजनीतिमा आएको व्यक्तिहरु नभएको उनले बताए ।

आफूहरुको विगत कमजोर नभएको भन्दै उनले धेरै आधारहरु आफूहरुसँग रहेको बताए ।

‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला । हामी प्रयासहरु गर्दैछौँ । हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरु पनि होइनौँ । हाम्रो विगत कमजोर पनि थिएन । हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटी टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन । हामीसँग अरु धेरै आधार छ । केही गर्न आएकै छौँ । केही गर्ने प्रयास गरिरहेका छौँ । सदन खुलेको छ खुशीको कुरा । यति दिन बन्द हुँदै गर्दा चुरे दोहनको कारणले गर्दाखेरी मधेसको पानीको सतह तल गइसकेर मान्छेहरु मध्यरातमा उठेर पानी तान्छन् र चलाउँछन् किनकी दिउँसो पानी आउँदैन । यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो ? डढेलो लाग्दा हामी बोल्न चाहान्थ्यौँ । आज आएर सबै सरोकार सबै चिन्ता देखाउँदै हुनुहुन्छ ?’ झाले भने ।


क्लिकमान्डु