अमेरिकाले प्रतिबन्ध लगाएपछि चिप उद्योगमा चीनको अहिलेसम्मकै ठूलो लगानी
एजेन्सी । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले ठूलो लगानी गरी प्रविधिमा प्रभुत्व जमाउने योजनालाई बढावा दिएको छ । यसका लागि चीन सरकारले अहिलेसम्मकै ठूलो कोष स्थापना गर्दै प्रविधिमा प्रभुत्व जमाउने आफ्नो योजनालाई तीब्र बनाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले अहिलेसम्मकै ठूलो ४७ अर्ब ५० करोड अमेरिकी डलरको अर्धचालक राज्य लगानी कोष स्थापना गरेको छ ।
२०१४ देखि नै सुरु गरेको एकीकृत सर्किट उद्योगको श्रृंखलाबद्ध लगानीको क्रममा चीनको यो तेस्रो चरणको कोष हो । जुन यसअघि दुई पटक भएका एकमुस्ट लगानीको भन्दा पनि दोब्बर छ ।
अमेरिकाले चिप्स तथा चिप प्रविधिको निर्यातमा कडा प्रतिबन्ध लगाएपछि चीनले यस्तो कोष स्थापना गरेको बताइएको छ । चीनलाई दबाब दिने उद्देश्यले अमेरिकाले चिप निर्यातमा प्रतिबन्ध लगाएपछि चीनले आईसीबीसी र चाइना कन्स्ट्रक्सन बैंक लगायत देशका ६ वटा ठूला सरकारी स्वामित्वका बैंकहरुको लगानीसहित नयाँ कोष स्थापना गरेको हो । चीनको यो प्रयासलाई प्रविधिको क्षेत्रमा चीनलाई महाशक्ति बनाउने चिनियाँ राष्ट्रपति सी चिनफिङको योजनासँग जोडेर हेरिएको छ ।
मेड इन चाइना २०२५ रोडम्यापलाई जोड दिँदै आएको चीनले यस अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स (एआई), फाइभ-जी वायरलेस र क्वान्टम कम्प्युटिङ जस्ता क्षेत्रमा उद्योग स्थापना सञ्चालन गर्ने महत्वाकांक्षी योजना राखेको छ ।
राष्ट्रिय उद्यम क्रेडिट सूचना प्रचार प्रणालीका अनुसार ठूलो लगानीको रुपमा चिनिएको नयाँ कोष यही शुक्रबार बेइजिङमा स्थापना गरिएको हो । कोष स्थापनासँगै प्रमुख चिप निर्माताहरुको सेयरमा उछाल आएको पनि बताइएको छ ।
विश्वकै तेस्रो ठूलो कन्ट्र्याक्ट चिप निर्माता कम्पनी सेमिकन्डक्टर म्यानिफेक्चरिङ इन्टरनेसनल कर्पोरेसन (एसएमआईसी) को सेयर सोमबारदेखि ७ प्रतिशतले वृद्धि भएको छ ।
चीनले कोषको पहिलो चरणको लगानी २०१४ मा १९ अर्ब २० करोड अमेरिकी डलरको लगानी गरेको थियो । यस्तै दोस्रो चरणको कोष त्यसको पाँच वर्षपछि २८ अर्ब २० करोड अमेरिकी डलरको कोष स्थापना गरिएको थियो ।
पछिल्लो पटक उसले दोब्बर लगानीको नयाँ कोष स्थापना गरेको हो । यससँगै चीनले २०३० सम्ममा सेमिकन्डक्टर उद्योगलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याएर विशेषगरी चिप निर्माण, डिजाइन, उपकरण र सामग्रीमा लगानी गर्ने उद्देश्य राखेको छ ।