बैंकिङ संकट र कसान्ड्रा सिन्ड्रम: राज्यले निजी क्षेत्रतर्फको कर्जा जोखिम किन लिनुहुँदैन ?



पृष्ठभूमि
संस्था र व्यक्तिबीच एउटा महत्वपूर्ण भिन्नता हुन्छ । कुनै एउटा व्यक्तिले सम्भावित लाभको लागि अधिक जोखिम लिनसक्छ । उक्त जोखिमको फल सोचेअनुरूप प्राप्त हुन गए उक्त व्यक्ति र निजको परिवारको कायापलट हुनसक्ला । साथै, घटनाक्रमहरू सोचेभन्दा विपरीत हुन गए सोही व्यक्ति र निजको परिवारले ठूलो हानि खेप्नुपर्ला । आफू तथा आफ्नो परिवारको लागि कति जोखिम लिने भन्ने निर्णय नितान्त व्यक्तिगत हुन्छ ।

तर, संस्थाहरूको हकमा यस्तो हुँदैन । बैंक, पब्लिक कम्पनी, सार्वजनिक संस्थान, सरकारी निकाय र अन्य विभिन्न प्रकारका सरोकारवाला संस्थाहरू यसका उदाहरण हुन् । यी सबै संस्थाको लागि स्वीकार्य हुनसक्ने अस्तित्वसँग तालुख राख्ने प्रकारको जोखिमको मात्रा कुनै एउटा व्यक्तिको भन्दा निश्चय नै कम हुन्छ । साथै, यी संस्थाहरूमध्ये पनि स्वीकार्य जोखिमको मात्रा फरकफरक हुने अनुमान गर्न सकिन्छ । जस्तो कि, कुनै एउटा पब्लिक कम्पनीभन्दा समग्र राष्ट्रका लागि स्वीकार्य जोखिमको मात्रा पक्कै पनि निकै कम हुनुपर्दछ ।

जहाजमा सवार भई समुद्रपार गर्ने कार्य कुनै व्यक्तिको लागि सामान्य नै हुनसक्छ तर समग्र राष्ट्र वा कुनै समुदायजस्तो बृहत् संस्थाले यस प्रकारको जोखिम लिनुहुँदैन किनकि दुर्घटनाको जोखिम ०.०००००१ प्रतिशत मात्र छ भने पनि १० लाख पटकको सवारीमा एक पटक दुर्घटना हुने जोखिम रहन्छ नै जुन कुनै व्यक्तिको लागि सामान्य, नगन्य र पन्छाउन व्यावहारिक नहुने प्रकारको भए तापनि राष्ट्र जत्तिको बृहत् संस्थाको लागि पक्कै पनि अस्वीकार्य हुनुपर्दछ ।

देशको कुनै निश्चित व्यक्ति वा परिवार सधैं नरहन सक्छन् – कालान्तरमा हिजोका रैतीले आज राजपाट सह्माल्न सक्छन् अनि आजको शासक वर्गको भोलि अस्तित्व नै नरहन सक्छ । तर समुदाय र राष्ट्र जस्ता बृहत् संस्थाको पनि यस्तै नियति हुनु भनेको सामान्य कुरा नभई दुखद घटना हो ।

त्यसैले संस्थाले निर्णय गर्दा धेरै जिम्मेवार हुनुपर्दछ । यिनको सोच आजभोलिमा मात्र सीमित हुनुहुँदैन । यिनको आयाम दूरगामी हुनुपर्दछ । यिनले आफ्नो अस्तित्व नै समाप्त हुन सक्ने प्रकारको कुनै पनि जोखिम लिनुहुँदैन र यिनमा आन्तरिक नियन्त्रणका लागि दुरुस्त संयन्त्र रहेको हुनुपर्दछ ।

न् १९२९ मा अमेरिकी पुँजीबजार एवम् बैंकिङ क्षेत्रमा देखापरेको संकटले इतिहासकै भीमकाय विश्वव्यापी चरम मन्दीको रूप लिन पुग्यो । यस महामन्दीको प्रमुख कारण नै फेडरल रिजर्भको संकुचनमुखी मौद्रिक नीति रहेको कुरा नोबेल पुरस्कार विजेता मिल्टन फ्रिडम्यान, बेन बर्नान्कीलगायतका अर्थशास्त्रीले औंल्याएका छन्

छोटकरीमा भन्नुपर्दा अस्तित्व रक्षाको मामलामा संस्थाहरू व्यक्तिभन्दा निकै बढी कन्जरभेटिभ हुनुपर्दछ । उपर्युक्त पृष्ठभूमिमा यो लेखको उद्देश्य अन्तर्राष्ट्रिय बैंकिङ संकटको बारम्बार दोहोरिरहने प्रवृत्तिलाई उजागर गर्दै राज्यजस्ता अति महत्वपूर्ण संस्थाले निजी क्षेत्रतर्फको कर्जा जोखिम कदापि लिनुहुँदैन भन्ने विचार पेस गर्नु हो ।

अन्तर्राष्ट्रिय बैंकिङ संकटको सङ्क्षिप्त इतिहास
जन् केनेथ ग्याल्ब्रेथ सर्वोत्कृष्ट अमेरिकी अर्थशास्त्रीमध्ये एक हुन् ।

उच्चकोटीका प्राज्ञ (हार्वडका एमरेटस् प्राध्यापक), नवीन विचारक, प्रखर लेखक र अमेरिकी बौद्धिक समाजमा खुला बजार खेमाको साथै समाजवादी खेमाले समेत इज्जत गर्ने कमै बुद्धिजिवीमध्ये एक हुन्, ग्याल्ब्रेथ ।

आफ्नो उत्कृष्ट कृति ‘ए सर्ट हिस्ट्री अफ फाइनान्सियल युफोरिया’मा ग्याल्ब्रेथले बैंकिङ संकटलाई ‘अमेरिकी प्रचलन’ को सङ्ज्ञा दिएका छन् ।

अमेरिकी बैंकिङ संकटको इतिहासलाई केलाउने हो भने यो कुनै अत्युक्ति होइन । उदाहरणका लागि सन् १९१३ मा फेडरल रिजर्भ (अमेरिकाको केन्द्रीय बैंक) को स्थापनाको प्रमुख कारण नै अमेरिकामा बारम्बार दोहोरिरहने बैंकिङ संकट (जसलाई तत्समय बैंकिङ प्यानिक भनिन्थ्यो) लाई रोक्नु रहेको थियो । तर यस अपेक्षाको ठीक विपरीत सन् १९२९ मा अमेरिकी पुँजीबजार एवम् बैंकिङ क्षेत्रमा देखापरेको संकटले इतिहासकै भीमकाय विश्वव्यापी चरम मन्दीको रूप लिन पुग्यो । यस महामन्दीको प्रमुख कारण नै फेडरल रिजर्भको संकुचनमुखी मौद्रिक नीति रहेको कुरा नोबेल पुरस्कार विजेता मिल्टन फ्रिडम्यान, बेन बर्नान्कीलगायतका अर्थशास्त्रीले औंल्याएका छन् ।

बैंकिङ संकट रोक्न फेडरल रिजर्भ मात्र पर्याप्त नदेखिएको हुनाले अमेरिकामा सन् १९३३ मा फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन् (एफडीआइसी) को स्थापना भयो । तत्पश्चात् बैंकिङ संकटको क्रम केही कम भए तापनि आशाअनुरूप उन्मुलन भने भएन ।

एफडीआइसी को स्थापनापश्चात् समेत उत्पन्न हुन गएका प्रमुख बैंकिङ संकटमध्ये सन् १९८० को दशकमा देखापरेका दुई भीमकाय बैंकिङ संकटहरू – सेभिङ्स एन्ड लोन क्राइसिस् र ल्याटिन अमेरिकी ऋण संकट मुख्य हुन् ।

तत्पश्चात् सन् १९८७ मा हुन गएको अमेरिकी पुँजीबजार दुर्घटना, सन् १९९८ मा रसियन रुबल संकटसँगै हुन गएको विशाल अमेरिकी हेज् फण्ड लङ टर्म क्यापिटल म्यानेजमेन्टको विफलता र यी दुई घटनाबाट अमेरिकालगायत विश्वका अन्य ठूला निजी बैंकमा उत्पन्न हुन गएको संकट – यी पनि वित्तीय क्षेत्रका सरोकारवालामाझ परिचित नै हुनुपर्दछ ।

तर यी घटनाक्रम पनि आजका बैंकर र ट्रेडरका लागि अपरिचित एवम् नौलो रहेका छन् अथवा २१ औं शताब्दीको परिप्रेक्ष्यमा असान्दर्भिक देखिन्छन् भने यो फेरि नौलो कुरा भने होइन ।

ग्याल्ब्रेथको वित्तीय संकटको सिद्धान्तले यो प्रवृत्तिलाई उजागर मात्र गर्दैन, वित्तीय क्षेत्रको प्रत्येक नयाँ पुस्ताको यही अज्ञानी प्रवृत्तिलाई वित्तीय संकटको प्रमुख कारणको रूपमा औंल्याउँछ पनि ।

आजको बैंकर अथवा ट्रेडर जतिसुकै अल्प स्मरणशक्तिको भए तापनि सायद सन् २००७ को विश्वव्यापी वित्तीय संकटलाई भने उसले नभुलेको हुनुपर्दछ । पछिल्लो समयको प्रमुख बैंकिङ संकट पनि यही नै हो । यद्यपि तत्पश्चात् समेत यदाकदा संकटहरू देखापरिरहेका छन् । जस्तो कि, हालसालै (सन् २०२३ मार्चमा) मात्र हुन गएको तीन वटा मध्यमस्तरीय अमेरिकी बैंकहरू – सिलिकन भ्याली, सिग्नेचर र फर्स्ट रिपब्लिकको विफलता । तर म फर्किन चाहन्छु यसभन्दा धेरै पहिलेतर्फ । प्रादुर्भाव नै त होइन तर सान्दर्भिक भूत कालतर्फ ।

फेडरल रिजर्भ हिस्ट्रीअनुसार सन् १७९१ मा अमेरिकामा स्थापना भयो पहिलो अमेरिकी केन्द्रीय बैंक । जसको नाम थियो ‘फर्स्ट बैंक अफ द युनाइटेड स्टेट्स्’ । २० वर्षको चार्टर अवधि रहेको उक्त केन्द्रीय बैंकको उद्देश्य राजस्व संकलनलगायत सरकारी कारोबार सञ्चालन गर्नु, सर्वसाधारणको निक्षेप र कर्जा परिचालन गर्नुसमेत थियो ।

फर्स्ट बैंकले पर्याप्त सुरक्षणविना कागजीय मुद्रा जारी गर्ने अन्य अमेरिकी बैंकको मुद्रा स्वीकार गर्दैनथ्यो र यसरी तत्समयको सर्वाधिक ठूलो अमेरिकी बैंक समेतरहेको उक्त बैंकले अमेरिकी बैंकिङ क्षेत्रमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । तर सन् १८११ मा निजी अमेरिकी बैंकहरूको तीव्र दवाबमा उक्त बैंकको चार्टरलाई नवीकरण गरिएन र अमेरिकाको पहिलो केन्द्रीय बैंक खारेज नै भएर गयो ।

ग्याल्ब्रेथले फर्स्ट बैंकको खारेजीलाई तत्पश्चात् अमेरिकी घरजग्गा क्षेत्रमा हुन गएको तीव्र मूल्यवृद्धिसँग जोडेका छन् । यसपछि दोस्रो अमेरिकी केन्द्रीय बैंकको रूपमा सेकेण्ड बैंक अफ द युनाइटेड स्टेट्स्को स्थापना सन् १८१६ मा हुन गयो । तर घरजग्गा खरिदका लागि अचाक्ली खराब कर्जा प्रवाह भइसकेको हुनाले सेकेण्ड बैंकले घरजग्गा क्षेत्र एवम् यस क्षेत्रमा अधिक जोखिम लिएका बैंकहरूको बर्बादी (सन् १८१९) लाई रोक्न सकेन । फलस्वरूप सन् १८१९ मा यो बैंकको चार्टरलाई पनि निजी बैंकहरूको दबाबमा खारेज गरियो ।

ग्यालब्रेथले लेखेका छन्, यसपछि सुरु भयो अमेरिकी बैंकिङ क्षेत्रमा बारम्बार दोहोरिरहने बैंक डुब्ने शृङ्खला जसलाई तत्समय बैंक प्यानिक भनिन्थ्यो । अमेरिकी बैंक प्यानिकमध्ये चार घटनाक्रमहरू तुलनात्मक हिसाबले ठूला रहेका छन् – सन् १८३७, सन् १८५७, सन् १८७३ र सन् १९०७ को बैंक प्यानिकहरू ।

सन् १८३७ को बैंक प्यानिकलाई मलजल प्रदान गर्नको लागि विदेशी पुँजी (विशेष गरी बेलायती बैंकहरूबाट ओइरिएको ऋण) तथा विनासुरक्षण अमेरिकी बैंकहरूले ठूलो मात्रामा जारी गरेको कागजी मुद्राले प्रमुख भूमिका खेलेको कथन ग्यालब्रेथले उल्लेख गरेका छन् । साथै, उक्त पुँजी (आधुनिक भाषामा ‘हट् मनी फ्लोज्’) को लगानी अमेरिकी घरजग्गाको अतिरिक्त उद्योग तथा पूर्वाधार (टोल रोड, सिँचाइ आदि) मा समेत रहेको थियो ।

वास्तविक क्षेत्रको अति उत्साह (आधुनिक भाषामा इर्‍यासनल एक्जुवरेन्स्) र गैरजिम्मेवार ऋण लगानीको मिश्रणबाट उत्पन्न भएको उक्त बैंकिङ संकटमा सयौं अमेरिकी बैंकहरू डुबेको र स्टेट–चार्टरअन्तर्गतका अमेरिकी बैंकहरूको सम्पत्तिमा ४५ प्रतिशतले ह्रास आएको तथ्यांक देखिन्छन् ।

तर सन् १८३७ को संकटको सम्झना धेरै समयसम्म ररिरहन सकेन अनि सन् १८५७ मा अमेरिकाले अर्को बैंक प्यानिक देख्यो । कारण फेरि उही – वास्तविक क्षेत्रको इर्‍यासनल एक्जुवरेन्स् र गैरजिम्मेवार ऋण लगानी अर्थात् एक शब्दमा भन्नुपर्दा लिभरेज । यस संकटको प्रवृति ग्याल्ब्रेथले उल्लेख गरेको एउटा डुब्न पुगेको अमेरिकी बैंकको मुद्दाले उजागर गर्दछ । सन् १८५७ को बैंक प्यानिकमा दिवाला निस्केको न्यू इङ्ल्याण्डको एउटा अमेरिकी बैंकसँग कङ्गालीको बखत पाँच लाख डलरको मौद्रिक दायित्व र यसको सुरक्षणस्वरूप ८६ डलर साथमा रहेको थियो ।

फेरि केही वर्ष सन् १८५७ को प्यानिक सरोकारवालाहरूको मानसपटलमा ताजै रह्यो र फलस्वरूपः वित्तीय क्षेत्रका ‘विज्ञहरू’ को दम्भ अनि बैंकिङ क्षेत्रको कामकारबाही पनि बाञ्छनीय सीमाभित्रै रहे । तर सदाझैँ फेरि वित्तीय क्षेत्रको समृति धमिल्यो, नयाँ पुस्ताले फेरि बैंकिङ संकटको इतिहासलाई सान्दर्भिक ठानेन अनि आगमन भयो सन् १८७३ को बैंक प्यानिकको ।

सन् १८७३ को संकटको कारण (सदाझैं) केही फरक थियो । ग्याल्ब्रेथ लेख्छन् कि त्यस पटक इर्‍यासनल एक्जुवरेन्स् देखियो रेलमार्ग निर्माण गर्ने नयाँ क्षेत्रमा । यसको साथै सदाझैं घरजग्गाको क्षेत्रमा पनि सट्टेबाजी भयो नै । फेडरल रिजर्भ हिस्ट्रीमा उल्लेख गरिएअनुसार उक्त समय डुबेका १०० भन्दा बढी बैंकमध्ये तत्समयको ठूलो अमेरिकी बैंक ‘जे कुक एन्ड कम्पनी’ पनि एक थियो ।

फलस्वरूप न्यूयोर्क स्ट्क एक्सचेञ्ज इतिहासमै पहिलो पटक कारोबारका लागि बन्द भयो र यो सिलसिला १० दिनसम्म चल्यो ।

अप्सन ट्रेडिङमा २० वर्षभन्दा अधिक एवम् सफल करियरलाई विश्राम दिई प्राज्ञिक क्षेत्रमा समेत उल्लेखनीय ख्याति कमाएका प्रोफेसर नसिम निकलस् तालेबले ट्रेडर एवम् लगानी व्यवस्थापकको सफलतालाई मापन गर्ने एउटा विचारणीय मापदण्ड प्रस्ताव गरेका छन् । तालिब भन्छन् कि वास्तवमै सफल ट्रेडर एवम् लगानी व्यवस्थापक त्यही हो जो दीर्घ कालसम्म खेलमै रहन्छ अर्थात् जो आफ्नो कार्यकालभर अस्तित्व नै नाश हुने प्रकारको जोखिमबाट जोगिन (र आफू कार्यरत रहेको संस्थालाई जोगाउन) सफल रहन्छ ।

ग्याल्ब्रेथले प्रस्ताव गरेको प्रमुख मुद्दा पनि यही हो । वित्तीय संकटको चक्रलाई नियाल्दा यसको प्रत्येक शृङ्खलामा देखापर्ने पात्रहरू फरक भए तापनि प्रवृत्ति र मानसिकताको हिसाबले एकै प्रकारका हुन्छन् अर्थात् अल्पकालीन सफलताले दिग्भ्रमित, दम्भी, इतिहासको उपेक्षा गर्न उद्दत र फलस्वरूप वित्तीय क्षेत्रमा केही समयका मात्र पाहुना ।

सन् १८७३ पछि अमेरिकामा अर्को संकट आयो सन् १९०७ मा । फेडरल रिजर्भ हिस्ट्रीअनुसार यो संकट र सन् २००७ को ग्लोबल फाइनान्सियल क्राइसिसबीच धेरै समानता रहेका छन् । जस्तो कि, सन् २००७ को वित्तीय संकट हेज् फण्ड जस्ता स्याडो बैंकहरूबाट सुरु भए जस्तै सन् १९०७ को बैंकिङ संकटको मुख्य स्रोत रहेको थियो तत्समयको स्याडो बैंकिङ क्षेत्र अर्थात् ट्रस्ट कम्पनीहरू ।

ट्रस्ट कम्पनीहरू निक्षेप स्वीकार गर्ने र ऋण पनि प्रवाह गर्ने एक प्रकारका बैंकहरू नै थिए । फरक यति थियो कि परम्परागत बैंकको तुलनामा ट्रस्ट कम्पनीहरूको चेक कम हुन्थे । जसकारण उनीहरू तत्समयको चेक फर्छ्यौट संयन्त्र अर्थात् न्यूयोर्क क्लियरिङ हाउसको सदस्य थिएनन् ।

साथै, ट्रस्ट कम्पनीहरू परम्परागत बैंकको तुलनामा बढी जोखिम लिन्थे (कम नगद राख्थ्ये र विनाधितो समेत कर्जा लगानी गर्दथे) । तर, आज जस्तै सन् १९०७ मा पनि वित्तीय क्षेत्रका सरोकारवालाहरू अन्तरसम्बन्धित नै हुन्थ्ये ।

ट्रस्ट कम्पनीले प्रवाह गरेको ऋणको भरमा सेयर ब्रोकरले सेयर खरिद गर्दथे जसको धितोमा फेरि उनीहरूले परम्परागत बैंकहरूबाट थप ऋण लिइनै रहेका हुन्थे ।

त्यस समयमा अमेरिकामा अन्तिम ऋणदाताको रूपमा कुनै केन्द्रीय बैंक नरहेको भए तापनि तरलताको समस्या खेपिरहेका परम्परागत बैंकका लागि न्यूयोर्क क्लियरिङ हाउसले ऋण (तरलता सुविधा) उपलब्ध गराउँथ्यो । ट्रस्ट कम्पनीका लागि भने यस प्रकारको कुनै व्यवस्था थिएन ।

सन् १९०७ मा अमेरिकी पुँजी बजारका दुई जना सामान्य सट्टेबाजहरू डुब्न गए – एफ. अगस्टस् हाइन्ज र चार्ल्स मोर्स । तत्पश्चात् सुरु भयो यी व्यक्तिहरू आबद्ध बैंकहरूमा निक्षेपकर्ताको लर्को । यसरी ठूलो तरलता समस्या खेप्न पुगेको नेसनल मर्केन्टाइल बैंकलाई न्यूयोर्क क्लियरिङ हाउसले तरलता सुविधा उपलब्ध गराएर बचाउन सफल भए ता पनि मोर्सको सहयोगीको आबद्धता रहेको निकरबोकर ट्रष्टलाई यो सुविधा प्राप्त भएन । फलस्वरूप सुरु भयो उक्त बैंक तथा अन्य ट्रस्ट कम्पनीबाट आफ्नो निक्षेप निकाल्ने प्रतिस्पर्धा जसकारण बजारमा एक दिनको ऋण सुविधाको ब्याजदर (वार्षिक) १०० प्रतिशतसम्म पुग्यो, ट्रस्ट कम्पनीको दिवाला निस्कियो र अर्को वर्ष अर्थतन्त्रमा १२ प्रतिशतको सङ्कुचन आयो ।

सामान्य समयमा बैंकिङ संकटको व्यावहारिक, झर्रो परिकल्पना गर्न मुस्किल हुनसक्छ । यहाँ म सम्झन्छु कलालाई । सत्यजीत रेको सन् १९६३ मा रिलिज भएको सिनेमा ‘महानगर’मा एउटा दृश्य छ, जहाँ सिनेमाकी मुख्य पात्रलाई उनको श्रीमान्‌ले ‘जागिरबाट राजीनामा दिएर आउनु’ भन्छन् ।

नाटकीय रूपले नायिकाको श्रीमान् त्यस दिन आफ्नो कार्यालय (बङ्गालको कुनै सानो बैंक) मा पुग्दा निक्षेपकर्ताको लामो लर्को लागिरहेको हुन्छ । भुक्तानी दिन पर्याप्त रकम नभएकाले बैंकको ढोका बन्द गर्नुपर्ने हुन्छ । यस क्रममा ती भलादमीलाई निक्षेपकर्ताको क्रोधित भीडले झण्डै सिध्याइदिन्छ ।

बल्लबल्ल आफ्नो ज्यान बचाई उम्कन सफल ती भलादमीले अत्यन्त अस्तव्यस्त मुद्रामा आफ्नी श्रीमतीको कार्यालयमा फोन लगाउँछन् अनि भन्छन्, “नोकरी नछाड ! नोकरी नछाड !”

सन् १९२९ को ऐतिहासिक आर्थिक संकटको माथि नै विवेचना गरिसकिएको छ । तसर्थ, अर्को ठूलो बैंकिङ संकटको रूपमा म चर्चा गर्न चाहन्छु सन् १९८० को सेभिङ्स् एन्ड लोन क्राइसिस्को । यो संकट जोडिएको छ सन् १९७० को दशकको दुई वटा महत्वपूर्ण भूराजनितिक घटनाहरूसँग ।

एक, सन् १९७३ को योम किपुर युद्ध जसमा इजरेललाई समर्थन गरेबापत् अरब देशहरूले अमेरिकालगायत पश्चिमा मुलुकलाई पेट्रोलियम पदार्थको आपूर्तिमा प्रतिबन्ध लगाए जसको फलस्वरूप पेट्रोलियम पदार्थको मूल्यमा चार गुणासम्म वृद्धि भयो । अर्को महत्वपूर्ण भूराजनीतिक घटना हो सन् १९७९ मा इरानमा हुन गएको राजनीतिक परिवर्तनको जसमा उक्त देशको राजपरिवार (शाह) को शासनलाई इस्लामिक धर्मगुरुको शासनले प्रतिस्थापन गर्‍यो।

यी दुवै घटनाक्रमको फलस्वरूप सन् १९७० को दशकमा पश्चिममा मुद्रास्फीति अत्यधिक बढ्न गयो जसले गर्दा अमेरिकालगायतका मुलुकका केन्द्रीय बैंकले असाध्यै कसिलो मौद्रिक नीति अवलम्बन गरे । फेडरल फण्डस् रेट सन् १९७२ मा ३.५ प्रतिशत रहेकोमा १९७३ मा १० प्रतिशत नाघ्यो र सन् १९७४ मा फेरि १२ प्रतिशतभन्दा माथि पुग्यो ।

फेडरल रिभर्जका अध्यक्ष पोल भोल्करले त सन् १९८० मा मौद्रिक नीतिको दरलाई २० प्रतिशतसम्म पुर्‍याइदिए (सन् १९७७ मा ४.५ को हाराहारीमा रहेको मौद्रिक नीतिगत दरलाई क्रमशः वृद्धि गर्दै) र यो आश्चर्यजनक ब्याजदर छ महिनाभन्दा अधिक समयसम्म कायम रह्यो ।

फेडरल रिभर्जको यो कदमको ठूलो असर अमेरिकाको सेभिङ्स् एन्ड लोन क्षेत्रमा पर्न गयो । सेभिङ्स् एन्ड लोन वा थ्रिफ्टहरू एक प्रकारका साना बैंकहरू हुन्, जसले आफ्नो सदस्य र सर्वसाधारणको बचत परिचालन गर्छन् अनि उक्त रकमलाई घर कर्जा प्रवाह गर्न प्रयोग गर्छन् । त्यस समय थ्रिफ्टहरूको व्यावसायिक मोडल सम्पत्ति–दायित्व व्यवस्थापनको दृष्टिकोणले निकै जोखिमपूर्ण थियो किनकि उनीहरूले प्रवाह गर्ने कर्जाको अवधि तिनले परिचालन गर्ने निक्षेपको भन्दा निकै बढी रहन्थ्यो ।

फलतः फेडरल रिभर्जको ब्याजदर वृद्धिपश्चात् समग्र सेभिङ्स् एन्ड लोन क्षेत्र अति उच्च ब्याजदरको निक्षेपले निकै न्यून ब्याजदरका ऋणहरूलाई फण्डिङ गर्न बाध्य भयो । यसरी समग्र क्षेत्रकै पुँजी एक्कासि ऋणात्मक हुन पुग्यो । फेडरल रिजर्भ हिस्ट्रीअनुसार तत्समय अमेरिकामा चार हजार थ्रिफ्टहरू सञ्चालनमा थिए । तिनले प्रवाह गरेको घरकर्जा समग्र राष्ट्रकै घरकर्जा पोर्टफोलियोको करिब ५० प्रतिशत (४८० अर्ब डलर) थियो । आखिरमा यस क्षेत्रलाई धरासायी हुनबाट जोगाउन राज्यलाई करिब १२४ अर्ब डलर भार पर्न गयो ।

उक्त क्षेत्र संकटमा फसेपछि दिवालिया निस्केका थ्रिफ्टहरूमा एक प्रकारको नौलो बैंक ठगी गर्ने प्रवृत्तिसमेत देखापर्‍यो, जसलाई नोबेल पुरस्कार विजेताद्वय जर्ज एकर्ललर्फ र पोल रोमरले आफ्नो उत्कृष्ट जर्नल आर्टिकलमा ‘ब्याङ्क्रप्सी फर प्रोफिट’ भन्ने सङ्ज्ञा दिएका छन् । ‘लुटिङ: ब्याङकरपसी फर प्रोफिट’ नामक उक्त जर्नल आर्टिकलबमोजिम ठगी गर्ने थ्रिफ्टहरूकै निक्षेपकर्ताको उद्धारका लागि मात्र अमेरिकी राज्यले ५४ अर्ब डलर खर्च गरेको देखिन्छ ।

सन् १९८० को दशकको सेभिङ्स् एन्ड लोन संकट हालसालै मात्र अमेरिकामा भएको ती वटा बैंकहरूको विफलताको मुद्दामा दोहोरिएको देखिन्छ । सन् २००७ को भीकमाय संकटदेखि नै ०.२५ प्रतिशतको हाराहारीमा रहँदै आएको फेडरल फण्डस् रेट सन् २०२२ मार्चपश्चात् निरन्तर उकालो लाग्दै गई सन् २०२३ मार्चमा आइपुग्दा पाँच प्रतिशत पुग्यो । फलतः अल्पकालीन निक्षेप र दीर्घकालीन सम्पत्ति (लगानी) भएका तीन अमेरिकी बैंकहरू – सिलिकन भ्याली, सिग्नेचर र फर्स्ट रिपब्लिक डुब्न पुगे ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२३ अप्रिल संस्करणको ‘ग्लोबल फाइनान्सियल स्टाबिलिटी रिपोर्ट’ अनुसार एफडीआईसीले बिरलै मात्र प्रयोगमा ल्याउने ‘सिस्टेमिक रिस्क एक्सेप्सन’ प्रावधान लागू गरेको कारणले मात्रै निक्षेप बीमाको सीमाबाहिर रहेका निक्षेपकर्तासमेत यस शृङ्खलाबाट जोगिए ।

सन् १९८० को दशकमै फेरि धेरै ल्याटिन अमेरिकी मुलुक र समग्र अमेरिकी बैंकिङ क्षेत्रमा अर्को भीमकाय वित्तीय संकट आइलाग्यो । यसको जरा पनि सन् १९७३ र १९७९ को पेट्रोलियम पदार्थको मूल्यवृद्धिको घटनाक्रममै रहेको थियो । उक्त तीव्र मूल्यवृद्धिपश्चात् पेट्रोलियम पदार्थ निर्यात गर्ने अरबलगायतका मुलुकहरूसँग निकै विदेशी मुद्रा थुप्रिन पुग्यो । सोही समय ल्याटिन अमेरिकी मुलुकको सरकारी वित्तको अवस्था खस्किरहेको थियो ।

अमेरिकी बैंकहरूले यसलाई अवसरको रूपमा देखे अनि कुनै पनि खुद्रा व्यापारीले झैँ ऋण खरिदविक्रीको एउटा सामान्य सिलसिला सुरु गरे, जसमा यी बैंकहरूले ओपेक मुलदुकहरूसँग सस्तो ब्याजदरमा ठूलो मात्रामा ऋण उठाए र उक्त रकमलाई केही अधिक ब्याजदरमा विभिन्न ल्याटिन अमेरिकी मुलुकमा ऋणको रूपमा प्रवाह गरे ।

अर्थशास्त्री पोल क्रुग्म्यानले आफ्नो उत्कृष्ट पुस्तक ‘द रिटर्न अफ डिप्रेसन इकोनोमिक्स’मा ल्याटिन अमेरिकी मुलुकप्रति पश्चिमा लगानीकर्ताको तत्समयको यस्तो अधिक उत्साहपूर्ण आकर्षणबारे बयान गरेका छन् । तर यो उत्साह दिगो रहन सकेन किनकि लगानी रकमको अधिक आपूर्ति, फितलो कर्जा जोखिम विश्लेषण र नितान्त लोभका आधारमा गरिएको यस्तो कर्जा लगानीमा छिट्टै समस्या देखिन थाल्यो अनि एकपछि अर्को ल्याटिन अमेरिकी मुलुकले ऋणको साँवा ब्याज भुक्तानी गर्न नसक्ने अवस्था आयो ।

सामान्यतया निश्चित सानो नाफा र सम्भावित ठूलो नाफाबीच छनोट गर्नुपर्‍यो भने निर्णयहरू जोखिम परित्याग गर्ने प्रकारका हुन्छन् । अर्थात् यस्तो अवस्थामा अधिकांश निर्णयहरू तुलनात्मक रूपमा सानो तर निश्चित रहेको नाफातर्फ नै झुकाव राख्छन् । तर फेरि सोही व्यक्तिले सम्भावित ठूलो नोक्सान र निश्चित सानो नोक्सानबीचको विकल्प रोज्नुपर्‍यो भने अधिकांश मामिलामा सम्भावित ठूलो नोक्सान नै छान्दछ । अर्थात् अधिकांश व्यक्तिहरू नाफाको पृष्ठभूमिमा जोखिम लिन चाहँदैनन् तर नोक्सानको पृष्ठभूमिमा भने अधिक जोखिम लिन उद्दत हुन्छन्

यो वित्तीय संकट पनि कम नाटकीय थिएन । पोल क्रुग्म्यानले बयान गरेका छन् कि सन् १९८२ को जुलाई महिनामा विश्व बैंकको ऋणपत्रभन्दा मेक्सिको सरकारले जारी गरेको ऋणपत्रको यिल्ड न्यून रहेको अर्थात् सोमा कम जोखिम आँकलन गरिएकोमा लगत्तै अर्को महिना उक्त ल्याटिन अमेरिकी राष्ट्रले आफ्नो ऋण भुक्तानी गर्न सकेन ।

मुख्य गरी ठूला अमेरिकी बैंकहरू संलग्न रहेको यस शृङ्खलामा बैंकहरूले लिएको जोखिमबारे केही तथ्यांकहरू फेडरल रिजर्भ हिस्ट्रीले यस प्रकार प्रस्तुत गरेको छ – अमेरिकी बैंकहरूको ल्याटिन अमेरिकी मुलुकहरूतर्फको कर्जा (एक्स्पोजर) १९७९ मा २९ अर्ब डलर मात्र रहेकोमा सन् १९८२ मा ३२७ अर्ब (अर्थात् यी ठूला अमेरिकी बैंकहरूको पुँजीको १७६ प्रतिशत) पुग्न गयो ।

ल्याटिन अमेरिकी मुलुकहरूको ऋण तिर्न सक्ने क्षमतामा ह्रास आइसकेपछि समस्याग्रस्त हुन पुगेको उक्त कर्जा पोर्टफोलियोको लागि नियमानुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपरेको भए समग्र अमेरिकी बैंकिङ क्षेत्र (अर्थात् प्राय सबै ठूला अमेरिकी बैंकसहित) को दिवालिया निस्कन्थ्यो ।

फेडरल रिजर्भले औंल्याएको यो आश्चर्यचकित पार्ने तथ्यलाई नसिम निकलस् तालेबले आफ्नो उत्कृष्ट ‘कृति द ब्लायाक स्वान्’ मा घत लाग्दो तरिकाले प्रस्तुत गरेका छन् – सन् १९८२ को ल्याटिन अमेरिकी वित्तीय संकटमा अमेरिकी बैंकिङ क्षेत्रले आफ्नो इतिहासको सुरुआतदेखि तत्समयसम्म आर्जन गरेको सम्पूर्ण नाफाभन्दा बढी घाटा खान पुग्यो !

नियामक निकायले कर्जा नोक्सानी व्यवस्थामा हदैसम्मको लचकता प्रदान गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोष, अमेरिकी सरकारलगायतका निकायले ल्याटिन अमेरिकी मुलुकको उद्धारको लागि आर्थिक प्याकेजको व्यवस्था गरेको हुनाले बैंकिङ संकट भयावह नै हुन भने पाएन । तर प्रवाह गरिएको ऋणको ठूलै हिस्सा जति गरे पनि उठ्दै नउठ्ने देखिएपछि आखिरमा बैंकहरूले नोक्सान जनाउनै पर्‍यो । फेडरल रिजर्भ हिस्ट्रीअनुसार सन् १९८९ देखि १९९४ सम्म ऋणदाताले ६१ अर्ब बराबरको ऋण अपलेखन गर्नुपर्‍यो अर्थात् ल्याटिन अमेरिकी मुलुकहरूको बक्यौता रहेको कर्जाको ३० प्रतिशत !

कुनै पनि जोखिम कुन बेला किन लिइन्छ ?
बैंक र निजी क्षेत्रका संस्थाहरू मुनाफाप्रेरित भई सञ्चालित हुन्छन् ।

सञ्चालनका क्रममा उत्पन्न हुने विभिन्न जोखिम बहन गर्न अपरिहार्य नै हुन्छ । जस्तै; बैंकले कर्जा र ब्याजदर जोखिम नलिई सुखै छैन । यद्यपि यस मामिलामा केही फरक विचारसमेत रहेका देखिन्छन् । जस्तो कि, भारतीय रिजर्भ बैंकका पूर्व गभर्नर एवम् सिकागो विश्वविद्यालयको बुथ स्कुल अफ विजनेशका प्रोफेसर रघुराम राजनले आफ्नो पुस्तक ‘फल्ट् लाइन्स्’ मार्फत उचित सम्पत्ति दायित्व व्यवस्थापनको बाबजुद पनि ररिरहने ब्याजदर जोखिम समेत बैंकहरूले लिनुहुँदैन, यसको सट्टा उक्त जोखिम विशेष प्रकृतिका वित्तीय संस्थाहरूतर्फ स्थानान्तरण गरिनुपर्दछ भन्ने प्रस्ताव गरेका छन् ।

कुनै पनि व्यक्ति वा संस्थाको जोखिम लिने प्रवृत्तिबारे अर्थशास्त्रमा नोबेल पुरस्कार हासिल गरेका विहेभियरल इकोनोमिस्ट ड्यानियल कनन्मन् र उनका सहकर्मी म्याथम्याटिकल साइकलोजिष्ट एमोस् भेरस्कीले प्रस्पेक्ट थियरी नामक एउटा उत्कृष्ट सिद्धान्त प्रतिपादन गरेका छन् । सयौं प्रयोगको नतिजाबाट पटकपटक प्रमाणित भएको यो सिद्धान्तलाई यस प्रकारले बयान गर्न सकिन्छ- सामान्यतया निश्चित सानो नाफा र सम्भावित ठूलो नाफाबीच छनोट गर्नुपर्‍यो भने निर्णयहरू जोखिम परित्याग गर्ने प्रकारका हुन्छन् । अर्थात् यस्तो अवस्थामा अधिकांश निर्णयहरू तुलनात्मक रूपमा सानो तर निश्चित रहेको नाफातर्फ नै झुकाव राख्छन् । तर फेरि सोही व्यक्तिले सम्भावित ठूलो नोक्सान र निश्चित सानो नोक्सानबीचको विकल्प रोज्नुपर्‍यो भने अधिकांश मामिलामा सम्भावित ठूलो नोक्सान नै छान्दछ । अर्थात् अधिकांश व्यक्तिहरू नाफाको पृष्ठभूमिमा जोखिम लिन चाहँदैनन् तर नोक्सानको पृष्ठभूमिमा भने अधिक जोखिम लिन उद्दत हुन्छन् ।

कनन्मन्–भेरस्कीको प्रोस्पेक्ट थियरी हामी आफैंमा पनि प्रयोग गर्न सक्छौँ । जस्तै; निश्चित रूपमा ३० लाख रूपैयाँ प्राप्त गर्ने विकल्प (विकल्प ‘क’) र १ करोड रूपैयाँ प्राप्त गर्ने ५० प्रतिशत सम्भावना (विकल्प ‘ख’) मध्ये कुनै एक रोज्नुपर्‍यो भने तपाईं के रोज्नुहुन्छ ? यसै गरी, आफूसँग भएको बैंक मौज्दातबाट निश्चित ३० लाख रूपैयाँ गुम्ने विकल्प (विकल्प ‘क’) र कत्ति पनि र कम नगुम्ने वा १ करोड रूपैयाँ रकम गुम्ने ५०/५० प्रतिशत सम्भावना भएको विकल्प (विकल्प ‘ख’) मध्ये कुनै एक रोज्नुपर्‍यो भने तपाईं के रोज्नुहुन्छ ?

बृहत्‌प्रकारका संस्थाहरूले कुन प्रकारका जोखिमहरू लिनुहुँदैन ?

प्रस्पेक्ट थियरीले आर्थिक निर्णयहरूको मामलामा मानवीय मनोविज्ञानमाथि महत्वपूर्ण प्रकाश पार्दछ । आम मानिसले नोक्सान पटक्कै मन पराउँदैन र यसलाई पन्छाउनका लागि हरसम्भव प्रयास गर्छ । यही प्रवृत्ति समुदाय र समग्र राष्ट्रजस्ता बृहत् प्रकारका संस्थाको हकमा झनै सान्दर्भिक भएर आउँछ किनकि यस्तो संस्थाले लिने आर्थिक निर्णयबाट अधिक नाफा वा असामान्य प्रतिफल प्राप्त हुन गयो भने खासै केही हुँदैन । तर, यदि भाग्यवश कुनै सानो नोक्सान हुन गयो भने पनि यो निकै ठूलो मुद्दा बन्छ । उक्त नोक्सानको कारण खोतल्नु धेरै सरोकार वाला (जस्तै; सञ्चारमाध्यम, सर्वसाधारण, संसद आदि) को उच्च प्राथमिकतामा पर्नसक्छ । उक्त सरोकारवाला आर्थिक/वित्तीय क्षेत्रको नभएको हुनाले (विशेषगरी दुर्घटना घटिसकेको परिस्थितिमा) उनीहरूको यो मामिलालाई हेर्ने दृष्टिकोण कठोर हुनसक्छ । अधिक जोखिम लिएकै कारण यस पूर्वसम्म हुन गएको अधिक नाफाले आज आएर कुनै महत्व नपाउन सक्छ । सम्भवतः पाउँदैन ।

अर्थात् अधिक जोखिम लिने संस्थाले असिमेट्रिक रिस्क लिइरहेका हुन्छन्, जहाँ उक्त जोखिमको फल सम्भावित दुर्घटनाको दुष्परिणामको तुलनामा निकै कम हुन्छ । त्यसैले त यस्ता संस्थाले प्रायः कुनै प्रकारको जोखिम नै लिँदैनन् । साथै यस विषयसम्बन्धी प्रत्येक असल अभ्यासले समेत यही मन्त्र दोहोर्‍याउँछ – सार्वजनिक संस्था आर्थिक निर्णयको मामिलामा अनावश्यक जोखिम लिने खेलमै हुनुहुँदैन ।

निजी क्षेत्रसँग सम्बन्धित कर्जा जोखिम यस्तै अनावश्यक जोखिम हो, जसलाई कुनै पनि बृहत् प्रकारको संस्था (जस्तै, राष्ट्र) ले लिँदैन । कारण असिमेट्रिक रिस्क मात्र होइन, असल अभ्यास मात्र होइन, जिम्मेवारीपन पनि हो । निजी क्षेत्रमध्ये तुलनात्मक रूपले बैंकिङ क्षेत्र जत्तिको न्यून जोखिम कुन क्षेत्रको हुन्छ होला र ? तर, यहाँ प्रस्तुत बैंकिङ संकटको सङ्क्षिप्त इतिहासबाट के स्पष्ट देखिन्छ भने ठूला, साना, प्रख्यात– हर प्रकारका बैंकहरू इतिहासको हरेक कालखण्डमा विविध समस्याका कारण विफल भएका छन् । त्यसैले सार्वजनिक संस्थाहरू यो जोखिमपूर्ण क्षेत्रमा विल्कुलै प्रवेश गर्नुहुँदैन ।

कसान्ड्रा सिन्ड्रोम

यो लेखको विषयवस्तुको सन्दर्भमा दुईवटा ग्रीसेली कथाहरू सान्दर्भिक देखिन्छन् । प्लेटोद्वारा लिखित ‘द अपोलोजी’मा सुकरात ताजुबमा पर्छन् जब उनले थाहा पाउँछन् कि डेल्फीको ओरकलअनुसार उनी – सुकरात – नै सर्वाधिक विद्वान् र ज्ञानी मानिस हुन् । यसको कारण के भने सुकरात स्पष्ट छन् कि उनी केही जान्दैनन् अर्थात् वास्तवमै जान्नलायक कुरा केही जान्दैनन् ।

तर पछि सुकरातले विस्तारै के थाहा पाउँदै जान्छन् भने उनले ज्ञानी भन्ठानेकाहरू पनि उनीजस्तै केही नजान्ने रहेछन् । तर फरक के रहेछ भने जहाँ उनलाई म जान्दिन भन्ने कुराको बोध छ, त्यहीँ अन्यलाई मैले सबैथोक जान्या छु भन्ने भ्रम छ ।

सुकरातको यो कथा वित्तीय क्षेत्रका सरोकारवालाका लागि मननयोग्य छ किनकि अन्तर्राष्ट्रिय बजारको गति र दिशालाई सयौं कुराले निर्धारण गरिरहेका हुन्छन् र यीमध्ये कुन बखत कुन कारक हावी हुन्छ अथवा कुनै नयाँ कारकको कुन बखत जन्म हुन्छ भन्ने कुराको हमेसा सही अनुमान लगाउन सकिँदैन ।

सञ्चार माध्यममा आउने समाचारलाई बजारले प्रतिबिम्बित गरिसकेको हुन्छ भन्ने कुरा त वित्तका स्थापित सिद्धान्तहरू, जस्तैः एफिसियन्ट मार्केट हाइपोथिसिस्, रान्डम वाक थियरीलगायतले पहिले नै सिद्ध गरिसकेका छन् ।

यसै गरी, विज्ञहरूको अनुमानमा एकरूपता हुँदैन । तसर्थ, यी स्रोतहरूको माध्यमबाट बजारले भविष्यमा लिने गति र दिसा यकिन गर्न सकिन्छ भन्नु भ्रम मात्र हो । नसिम निकलस तालेबले यसलाई ‘न्यारेटिभ फ्यालेसी’ भन्ने सङ्ज्ञा दिएका छन्, जहाँ वित्तीय क्षेत्रका लगानी व्यवस्थापकहरूमाझ आजको समाचार लिई हिजोको वास्तविक घटनालाई व्याख्या गर्ने प्रवृत्तिबाट भविष्यबारे समेत सही अनुमान लगाउन सकिन्छ भन्ने भ्रम पैदा हुन जान्छ ।

यसबारे तालेब थप भन्छन् कि यस्तो भ्रमपूर्ण विश्लेषणमार्फत धेरै वटा स–साना अनुमानहरू मिल्दै जानु महत्वपूर्ण होइन किनकि पछि गएर एउटै ठूलो गलत अनुमानले गर्दा धेरै ठूलो आर्थिक नोक्सान हुन जाने जोखिम रहन्छ नै । जस्तै, कि गलत विश्लेषणमार्फत यदि कुनै लगानी व्यवस्थापकले कुनै न्यून जोखिम लगानीको स्थानमा जोखिमयुक्त लगानी गर्ने निधो गर्छ (किनकि पछिल्लो १५–२० वर्षमा यस्तो कुनै लगानी डुबेको छैन) भने यस्तो लगानीमा अधिक प्रतिफल ०.१ प्रतिशत विन्दुदेखि ०.५ प्रतिशत विन्दुसम्म हुनसक्ला ।

तर, वास्तवमा यसको अर्थ के हो भने अधिक प्रतिफल ०.५ प्रतिशत विन्दु हुँदा एक पटक मात्र लगानी डुब्यो भने यसले २०० पटक अधिक जोखिम लिँदा प्राप्त भएको अधिक प्रतिफललाई समाप्त पारिदिन्छ । यसै गरी, अधिक प्रतिफल ०.१ प्रतिशत विन्दु हुँदा एक पटक मात्र लगानी डुब्यो भने यसले हजार पटक अधिक जोखिम लिँदा प्राप्त भएको अधिक प्रतिफललाई समाप्त पार्दछ । यसैलाई तालेबले भन्छन् – ‘असिमेट्रिक आउटकम्स्’ ।

तसर्थ वित्तीय लगानीको क्षेत्रमा सुकरातको मनस्थितिलाई आत्मसात गरी आवश्यक जोखिम व्यवस्थापनको संयन्त्रको व्यवस्था गर्नु र अस्तित्वको जोखिम खडा गर्ने प्रकारका जोखिमहरू पटक्कै नलिनु नै उचित देखिन्छ ।

यस लेखको सन्दर्भमा अर्को सान्दर्भिक ग्रीसेली कथा हो, ‘कसान्ड्राको मिथक’ । कसान्ड्राले ग्रीसेली देउता अपोलोबाट भविष्य देख्ने वरदान पाएकी हुन्छिन् । तर, पछि उनीसँग रुष्ट भई अपोलोले उनको भविष्यवाणी कसैले पत्याउने छैनन् भनी श्राप दिन्छन् । कसान्ड्राले आफ्नो सहर ट्रोयको पराजय र सो माथि ग्रीसेलीहरूको कब्जालाई घट्न नदिन अनेकन प्रयास गर्छिन् तर ट्रोयका बासिन्दाले उनको कुरामा विश्वास नगरी उल्टै उनको चरम अपमान गर्छन् ।

फलतः कसान्ड्रा र ट्रोय दुवैको नियति अन्धकारमय हुन जान्छ । पटकपटक उस्तै कारणले दोहोरिरहने बैंकिङ संकटको इतिहास र यस प्रवृत्तिको सही विश्लेषण गरी समाजलाई सतर्क गराउने जमर्को गर्ने ग्याल्बेथ्रजस्ता प्राज्ञहरूको असफल प्रयासलाई नियाल्दा वित्तीय क्षेत्रमा कसान्ड्रा सिन्ड्रमको स्पष्ट झल्को पाउन सकिन्छ । तर निराशालाई आत्मसात गर्नु कुनै विकल्पै किन होइन भने यस चरम महत्वको मामलामा भूतकालको दुर्भाग्यपूर्ण नियति दोहोरिन नदिने जिम्मेवारी समयले हाम्रै काँधमा राखेको छ ।

(नेपाल राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीको यो लेख मिर्मिरे नामक राष्ट्र बैंकको अर्धवार्षिक अंकमा प्रकाशित छ।)


क्लिकमान्डु