चेम्बरको सुझावः बजेट बनाउँदा घाँटी हेरी हाड निल्ने प्रयास गर्नु



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभा सुरु भएको छ । वार्षिक साधारणसभाको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरे ।

चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । उनले आगामी बजेट बस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने बताए ।

मल्लले भने, ‘बजेट संधै महत्वाकांक्षी र ठूलो आकारको बनाउने तर श्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्थपरक एवं घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्दछ ।’ आर्थिक गतिविधि विस्तार गरी राजस्व लक्ष्य वृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले करको दर नभई दायरा विस्तार गरेर नागरिकतासँगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुस्तता कायमै रहेको अध्यक्ष मल्लको बुझाइ छ । आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्षपनि व्यापार घाटा उच्च हुने देखिएको अध्यक्ष मल्लको भनाइ छ ।

पुँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा हुनेमा चुनौती रहेको अध्यक्ष मल्लको भनाइ छ । मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उनले उल्लेख गरे । तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन तथा सुचना प्रविधिको क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आर्कषित गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पुरा गर्न सरकार प्रयासरत रहेको बताए । आर्थिक उन्नतीका लागि निजी क्षेत्रको प्रर्वद्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भिर रहेको उनले बताए ।


क्लिकमान्डु