दुई महिनामा मुस्किलले ३ पल्ट प्रयोग गरिन्छ मोबाइल बैंकिङ एप, वालेट झन् कम



काठमाडौं । मोबाइल बैंकिङ र वालेट प्रयोगकर्ता ह्वात्तै बढेपनि सर्वसाधारणले प्रयोग गर्ने दर (फ्रिक्वेन्सी) भने निकै कम देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सर्वसाधारणले २ महिना मुस्किलले ३ पल्ट मोबाइल बैंकिङ एपमार्फते कारोबार गर्ने गरेको देखाउँछ । वालेट प्रयोगकर्ताको हकमा यस्तो फ्रिक्वेन्सी झन् कम छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार देशमा कुल २ करोड ३७ लाख ८३ हजार ३ सय ८९ जनाले मोबाइलमा मोबाइल बैंकिङ एप चलाइरहेका छन् । हाल बैंक तथा वित्तीय संस्थामा कुल ५ करोड ४० लाख निक्षेप खाता सञ्चालनमा छन् । बैंकमा खाता खोल्नेहरुका लागि पछिल्लो समय मोबाइल बैंकिङ सेवा अनिवार्य जस्तै छ । यसर्थ हरेक व्यक्तिले प्राय एकभन्दा बढी मोबाइल बैंकिङ सेवा लिइरहेका छन् ।

तर, रोचक कुरा त के छ भने २ करोड ३८ लाख मोबाइल बैंकिङ एपबाट फागुन महिनाभरमा ३ करोड २५ लाख पल्ट कारोबार गरेका छन् । माघ र फागुनमा मोबाइल बैंकिङ प्रयोगकर्ताले कुल ६ करोड ६३ लाखपल्ट कारोबार गरेका छन् । अर्थात् एक जना प्रयोगकर्ताले दुई महिनामा मुस्किलले ३ वटा कारोबार गरेका छन् ।

मोबाइल बैंकिङ प्रयोगकर्ताले यो दरमा सुविधा लिँदा वालेट प्रयोगको फ्रिक्वेन्सी झन् कम छ । राष्ट्र बैैंकको तथ्यांकले देशमा २ करोड १६ लाख ३३ हजार ६ सय १ वालेट खाता रहेको देखाउँछ । सर्वसाधारणसँग एकभन्दा बढी वालेट हुने गर्छ । तर, यति धेरै वालेटबाट फागुनमा २ करोड २४ लाख १० हजार वटा कारोबार भएको छ । माघ र फागुनमा पालेटमार्फत् ४ करोड ५१ लाख वटा कारोबार भएको देखिन्छ । जनअनुसार महिनामा एउटा वालेटबाट औसतमा एउटामात्र कारोबार भएको हो ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङमार्फत् फागुनमा २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ । यो तथ्यांकले १ जना प्रयोगकर्ताले मासिक १२ हजार २ सय ७५ रुपैयाँको कारोबार गरेको देखाउँछ । यस्तै महिनाभरमा मात्र २४ अर्बको कारोबार वालेटमार्फत भएको देखिन्छ । अर्थात् एक महिनामा एउटा वालेटबाट ११ सय १० रुपैयाँको कारोबार भएको छ । देशमा २७ वटा वालेट सञ्चालनमा छन् ।

वालेट र मोबाइल बैंकिङमार्फत् फागुनमा ४२ अर्ब ५६ करोड रुपैयाँबराबरको क्यूआरमा आधारित भुक्तानी भएको छ । क्यूआरमा आधारित भुक्तानी संख्या १ करोड ४२ लाख ९१ हजार ८ सय ७७ हो । अर्थात् एक जनाले महिनामा १९ सय रुपैयाँबराबरको क्यूआर भुक्तानी गर्ने गरेका छन् ।

मोबाइल बैंकिङमार्फत् अधिकांश कारोबार हुने भएकाले एटीएमबाट पैसा झिक्नेको परिमाण निकै कम छ । फागुनमा देशभरको एटीएमबाट १ करोड ७ लाख ८५ हजार १ सय ४३ पल्ट कुल ८८ अर्ब ७ करोड रुपैयाँ झिकिएको छ

यस महिना सबैभन्दा ठूलो कारोबार रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)मार्फत् भएको छ । नेपाल राष्ट्र बैंकले १० लाखभन्दा ठूला भुक्तानीका लागि सञ्चालन गरेको यो प्रणालीमार्फत् १ महिनामाा ३४ खर्ब ५३ अर्ब ७५ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।

तथ्यांकमा भुक्तानी प्रणाली

– एटीएम मेसिनः ५०९१
– डेबिट (एटीएम) कार्डः १ करोड २६ लाख ५१ हजार
– क्रेडिट कार्डः २ लाख ८३ हजार
– इन्टरनेट बैंकिङ प्रयोगकर्ताः १८ लाख ७४ हजार
– कनेक्ट आईपीएस प्रयोगकर्ताः १२ लाख २८ हजार

कारोबार रकम (रुपैयाँमा)

– आरटीजीएसः ३४ खर्ब ५३ अर्ब ७५ करोड
– एटीएमः ८८ अर्ब ७ करोड
– कनेक्ट आईपीएसः ४८ अर्ब ३२ करोड
– मोबाइल बैंकिङः २ खर्ब ९१ अर्ब ९५ करोड
– वालेटः २४ अर्ब २ करोड
– क्यूआरमा आधारित भुक्तानीः ४२ अर्ब ५६ करोड

कारोबार संख्या

– आरटीजीएसः ६७ हजार ५ सय ४०
– एटीएमः १ करोड ७ लाख ८५ हजार १ सय४३
– कनेक्ट आईपीएसः ५९ लाख ७१ हजार १ सय १५
– मोबाइल बैंकिङः ३ करोड २४ लाख ६२ हजार ९ सय ५४
– वालेटः २ करोड २४ लाख १० हजार ३ सय २१
– क्यूआरमा आधारित भुक्तानीः १ करोड ४२ लाख ९१ हजार ८ सय ७७


क्लिकमान्डु