प्रधानमन्त्रीलाई सबै राजनीतिक दल‍ले विश्वासको मत दिनु वाञ्छनीय: ओली



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो सदनले मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको प्रस्ताव चित्तोबुझ्दो भएकाले त्यस प्रस्तावलाई सदनमा रहेका सबै राजनीतिक दलहरुले मिलेर पारित गर्नु उपयुक्त हुने उनले जिकिर गरे ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रस्ताव राख्ने क्रममा गरेको तर्क, विश्लेषण र नयाँ सत्ता समीकरण बनाउनुको कारणबारे दिएको स्पष्टीकरण चित्तबुझ्दो भएको पनि बताए ।

‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रस्ताव वक्तव्य मैले राम्ररी सुनेँ । उहाँको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुपर्‍यो भन्ने कारण । र अब उहाँ के चाहनु हुन्छ ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नु भयो ? भन्ने कुरा । सबै कुराहरु सविस्तार बताउनु भयो । र कुराहरु, कारणहरु चित्तबुझ्दो छ । म समर्थनबाटै शुरु गर्छु । यस सदनले सबैले मिलेर यस प्रश्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ’ उनले भने ।

ओलीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने पनि बताए ।


क्लिकमान्डु