घरजग्गा क्षेत्रमा सबैभन्दा बढी अनौपचारिक कारोबार, जग्गाको खरिद सम्पत्ति लुकाउने माध्यम



काठमाडौं । रियल इस्टेट (घरजग्गा) क्षेत्रमा सबैभन्दा बढी अनौपचारिक रुपमा कारोबार हुने पाइएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत औसतमा अनौपचारिक अर्थतन्त्रको हिस्सामा रियल इस्टेट क्षेत्रको सबैभन्दा बढी देखिएको हो ।

विभागले अध्ययन गरेर तयार गरिएको रिपोर्टमा रियल इस्टेट क्षेत्रमा ९९.९७ प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको उल्लेख छ । नेपाल जग्गा तथा आवास विकास संघले पनि रियल इस्टेट क्षेत्रमा अनौपचारिक कारोबार हुने गरेको बताउँदै आएका छ ।

व्यवसायीहरुले सरकारलाई औपचारिक कारोबारमा ल्याउनका लागि नीति नियम ल्याउनुपर्ने माग गर्दै आएका छन् । तर, सरकारले उक्त सुझावलाई वेवास्ता गर्दा अनौपचारिक कारोबारलाई औपचारिकता दिन सकेको छैन ।

अचल सम्पत्ति एवं आवास सेवाको उपभोग र घर जग्गाको कारोबार क्षेत्र अन्तरगत स्वामित्व वा भाडामा दिइएको सम्पत्ति, शुल्क वा सम्झौता अचल सम्पत्तिका गतिविधिहरू, र घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू समावेश गरेको विभागले जनाएको छ ।

उक्त क्षेत्रको प्रकृतिको कारणले गर्दा अधिकांश हिस्सा घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू पर्दछन् । जसलाई यस अध्ययनमा अनौपचारिक अर्थतन्त्र मानिएको विभागको भनाइ छ । त्यसैगरी, जग्गा कारोबार वा सम्पत्ति अवमूल्यनबाट हुने कर छली ठूलो मात्रामा रहेको प्रतिवेदनमा उल्लेख छ । जग्गाको खरिद सम्पत्ति लुकाउने माध्यम भएको छ ।

लुकाइएको सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना हुन जान्छ । हाल जीडीपीमा यस क्षेत्रले लगभग १० प्रतिशत योगदान दिएको विभागले जनाएको छ ।

‘अचल सम्पत्ति एवं आवास सेवाको उपभोग र घर जग्गाको कारोवार क्षेत्र अन्तरगत स्वामित्व वा भाडामा दिइएको सम्पत्ति, शुल्क वा सम्झौता अचल सम्पत्तिका गतिविधिहरू, र घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू समावेश भएका छन् । यस क्षेत्रको प्रकृतिको कारणले गर्दा, अधिकांश हिस्सा घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू पर्दछन्, जसलाई यस अध्ययनमा अनौपचारिक अर्थतन्त्र मानिन्छ,’ रिपोर्टमा भनिएको छ, ‘त्यसैगरी, जग्गा कारोवार वा सम्पत्ति अवमूल्यनबाट हुने कर छली ठूलो मात्रामा छ । यो कुरा नेपालमा सामान्य मानिन्छ । जग्गाको खरिद सम्पत्ति लुकाउने मध्यम भएको छ । लुकाइएको सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना हुन जान्छ । हाल जीडीपीमा यस क्षेत्रले लगभग १० % देन दिएको छ ।’

रियल इस्टेटपछि कृषि, वन तथा माछापालन क्षेत्रमा ९६.४८ प्रतिशत अनौपचारिक कारोबारको हिस्सा छ । कृषि क्षेत्र (वन र माछा मार्ने समेत) अन्तर्गतका अधिकांश उत्पादन गतिविधिहरू घरपरिवारद्वारा सञ्चालित छन् । त्यसैले अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो छ । हाल जीडीपीमा कृषि क्षेत्रले लगभग २५ प्रतिशत योगदान छ ।

त्यस्तै, विभागले गरेको अध्ययनमा ५०.४२ प्रतिशत आवास तथा खाना सेवा गतिविधिहरुको अनौपचारिक अर्थतन्त्र रहेको उल्लेख छ । त्यसैगरी कला, मनोरञ्जन र रिक्रियसन आदि क्षेत्रको ३३.६९ प्रतिशत, उत्पादन क्षेत्रको १६.३६ प्रतिशत, पूर्वाधार निर्माण क्षेत्रको १६.२६ प्रतिशत, विद्युत, ग्यास, स्टिम र एयर कन्डिसिनिङ आपूर्तिको १४.९९ प्रतिशत र प्रशासनिक र समर्थन सेवा गतिविधिहरुको ८.६६ प्रतिशत अनौपचारिक हिस्सा छ ।

त्यसैगरी, विभागअनुसार खानी र उत्खननको ४.९५ प्रतिशत, व्यवसायिक, वैज्ञानिक र प्राविधिक गतिविधिहरुको ३.१० प्रतिशत, खानेपानी, ढल निकास, फोहोर व्यवस्थापनको २.१४ प्रतिशत, ढुवानी र भण्डारणको ०.६३ प्रतिशत, शिक्षाको ०.१९ प्रतिशत, सूचना तथा सञ्चार सेवा गतिविधिहरुको ०.१३ प्रतिशत र वित्त तथा बीमा गतिविधिहरुको ०.११ प्रतिशत अनौपचारिक अर्थतन्त्रको हिस्सा छ ।

आवास र खाद्य सेवाहरूको क्षेत्र, घरपरिवारद्वारा सञ्चालित लज र चिया पसलहरू धेरै कम मात्रामा सरकारी संस्थामा दर्ता भएका छैन । त्यसैले यसको अनौपचारिक क्षेत्र ठूलो छ ।

यस क्षेत्रमा रेस्टुरेन्ट, क्याफेटेरिया, फास्ट फूड रेस्टुरेन्ट, टेक– आउट खाने ठाउँ, मोबाइल फुड कार्ट, बजार स्टलमा खाना तयारी, बार, कफी हाउस, चिया पसल आदिबाट रेस्टुरेन्ट र खाना सेवा गतिविधिहरू खाद्य सेवामा प्रमुख गतिविधिहरू रहेका छन् । कुनै पनि सरकारी संस्थामा दर्ता नभएका घरपरिवारद्वारा सञ्चालित अधिकांश लज र चिया पसलहरू अनौपचारिक छन् । त्यसैगरी, मोबाइल फुड कार्टहरू पनि अनौपचारिक रहेको विभागले जनाएको छ ।


क्लिकमान्डु