उत्पादन कम भएपछि भारतबाट दैनिक ३ सय मेगावाट बिजुली आयात



काठमाडौं । हिउँदयाम सुरु भएसँगै नेपालमा बिजुलीको उत्पादन कम हुन थालेको छ ।

जाडो यामका कारण माग अत्यधिक बढेको तर स्वदेशमा उत्पादन कम हुन थालेकाले नियमित आपूर्तिका लागि भारतबाट बिजुली आयात गर्न थालिएको हो । हिउँदेयाम सुरु भएसँगै नेपाल भारतमाथि बिजुलीको लागि भर पर्न थालेको हो ।

नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट दैनिक ३ सय मेगावाटको हाराहारीमा बिजुली आयात गर्न थालेको छ । हाल आन्तरिक उत्पादन घटेर ९ सय मेगावाटमा झरेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत मंसिर अन्त्यबाट भारतमा बिक्री बन्द गरेको प्राधिकरणले हाल आन्तरिक उत्पादनले माग धान्न नसकेपछि भारतबाट बिजुली आयात गर्न थालेको हो । उनका अनसार नेपालको उत्पादन अहिले ९ सय मेगावाटमा झरेको छ । प्राधिकरण र यसका सहायक कम्पनीको २५० मेगावाट तथा निजी क्षेत्रको ६५० मेगावाट बिजुली कम परिमाणमा उत्पादन भएको छ ।

भट्टराईले भने, ‘भारतबाट अहिले ७ हजारदेखि ७ हजार ५ सय मेगावाट आवर बिजुली आयात गरिरहेका छौं । ’

प्राधिकरणका अनुसार हाल विद्युत जडित क्षमता करिब २९ मेगावाट पुगेको छ । तर सबै नदी प्रवाही आयोजना हुँदा हिउँद सुरु भएसँगै उत्पादन एक तिहाइभन्दा कममा झर्ने हुँदा भारतबाट आयात अनिवार्य रहेको प्राधिकरण भनाइ छ ।

मुलुकमा अहिले बिजुलीको औसत माग करिब १५ सय मेगावाटको हाराहारीमा पुगेको छ । बिजुलीको उच्च माग अर्थात पीक समयमा १७ मेगावाट माथि पुग्ने गरेको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले ‘लाइफ लाइन’ मानेको कुलेखानी जलाशययुक्त पीक समय (साँझपख) मात्रै चलाउने गरेको छ ।

बिहिबार कुलेखानीको सतह १५२२.४४ मा झरेको प्रवक्ता भट्टराईले जानकारी दिए । हाल प्राधिकरणले प्रिमियम नतिर्ने आयोजनाको लाइन काटेका कारण पनि माग केही कम कम भएको प्राधिकरणको भनाइ छ । उद्योगमा काटिएको बिजुली शुक्रबार रातिदेखि प्राधिकरणले जोडेको छ । बिजुली जोडिएपछि माग बढ्दै गएको प्राधिकरणले जनाएको छ ।

लाइन काटिएका यी २४ उद्योगले २८० मेगावाट बिजुली प्रयोग गर्दै आएका थिए ।

प्राधिकरणले हाल भारतबाट ७ हजार ५ सय मेगावाट घण्टा (करिब २९० मेगावाट) बिजुली आयात गर्दै आएको छ । ‘अपुग बिजुली व्यवस्थापन (आयात) गर्न २४ घण्टा अगाडि बुक गर्नुपर्छ,’ भट्टराईले भने ।

प्राधिकरणको प्रणाली सञ्चालन विभाग (साविकको भार प्रेषण केन्द्र) का अनुसार अहिले देशभर ९ सय मेगावाट मात्र बिजुली उत्पादन छ । यसमा नेपाल विद्युत प्राधिकरणको केवल २६० (कुलेखानीबाहेक) छ भने करिब ६५० मेगावाट निजी क्षेत्र (प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसीसहित) छ ।

जाडो बढेको तर नदीमा जलस्तर घटेका कारण बिजुली माग वृद्धि र उत्पादन कम भएकाले लाइन काटिएका उद्योगहरुलाई पुनः लाइन जडान गर्न प्रणालीको सन्तुलन मिलाउन पनि आवश्यक रहेको बताइएको छ ।


क्लिकमान्डु