राष्ट्र बैंकले तयार गर्‍यो ग्रिन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा, सुझाव पेस गर्न आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रिन फाइनान्स ट्याक्सोनोमी सम्बन्धी मस्यौदा तयार गरेको छ । कार्बन उत्सर्जन हुने क्षेत्रमा कर्जा लगानी बढाउने उद्देश्यले राष्ट्र बैंकले ग्रिन फाइनान्स ट्याक्सोनोमी बनाउन लागेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ग्रिन फाइनान्स ट्याक्सोनोमी सम्बन्धी नीत बनाउने घोषणा गरेको थियो । ट्याक्सोनोमीले हरित क्षेत्रमा जाने कर्जालाई प्रोत्साहन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, ट्याक्सोनोमीले सम्पत्ति, परियोजना र विभिन्न क्षेत्रलाई ग्रिन वा वातावरणीय रुपमा दीगोरुपमा वर्गीकरण गर्नेछ । यस्तै, ट्याक्सोनोमीले बैंक तथा वित्तीय संस्थाका गतिविधि ग्रिन भए नभएको यकिन गर्न सहयोग गर्ने र वातावरण संरक्षणका क्षेत्रमा लगानी बढाउन खोजेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आफूले तयार गरेको ट्याक्सोनोमीका विषयमा सुझाव दिन बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, माइक्रोफाइनान्स, बीमा कम्पनी, पुँजीबजारमा सूचीकृत कम्पनी र अन्य सरोकारवालालाई आग्रह गरेको छ ।

ट्याक्सोनोमीले ग्रिन क्षेत्रमा हुने लगानीलाई प्रोत्साहन गर्ने र वातावरणीय जोखिम भएका क्षेत्रमा लगानी निरुत्साहित गर्न खोजेको हो ।

विश्व बैंकले दिएको सुझाव र अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिवद्धताअनुसार वातावरणीय जोखिम भएको क्षेत्रमा लगानी निरुत्साहित गर्ने गरी राष्ट्र बैंकले ट्याक्सोनोमी बनाएको छ ।

सरोकारवाला निकायले दिने सुझावका आधारलाई ट्याक्सोनोमीलाई अन्तिमरुप दिइने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ घर निर्माणमा कर्जा लगानी गर्नुभन्दा पुरानो घर रेट्रोफिटिङमा कर्जा दिनु ग्रिन गतिविधि हुने ट्याक्सोनोमीमा उल्लेख छ । यस्तै, जौविक इन्धनबाट चल्ने गाडी खरिदमा कर्जा दिनुभन्दा बैंक वित्तीय संस्थाले विद्युतिय गाडी खरिदमा कर्जा दिनु पर्ने नीति लिनु पर्ने ट्याक्सोनोमीमा उल्लेख छ ।

राष्ट्र बैंकले विभिन्न १७ वटा क्षेत्रमा जाने कर्जा वातावरणमैत्री हुनु पर्ने गरी ट्याक्सोनोमी तयार गरेको छ ।

ग्रिन गतिविधिमा बैंकले लगानी गर्नु पर्ने एम्बर (पहेलो) गतिविधिमा सचेत भएर लगानी गर्नु पर्ने र रेड गतिविधिमा लगानी गर्न नहुने ट्याक्सोनोमीमा उल्लेख छ ।

मिथेन र कार्वन उत्सर्जन गर्ने उद्योगमा बैंक वित्तीय संस्थाले लगानी घटाउँदै वातावरण संरक्षण गर्ने माटो संरक्षण गर्ने, दीगो कृषि गतिविधिमा लगानी बढाउनु पर्ने ट्याक्सोनोमीको मस्यौदामा उल्लेख छ ।

उत्पादन बढाउनेभन्दा पनि वातावरणीय पक्षलाई ध्यान दिनु पर्ने नीति ट्याक्सोनोमीको मस्यौदाले दिएको छ । सरोकारवाला निकायले दिने सुझावको आधारमा आगामी वर्षबाट ट्याक्सोनोमी कार्यान्वयनमा आउने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु