४९ जलविद्युत कम्पनीले दिएनन् सेयरधनीलाई लाभांश, २७ ले अझै गराएनन् जानकारी



काठमाडौं । यो वर्ष ४९ वटा जलविद्युत कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९१ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये अहिलेसम्म ६४ वटा कम्पनीले साधारणसभा बोलाएका छन् ।

साधारणसभा बोलाएका कम्पनीमध्ये अहिलेसम्म ४९ वटा कम्पनीले बिना लाभांश सभा बोलाएका छन् । ४९ वटा कम्पनीले गत आवको नाफाबाट लाभांश नदिने भएका छन् । १५ वटा कम्पनीले मात्रै लाभांश दिने भएका छन् । अझै २७ वटा कम्पनीले सभा बोलाउन बाँकी छ ।

कम्पनी ऐन २०६३ को दफा ६७ को २ मा पब्लिक कम्पनीको वार्षिक साधारणसभा गर्नको निमित्त कम्तीमा २१ दिनअगावै सेयरधनीलाई निजहरुले कम्पनीलाई उपलब्ध गराएको ठेगानामा सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय खोली सूचना पठाउनुपर्नेछ भन्ने व्यवस्था छ ।

यस्तै दफा ७६ को १ मा प्रत्येक पब्लिक कम्पनीले कारोबार सुरु गर्ने इजाजत पाएको एक वर्षभित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्नेछ । त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने व्यवस्था छ । २७ वटा जलविद्युत कम्पनीले कम्पनी ऐनको उक्त व्यवस्था उल्लंघन गरेका छन् ।

समयमा सभा नगर्ने र कम्पनी कम्पनी रजिस्टारको कार्यालयलाई समयमा दिनुपर्ने सूचना नदिने कम्पनीलाई कानुनअनुसार जरिवाना गरिने कम्पनी रजिष्ट्रारका उप-रजिस्ट्रार टोपबहादुर बिष्टले बताए । उनका अनुसार कम्पनी ऐनले विभिन्न सूचना माग गरेको हुन्छ । त्यसअनुसार सूचना नदिने र समयमा सभा नगर्ने कम्पनीलाई जरिवाना तिराइने उनको भनाइ छ । कम्पनीहरुले साधारण सभा हुन २१ दिन अघि जानकारी दिनुपर्छ ।

सूचीकृत कम्पनीले समयमा साधारणसभा नगर्दा लगानीकर्ता वास्तविक सूचनाबाट वञ्चित भएका छन् । कम्पनीहरुले समयमा लाभांश घोषण नगर्दा उनीहरुले लाभांशसमेत पाउन सकेका छैनन् । जलविद्युत कम्पनीको गैरजिम्मेवारिपनका कारण समयमा सूचना पाउन नसकेको र सम्बन्धित कम्पनीमा लगानी गर्न योजना बनाउन नसकेको सेयर लगानीकर्ताको भनाइ छ ।

गत आवको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा नगरेका कम्पनीमा मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर, रिडी पावर कम्पनी, अपि पावर, सिनर्जी पावर, पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, लिवर्टी इनर्जी, सामलिङ पावर, बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । 

यस्तै दोर्दी खोला जलविद्युत् कम्पनी, श्वेतगंगा हाइड्रोपावर, राप्ती हाइड्रोपावर एण्ड जनरल कन्ट्रक्सन, मोदी इनर्जी, इस्टर्न हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, दोल्ती पावर कम्पनी, मेन्छियाम हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाईड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् ।

यस्तै अरुण काबेली पावर हिमालयन पावर पार्टनर, शिव श्री हाइड्रोपावर, न्यादी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, बाराही हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, ग्रीन भेन्चर्स, बलेफी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर अप्पर सोलु हाइड्रो इलेक्ट्रीक, सयपत्री हाइड्रोपावर,

एसियन हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, सगरमाथा जलविद्युत, माई खोला हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, इङवा हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् ।


क्लिकमान्डु