विमानस्थलमा ६१ दिनको सीसीटीभी फुटेजको व्यवस्था, ३ महिनाको रेकर्ड राख्ने व्यवस्था गरिँदै



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ दिन, ६१ दिन र ९० दिन क्षमताका सीसीटीभीको व्यवस्था गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

कानुनमा तीन महिनाको सीसीटीभी फुटेज हुनुपर्ने व्यवस्था भए पनि विमास्थलमा २१ दिनको मात्र स्टोरेज भएको समाचार क्लिकमान्डुमा प्रकाशन भएको थियो । २१ दिनको मात्र सीसीटीभी फुटेज हुँदा सुन तस्करीको अनुसन्धानमा समस्या भएको १४ किलो सुन तस्करीको अनुसन्धानका लागि गठन भएको समितिले जनाएको थियो ।

विमानस्थल कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै विमानस्थलमा रहेको ५०० वटा सीसीटीभीमध्ये सबैलाई ९० दिन क्षमताको बनाउने प्रयास गरिरहेको जानकारी दिएको छ ।

विमानस्थलमा हाल १७० भन्दा बढी निकायले काम गर्ने र सबैको एकल रुपमा गर्ने गतिविधिले विमानस्थलको सामूहिक लक्ष्य पूरा गर्न गाह्रो पर्ने भएकोले सबै सीसीटीभीलााई ९० दिन क्षमताकै बनाउने काम भइरहेको कार्यालयले जनाएको छ ।

सीसीटीभी जडानको कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गर्ने र त्यसको संचालन तथा निगरानी नेपाल प्रहरीले गर्दै आएको छ ।

हाल अध्यागमन कार्यालय र भन्सार कार्यालयले पनि आ–आफ्नो क्षेत्रमा सीसीटीभी जडान गरी संचालन तथा निगरानी गर्दै आएका छन् । विमानस्थल भित्रको संदिग्ध गतिविधि सम्बन्धमा सूचना दिन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत विभिन्न निकायहरु कार्यरत रहेका छन् ।

विमानस्थल कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सीसीटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेको थियो । कोभिड १९ का कारण आर्थिक गतिविधिमा आएको सुस्तताले उक्त कार्यका लागि बजेट अभाव हुँदा समयमा नै काम गर्न नसकेको विमानस्थल कार्यालयको दाबी छ ।

विमानस्थल कार्यालयले आव २०७९/८० मा बजेटको आवश्यक व्यवस्था गरेर २०८० को असोज २७ मा रेकर्ड स्टोरेज विस्तारको प्रक्रिया अगाडि बढाएको बताएको छ । हाल विमानस्थल कार्यालयले जडान गरेको १६ टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरुमा २१ दिनको मात्रै स्टोरेज क्षमता भएको र विस्तारै बढाउँदै जाने दाबी पनि विमानस्थल कार्यालयको छ ।

सीसीटीभीको क्षमता विस्तारको सुरु गरिएको ९० दिन नै नपुगेकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमता भइसकेको छ भने सबैलाई ९० दिन क्षमताको बनाउने विमानस्थल कार्यालले जनाएको छ ।

सीसीटीभीमा जडान कार्य सामान्य प्राविधिक समस्या आउँदा दैनिक रुपमा नै समाधान गरिँदै आएको पनि विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विमानस्थलभित्र कार्यरत जो कोही पास वाहकले हवाई सुरक्षाको मापदण्ड बमोजिम सुरक्षा नेपालमा प्रवेश अनुमति पाउने व्यवस्था छ । हवाई सुरक्षा विरुद्धको गैरकानुनी हस्तक्षेप मानव तस्करी सुन तस्करी जस्ता गैरकानुनी गतिविधिः नियन्त्रण गरी स्तरीय यात्रु सेवा सुविधामार्फत यात्रुको यात्रा सुखद आरामदायी बनाउन र सुरक्षित तथ्यांक राख्न विमनस्थल प्रतिवद्ध रहेको पनि उल्लेख छ ।


क्लिकमान्डु