मंसिरसम्ममा साढे २४ अर्ब विदेशी लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा बढ्दो आकर्षण



काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्ममा विभिन्न मुलुकका विदेशी लगानीकर्ताले साढे २४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता छन् । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २२० वटा उद्योगमा २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ ।

मंसिरसम्ममा लगानीकर्ताले नयाँ उद्योगमा २० अर्ब ६१ करोड ५ लाख ७८ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् भने सञ्चालनमा रहेको उद्योग अर्थात् सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)/एसएसए सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए)/टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)मा ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उक्त उद्योगबाट १० हजार १२० जनाले रोजगारी पाउने जनाइएको छ ।

त्यस्तै, मंसिरमा मात्रै विदेशी लगानीमा २१ वटा नयाँ उद्योग दर्ता हुँदा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने एसपीए/एसएसएमार्फत् २ वटा उद्योगमा ३० करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

विभागमा हालसम्ममा वैदेशिक लगानीका ६ हजार ५८ वटा नयाँ उद्योग दर्ता भएका छन् । ति उद्योगमा विदेशी लगानीकर्ताले ४ खर्ब ७० अर्ब ५७ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । साथै, ३ लाख १९ हजार २१७ जनालाई रोजगारी प्रतिबद्धता जनाइएको छ ।

मंसिरसम्ममा १९९ वटा नयाँ उद्योगमा लगानी प्रतिबद्धता जनाउँदा ३ वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ। त्यस्तै, मध्यम वर्गको ७ वटा र साना वर्गको १८९ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

मंसिरसम्मको तथ्याङ्क अनुसार विदेशी लगानीकर्ताको लगानीको आकर्षक क्षेत्र पर्यटन रहेको पाइएको छ । पाँच महिनाको अवधिमा लगानी प्रतिबद्धता जनाएकामध्ये करिब आधा हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ । विभागअनुसार उक्त अवधिमा ९५ वटा पर्यटन क्षेत्रमा अर्थात् ४८ प्रतिशत लगानी प्रतिबद्धता लगानीकर्ताले जनाएका छन् ।

त्यसपछि, सेवा क्षेत्रमा ७४ वटा उद्योग (३७ प्रतिशत), उत्पादन क्षेत्रमा १९ वटा (१० प्रतिशत), सूचना तथा प्रविधि क्षेत्रमा ५ वटा (३ प्रतिशत), पूर्वाधार क्षेत्रमा ४ वटा (२ प्रतिशत) र खनिज र कृषि क्षेत्रमा एक/एक वटा उद्योग दर्ता गरी लगानी प्रतिबद्धता जनाइएको छ । विद्युत क्षेत्रमा भने लगानी प्रतिबद्धता आएको छैन ।

मंसिरसम्ममा लगानी प्रतिबद्धता जनाएका १२ सय लगानीकर्ताले बिजनेश भिसा लिएका छन् । त्यसबाहेक लगानीकर्ताको १४१ जना प्रतिनिधि र ३६० जनाले डिपेन्डेन्टमार्फत् बिजनेश भिसा लिएका छन् । साथै, ५३ जनाले एनटी भिसा लिएका छन् ।

५ अर्ब बढी रकम विदेश लैजान प्रस्ताव

विदेशी लगानीकर्ताले पाँच महिनाको अवधिमा साढे २४ अर्ब लगानी प्रतिबद्धता जनाउँदा ५ अर्ब रुपैयाँ बढी रकम विदेश लैजान विभागमा प्रस्ताव गरेका छन् ।

विदेशी लगानीमा सञ्चालनमा रहेका कम्पनीहरुबाट कमाएको लाभांश र रोयल्टीसहित ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ विदेशमा लैजान प्रस्ताव आएको विभागले जनाएको छ ।

विभागअनुसार विदेशी लगानीकर्ताले रोयल्टीवापत १ अर्ब २ करोड ६५ लाख रुपैयाँ, ६ लाख ९२ हजार अमेरिकी डलर (आजको विनिमयदरअनुसार ९ करोड २४ लाख रुपैयाँ), १३ करोड ८६ लाख भारतीय रुपैयाँ (२२ करोड १८ लाख रुपैयाँ) विदेश लैजान विभागमा प्रस्ताव गरेका छन् ।


क्लिकमान्डु