अन्तर बैंक कारोबार २.६५ प्रतिशतमा गरेका बैंकहरुले राष्ट्र बैंकसँग मागे ३% भन्दा बढी ब्याज



काठमाडौं । मंसिर २१ गते नेपाल राष्ट्र बैंकमा ०.४९ प्रतिशत ब्याजदरमा निक्षेप राख्न तयार भएका बैंकहरुले बिहीबार राष्ट्र बैंकमा निक्षेप राख्न ३ प्रतिशतभन्दा बढी ब्याज मागेका छन् । राष्ट्र बैंकले बोलकबोल विधिबाट २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको थियो ।

बैंकहरुले राष्ट्र बैंकमा पैसा राख्न निक्षेप संकलन दरभन्दा बढी ब्याज मागेपछि बिहीबार राष्ट्र बैंकले २ अर्ब २५ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ। हाल निक्षेप संकलन दर ३ प्रतिशत रहेको छ ।

बिहीबार २.६५ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार गरेका बैंकहरुले राष्ट्र बैंकमा निक्षेप राख्न २.९४ प्रतिशतभन्दा बढी ब्याज मागेका थिए । राष्ट्र बैंकले ३ प्रतिशत कट अफ रेट निर्धारण गर्दै ३.०९ प्रतिशतसम्म ब्याज माग्ने संस्थाबाट निक्षेप संकलन गरेको छ ।

राष्ट्र बैंकले बिहीबार औषतमा २.९९ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेको हो । अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा मुनि झरेपछि राष्ट्र बैंकले यही मंसिर ६ गतेबाट निक्षेप संकलन गर्न सुरु गरेको थियो ।

बिहाबारसम्म राष्ट्र बैंकले ९ पटक निक्षेप संकलन गरिसकेको छ । हाल बैंकहरुबाट उठाएको ७२ अर्ब २५ करोड रुपैयाँ राष्ट्र बैकमै छ । जसले गर्दा बिहीबार अन्तर बैंक ब्याजदर २.६५ प्रतिशत पुगेको छ । बैंकहरुसँग पर्याप्त तरलता हुँदा अन्तर बैंक ब्याजदरमा तिब्र गिरावट आएको थियो ।

अहिले राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थालेपछि फेरी अन्तर बैंक ब्याजदर उकालो लाग्न थालेको छ । बोलकबोल विधीबाट आह्वान भएको प्रस्तावमा बैंकहरुले बढी ब्याज माग गर्नु स्वभाविक भएको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख समेत रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ बताउँछन् ।

‘बैंकले बढी लाभ लिन खोज्नु स्वभाविक हो । तर, हामीले निक्षेप संकलन दर भन्दा बढी ब्याज दिनु हुँदैन,’ श्रेष्ठले भने, ‘अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथी स्टेबल नहुँदा सम्म राष्ट्र बैंकले नियमित रुपमा निक्षेप संकलन गर्नु पर्छ ।’

बिहीबार २० अर्ब रुपैयाँ उठाउने प्रस्ताव आह्वान गर्दा २ अर्ब २५ करोड रुपैयाँ मात्रै संकलन गरेको राष्ट्र बैंकले पुस १ गते फेरी बोलकबोल विधीबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको छ । कम ब्याजदर कबोल गर्ने वित्तीय संस्थाबाट निक्षेप संकलन हुने राष्ट्र बैंकले जनाएको छ ।

पूर्वबैंकर भुवन दाहाल राष्ट्र बैंकले नियमित रुपमा बजारबाट निक्षेप संकलन गरेर ब्याजदरलाई करिडोरको सीमाभित्र राख्ने प्रयास गर्नु सकारात्मक भएको बताउँछन् ।

राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन नगर्दा ब्याजदर न्यून बिन्दुमा हुने र त्यसले कोरोना महामारीको क्रममा जसरी कमसल प्रकृतिको कर्जा प्रवाह हुने जोखिम भएकाले राष्ट्र बैंकले ब्याजदरलाई करिडोरको सीमा भित्र राख्न खोजेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

हाल राष्ट्र बैंकले ३ देखि ७ प्रतिशतको ब्याजदर करिडोर सीमा निर्धारण गरेको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत, नीतिगत दर ५.५ प्रतिशत र बैंक दर ७ प्रतिशत तोकेको छ । निक्षेप संकलन दर भन्दा अन्तर बैंक ब्याजदर कम हुँदा राष्ट्र बैंकले बजारबाट पैसा उठाउनु र अन्तर बैंक ब्याजदरभन्दा बैंक दर बढी हुँदा बजारमा पैसा पठाउनु पर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । ‘ब्याजदर राष्ट्र बैंकले तोकेको सीमा भित्र राख्न पनि खुल्ला बजार सञ्चालन हुन पर्छ,’ श्रेष्ठले भने ।


क्लिकमान्डु