किसान आन्दोलनले रोकियो उखु क्रसिङ



काठमाडौं । उखु किसानले पुरानो वक्यौता अनुदानबापतको रकम पाउनुपर्ने माग राख्दै उखु नकाट्ने निर्णय गरेका छन् । उत्पादन प्रवर्धन खर्चबापतको ५२ करोड रुपैयाँ वक्यौता भुक्तानी र चालु आर्थिक वर्षका लागि न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग राख्दै आइतबारदेखि सर्लाही, महोत्तरी, नवलपरासी र कञ्चनपुरका किसानले उखु नकाट्ने निर्णय लिएका हुन् ।

नेपाल उखु किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले पुरानो वक्यौता र चालु आर्थिक वर्षका लागि समर्थन मूल्य घोषणा नहुँदासम्म उखु नकाट्ने निर्णय भएको जानकारी दिए । पहुँचको भरमा केही जिल्लाका किसानलाई उत्पादन प्रवर्धन खर्चबापतको रकम भुक्तान गरिए पनि बाँकी जिल्लाको भुक्तानी नभएको उनले बताए ।

किसानले उखु नकाट्दा सोमबारदेखि सर्लाहीको इन्दुशंकर चिनी मिल र महोत्तरीको एभरेष्ट सुगर मिल सञ्चालन गर्ने पूर्वयोजना तुहिएको छ ।

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले किसानले पुरानो रकम पाउनुपर्ने र चालु वर्षका लागि मूल्य तोक्नुपर्नेलगायतका माग राखेर उखु नकाट्दा पूर्वयोजनाअनुसार सोमबारदेखि मिल सञ्चालन गर्न नसकिएको जानकारी दिए । ‘सोमबारदेखि हामी क्रसिङ सुरु गर्छौं भनेर सबै तयारी गरेका थियौं तर किसानको आन्दोलनका कारण सुरु हुन सकेन,’ अग्रवालले भने ।

उनका अनुसार वीरगन्जको रिलायन्स चिनी मिलले भने सरकारले तोक्ने समर्थन मूल्य स्वीकार गर्ने सर्तमा किसानबाट उखु खरिद गरी सोमबारदेखि क्रसिङ थालेको छ । यस्तै महालक्ष्मी, बैजुवाबा र पश्चिमका सुगर मिलले क्रसिङ सुरु गरेको उनले बताए ।


क्लिकमान्डु