घरजग्गा र सेयर बजारको जाखिम भार १२५ प्रतिशत कायम गर्दा बजारमा कस्तो प्रभाव पर्छ ?



काठमाडौं । लामो समयदेखि निजी क्षेत्रले माग गर्दै आएका धेरै विषय नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् सम्बोधन गर्ने प्रयास गरेको छ ।

मौद्रिक नीतिको समीक्षाले सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकले १५० प्रतिशत रहेको घरजग्गा र सेयर कर्जाको जोखिम भार घटाएर १.२५ प्रतिशतमा झारेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त व्यवस्थाले अर्थतन्त्र चलायमान बनाउन टेवा पुग्ने दावी छ ।

घरजग्गा र सेयरमा प्रवाह हुने कर्जामा १५० प्रतिशतको जोखिम भार लगाएर यी क्षेत्रमा लगानी निरुत्साहित गरेको राष्ट्र बैंकले अहिले जोखिम भार १२५ प्रतिशतमा झार्दा बजारमा कस्तो प्रभाव पार्छ ? नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी भन्छन्, ‘यो व्यवस्थाले समग्र बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँको हाराहारीमा पुँजीकोष थप गर्छ, जुन–जुन बैंकहरु टाइट पुँजीकोषमा काम गरिरहेका थिए उनीहरुलाई थप बिजनेश गर्न सहज भएको छ ।’

४० अर्ब रुपैयाँको हाराहारीमा पुँजी थपिँदा व्याज थप घट्नसक्ने हुँदा यसको लाभ आम ऋणीले लिनसक्ने उनको भनाइ छ ।

‘जोखिमभार घटाउने राष्ट्र बैंकको नीतिलाई आइतबारको सेयर बजारले भव्य स्वागत गरेको छ,’ अध्यक्ष केसीले क्लिकमान्डुसँग भने, ‘अब ब्याजदर थप सस्तो हुन्छ भन्ने बजारको विश्वास देखिन्छ ।’

केसी सीइओ रहेको एनएमबि बैंकले आज (सोमबार)देखि लागू हुनेगरी ब्याजदर पनि घटाइसेकेको छ ।

राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरेको छ । आन्तरिक रेमिट्यान्स खोल्ने, पोलिसी रेट घटाउने, बैंक दर घटाउने, परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनःसंरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

राष्ट्र बैंकको पछिल्लो नीतिले व्यवसायीहरु पनि उत्साहित भएका छन्। अर्थतन्त्रमा देखिएको समस्या पूर्णरुपमा सम्बोधन गर्ने गरी नीति नआए पनि केही मात्रामा राम्रो प्रयास भएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् ।

‘एक वर्षअघि नै यस्तो नीति आएको भए यतिबेला अर्थतन्त्र चलायमान भइसकेको हुन्थ्यो,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले क्लिकमान्डुसँग भने, ‘यसका लागि निजी क्षेत्रले धेरै नै लड्नु पर्यो । सबै माग सम्बोधन नभए पनि हामीले उठाउँदै आएका धेरै मागहरु सम्बोधन भएका छन् । यसले अर्थतन्त्रमा उत्साह थप्ने निश्चित छ ।’

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष बिदुर धमलाले रियल इस्टेट कर्जामा जोखिम भार घटाएकाले व्यवसायीहरुलाई केही सहज हुने बताए ।

धमलाका अनुसार जोखिम भार १५० प्रतिशत हुँदा व्यवसायीले पनि कम कर्जा लिने अवस्था थियो भने ब्याजदर पनि केही महंगो पर्नजान्थ्यो । जोखिम भार १२५ प्रतिशत बनाउँदा कर्जाको दायरा केही मात्राले बढेको छ भने ब्याजदर पनि केही सस्तो हुन्छ । उक्त व्यवस्थाले कारोबारमा उल्लेख्य वृद्धि नगरे पनि केही सहजको वातावरण सिर्जना हुनेछ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) निश्चल पाण्डे राष्ट्र बैंकले जोखिम भार घटाएकाले बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा सहज हुने बताउँछन् ।

‘बैंकहरुले जोखिम भारमा पाएको सहुलियतले बैंकहरुलाई ४० अर्ब रुपैयाँको हाराहारीमा पुँजी थप हुन्छ,’ सीइओ पाण्डेले भने, ‘मौद्रिक नीतिको कार्यान्वयन गर्न निर्देशिका आउन बाँकी नै छ । उक्त निर्देशिका जारी भई स्पष्ट गरेमा बैंकहरुलाई सहज हुनेछ।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारको क्षमता बढाउन खोजको उनको भनाइ छ ।

‘मौद्रिक नीतिमा लिइएको कर्जा विस्तारको लक्ष्यभन्दा अत्यन्तै कम मात्रै कर्जा विस्तार हुने देखेपछि राष्ट्र बैंकले कर्जा केही बढोस् भन्ने चाहेको देखिन्छ,’ उनले भने ।

कामना सेवा विकास बैंकका सीइओ दिनेश थकाली जोखिम भार खटाउँदा खासै ठूलो प्रभाव नपरे पनि बैंकहरुलाई कर्जा बढाउने सानो स्पेश थपिएको बताउँछन् ।

‘खासै ठूलो प्रभाव त पर्दैन तर हामी लचिलो हुँदैछौं भन्ने सन्देश भने राष्ट्र बैंकले दिएको छ, त्यसले बजारमा विश्वास बढाउँछ,’ थकालीले भने, ‘त्यसको परिणाम निश्चय पनि सकरात्मक नै हुन्छ ।’

राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेलले व्यवसायी र बैंक तथा वित्तीय संस्था दुबै क्षेत्रलाई सहज हुने गरी नीति ल्याएको बताए । पोखरेलका अनुसारघरजग्गा र सेयर बजारका ऋणीहरुको कर्जा लिने क्षमता बढी हुनेछ भने बैंक तथा वित्तीय संस्थाहरुको लगानी क्षमता पनि बढ्ने छ ।

सरकारले यसअघि अर्थतन्त्रमा समस्या देखिएकाले घरजग्गा क्षेत्रमा कर्जा प्रवाहमा कडाइ गरेको थियो । अहिले अर्थतन्त्रको सूचक विस्तारै सुधार हुँदै गएकाले अर्थतन्त्र चलायमान सहज बनाउन राष्ट्र बैंकले लचिलो नीति अबलम्बन गरेको उनले बताए ।

बैंकहरुले उक्त रकम विभिन्न क्षेत्रमा लगानी गरेर लाभ लिन सक्छन् ।
र, अर्को कुरा जोखिम भार बढी भएको क्षेत्रमा बैंकले बढी ब्याज लिने गर्छन् भने कम हुँदा बैंकको लागत पनि कम हुन गई ब्याजदर पनि केही कम हुने निश्चित छ ।


क्लिकमान्डु