सरकारले भ्याट लगाएपछि बजारमा आलु र प्याजको चर्को अभाव



काठमाडौं । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन भएर बजारमा जाने आलु र प्याजमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि त्यसको प्रभाव उपत्यकासहित देशभरको बजारमा देखापरेको छ ।

किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमासमेत भ्याट लगाएको आरोप लगाउँदै मंगलबार साँझदेखि उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री बितरणमा रोक लगाएका छन् ।

व्यवसायीहरुका अनुसार विभागले बजार अनुगमनको क्रममा स्वदेशी आलु प्याजको हकमा समेत भ्याट बील खोज्न थालेपछि व्यवसायीहरुले मंगलबार साँझदेखि आलु प्याजको आपूर्ति र कारोबार दुवै बन्द गरेका छन् ।

बजारमा आलु र प्याज आपूर्ति नहुँदा सर्वसाधारणदेखि होटेल, रेष्टुरा तथा पार्टी प्यालेसले आलु प्याजको चर्को अभाव व्यहोर्न बाध्य भएका छन । अहिले विहे व्रतवन्धको मुख्य सिजन भएकाले बजारमा आलु र प्याजको माग उच्च छ । आलु प्याज व्यवसायी महासंघका महासचिब प्रकाश गजुरेलका अनुसार उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आन्तरिक राजस्व विभागका अनुगमन टोलीले नियमन गर्ने क्रम सुरु गरेको छ ।

‘अनुगमनको क्रममा स्वदेशमा उत्पादन भएको आलु प्याजको हकमा पनि भ्याट बील खोज्न थालेको छ,’ गजुरेलले भने, ‘स्वदेशी आलु प्याजको हकमा किसान र व्यवसायीसँग भ्याट बील छैन । यस्तो अवस्थामा विभागका कर्मचारीले किसान र व्यवसायीलाई घरपकड र कारवाहीको लागि पत्र काट्न थालेपछि स्वस्फूर्तरुपमा किसान र व्यवसायी संयुक्त रुपमा आलु प्याजको आपूर्ति र कारोबार ठप्प गरेका छन् ।’

उनका अनुसार मंगलबार रातिदेखि व्यवसायीले भारत र आन्तरिक बजारबाट आलु आपूर्ति गरेका छैनन् । प्याजको अधिकाँश हिस्सा भारतबाटै आउने भएकाले उताबाट प्याजसमेत आपूर्ति नगरेकाले बजारमा आलु र प्याजको चर्को अभाव सिर्जना भएको हो । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिब भरत खतिवडाले जानकारी दिए ।

‘सरकारको पछिल्लो निर्णयका कारण अनुदान प्राप्त भारतीय कृषि उपजसँग स्वदेशी कृषि उपजले झनै बजारमा प्रतिस्र्पधा गर्न नपाउने भयो,’ खतिवडाले भने, ‘भारतसहित तेश्रो मुलुकबाट आयात हुने आलु प्याजमा भ्याट लाग्दा हाम्रो कुनै गुनासो छैन । तर स्वदेशी उत्पादनमा भ्याट लगाउँदा किसान र गाउँघरका साना संकलनकर्ताले कसरी भ्याट बील उपलब्ध गराउन सक्छन् ?’

बजेट आउनु पूर्व तरकारी व्यवसायीले अर्थ मन्त्रालयका विभिन्न अधिकारीसँग भेटेर छलफल समेत गरेको जानकारी दिदैं गजुरेलले तत्कालिन समयमा आन्तरिक आलु प्याजसहित तरकारीमा भ्याट नलगाउने भनेर आश्वासन दिइएको बताए ।

‘तर अहिले स्वदेशमा उत्पादन हुने आलु र प्याजमा पनि भ्याट बील लगाएर सरकारले द्वैद्य चरित्र देखायो । यसले गर्दा स्वदेशी किसानको उत्पादनले बजार नपाउने अवस्था सिर्जना गरेको छ ।’

उपत्यकामा मात्रै एक दिनमा १ सय टनको हाराहारीमा आलु र प्याजको कारोबार हुन्छ । बजारमा आलु र प्याजको आपूर्ति र कारोबार नहुँदा बुधबार मूल्य पनि एक्कासी बढेको छ ।

सोमबारसम्म प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको आलुको मूल्य बुधबार ६० पुगेको छ । यस्तै ९० रुपैयाँ प्रतिकिलोमा पाइने प्याजको मूल्य बढेर १ सय ४० पुगेको छ ।


क्लिकमान्डु