आन्तरिक वायुसेवाको स्थायित्वमै समस्या, उदाउनेभन्दा अस्ताउने बढी



काठमाडौं । नेपालमा दुई दशकको अवधिमा आन्तरिक वायुसेवा कम्पनीको संख्या ४३ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दर्ता गर्ने तर मन्त्रायलबाट २०० मिटरबाहिरको नेपाल नागरिक उड्डयन प्राधिकरण पुग्दा हराउने वायुसेवाको संख्या पनि उत्तिकै छ ।

यसको अर्थ पर्यटन मन्त्रालयबाट अनुमति लिन्छन् तर आवश्यक प्रक्रिया पूरा गरेर प्राधिकरणबाट उडान अनुमति (एओसी) लिन भने सक्दैनन् । जसका कारण कुनै पनि आन्तरिक वायुसेवा दर्ता भयो भने पनि त्यसको स्थायित्वमाथि सधैं प्रश्न उठ्ने गर्छ ।

प्राधिकरणबाट अनुमति लिएका वायुसेवा पनि केही समय सञ्चालन हुन्छन्, एक-दुईवटा जहाज राखेर आक्रामक रणनीति बनाउँछन् तर बजारमा उपस्थिति भने न्यून हुन्छ । रणनीतिअनुसारको प्रतिफल दिने गरी काम गर्न नसकेकै कारण आन्तरिक वायुसेवा उदाउनै नसकी अस्ताउने संख्या धेरै हुन पुगेको छ ।

अहिले आन्तरिक उडानमा ८ वटा वायुसेवाले नियमित सेवा दिइरहेका छन् भने १० वटा हेलिकप्टर कम्पनी सञ्चालनमा छन् । पर्यटन मन्त्रालयबाट अनुमति लिएका वायुसेवाको संख्या भने १९ पुगेको छ । हेलिकप्टर सेवा सञ्चालन गर्ने गरी अनुमति लिने कम्पनीको संख्या पनि २४ छ ।

पर्यटन मन्त्रालयबाट अनुमति लिएका तर आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा अनुमति लिन नसकेका हेलिकप्टरको संख्या ४ वटा छन् । यी हेलिकप्टर कम्पनी अहिले पनि अनुमतिका लागि विभिन्न चरणमा रहेको प्राधिकरणअन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागले जनाएको छ।

विभागका अनुसार हाल आरएस हेलिकप्टर, शिवम् हेलिकप्टर, सगरमाथा हेलिकप्टर र धौलागिरि हेलिकप्टरले सञ्चालन अनुमति माग्दै एओसीका लागि आवेदन दिएका छन् । तर, सबैले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा नगरेको हुँदा उडान अनुमति भने पाएका छैनन्। प्राधिकरणका अनुसार यी वायुसेवा कम्पनी विभिन्न चरणमा एओसीको पर्खाइमा छन् ।

अढाई दशकदेखि सेवा दिएका आन्तरिक वायुसेवा बुद्ध एयर र यति एयरलाइन्स स्थापित वायुसेवा कम्पनी हुन् । यी दुई वायुसेवासँग थुप्रै कम्पनी प्रतिस्पर्धा गर्न आए । तर, टिक्न सकेनन् ।

आन्तरिक वायुसेवामा अहिले प्रतिस्पर्धीका रूपमा श्री एयरलाइन्स थपिएको छ । अन्य वायुसेवाको उपस्थिति नै बलियो हुन नसक्दा उड्डयन क्षेत्रमा बुद्ध, यति र सिम्रिकपछि अर्को ठूलो प्रतिस्पर्धी कम्पनी जम्न सकेकै छैन ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल धेरैजसो वायुसेवा पूर्वतयारी नगरी र दीर्घकालीन लगानीको रणनीति नबनाई लहडका भरमा आउने गरेको बताउँछन् । उनका अनुसार धेरैजसो वायुसेवा आर्थिक अभावकै कारण सञ्चालन हुन नसक्ने र बन्द हुने गरेका छन् ।

विमान दुर्घटनापछि जहाज थप्न नसक्दा स्तर पनि कमजोर हुँदै गएको छ । वायुसेवा आउन हतार गर्नु तर सञ्चालनको उपयुक्त मोडल बनाउन नसक्नु र ब्याक अप पनि नहुनु नै सबैभन्दा ठूलो समस्या भएको बुझाइ भुलको छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेल पनि अन्य क्षेत्रले जस्तै सजिलै पैसा कमाउने ठाउँ हो भन्ने लागेर प्राविधिक पक्ष नबुझी हामफाल्नु नै प्रमुख समस्या भएको बताउँछन् । ‘वायुसेवा सञ्चालन गर्नु र बाहिरिनु दुबै असहज काम हो तर प्राविधिक पक्षलाई बेवास्ता गरेर आउने धेरै लगानीकर्ता फस्ने गरेका छन्,’ उनले भने ।

वायुसेवा सञ्चालन गर्न प्राविधिक पक्ष बलियो हुनुपर्न भने आर्थिक पक्ष पनि त्यत्तिकै सन्तुलित हुनुपर्ने कँडेलको भनाइ छ । बाहिरबाट देख्दा हवाई बिजनेस जति ग्ल्यामर र एड्भेन्जर्स देखिन्छ, भित्र त्यति नै चुनौतीपूर्ण भएको उनले स्पष्ट पारे ।

व्यवस्थित सञ्चालन र सहजीकरण गर्दै सरकार

आन्तरिक वायुसेवाको स्थायित्वका लागि व्यवस्थित सञ्चालन र सहजीकरण गर्दै आएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हवाई उडान सञ्चालन गर्न सहजीकरण गर्दै आएको भए पनि सम्बन्धित वायुसेवाले नै गर्ने कमजोरीका कारण स्थापित हुन नसकेको तर्क गर्छन् ।

‘सरकारले सबै नागरिकलाई व्यापार व्यवसाय गर्न पाउने हकअनुसार तोकिएको सर्त पूरा गरेर आउनेलाई इजाजत रोकेको छैन र रोक्न मिल्दैन पनि,’ उनले भने, ‘मन्त्रालयबाट इजाजत लिएर बाटैमा हराउनेको विषयमा खोजी गर्दै हिँड्न पनि सकिँदैन ।’

पर्यटन मन्त्रालयले दर्ता गरेर हराउने र सञ्चालनपछि अत्तोपत्तो नहुने क्रम बढेपछि सबैलाई नवीकरण अनिवार्य गरिएको उनले जानकारी दिए । २०६६ सालअगाडि एकपटक दर्ता भएपछि वार्षिक नवीकरण गर्नु नपर्ने व्यवस्थालाई संशोधन गरेर नियमित नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ मा प्राधिकरणको काम, कर्तव्य र अधिकारमा वायुसेवाको नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर, आन्तरिक वायुसेवाले भने एकपटक अनुमति लिएपछि दुई दशकसम्म नवीकरण नै गरेनन् ।

यसमा सुधार गर्दै वायुसेवाको अवस्था नियमित जानकारीमा राख्न र कम्पनीलाई थप प्रभावकारी सेवा दिने बनाउन सरकारले ‘नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत दिनेसम्बन्धी कार्यविधि २०६६’ जारी गर्‍यो ।

सोही कार्यविधिअनुसार वायुसेवाको नवीकरण हरेक ४ वर्षमा गर्नुपर्ने व्यवस्था छ । पछिल्लो दुई वर्षदेखि सबै वायुसेवा कम्पनीलाई अनिवार्य दर्ता गराउन थालिएको पर्यटन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) मुकेश डंगोलले जानकारी दिए ।

कसरी हुन्छ अन्तरिक वायुसेवा दर्ता, अति लाग्छ शुल्क ?

आन्तरिक वायुसेवा कम्पनी वा फर्मको रूपमा दर्ता भएपछि ‘नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत दिनेसम्बन्धी कार्यविधि २०६६’ अनुसार निवेदन दिनुपर्छ ।

कम्पनी दर्ता गर्न आन्तरिक वायुसेवाले १५ करोड र अन्तर्राष्ट्रिय वायुसेवाको हकमा ५० करोड चुक्तापुँजी चाहिन्छ । यस्तो वायुसेवा कम्पनीले कम्तीमा ३ वटा जहाज सञ्चालन गर्ने उपयुक्त योजना भने पेस गर्नुपर्ने हुन्छ ।

वायुसेवा कम्पनीले इजाजतपत्र लिन १० हजार रुपैयाँ निवेदन दस्तुर तिरेर आवेदन दिनुपर्नेछ । तर, निश्चित उडान क्षेत्र नतोकिएको चार्टर सेवा प्रदान गर्ने वा दुर्गम क्षेत्रमा रहेको कच्ची विमानस्थल (एसटीओएल)मा उडान गर्ने वायुसेवाले हरेक उडान क्षेत्रमा ३ हजार रुपैयाँ शुल्क छुट पाउँछन् ।

आन्तरिक वायुसेवा सञ्चालन गर्न प्रतिउडान क्षेत्रका लागि ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ । उदाहरणका लागि काठमाडौंबाट बाहिरका ५ वटा विमानस्थल जाने हो भने १ लाख ५० हजार बुझाउनुपर्ने हुन्छ ।

उडान क्षेत्र नतोकिएको चार्टर उडान गर्ने तथा दुर्गम क्षेत्रको विमानस्थलमा उडान गर्ने वायुसेवाले भने प्रतिउडान क्षेत्रको २० हजार रुपैयाँका दरले शुल्क बुझाए पुग्ने व्यवस्था कार्यविधिमा छ । हेलिकप्टरबाट चार्टर सेवा सञ्चालनका लागि भने एकमुष्ठ १ लाख रुपैयाँ बुझाए पुग्छ।

यसरी दर्ता भएका वायुसेवाले पर्यटन मन्त्रालयमा इजाजतपत्र नवीकरण गराउँदा सुरु इजाजतपत्र लिँदा तिरेको दस्तुरको आधा रकम तिरेर हरेक ४ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

सञ्चालनमा रहेका वायुसेवा कम्पनी

हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणबाट उडान सञ्चालन अनुमतिपत्र (एओसी) लिएर सेवा दिइरहेका वायुसेवाको संख्या ८ वटा छ। बुद्ध एयर, नेपाल एयरलाइन्स, श्री एइरलाइन्स, सीता एयर, समिट एयर, सौर्य एयर, तारा एयर र यति एयरलाइन्सले नियमित सेवा दिइरहेका छन् ।

जहाज भएर पनि गुण एयरको भने उडान अनुमति निलम्बनमा छ । कर्मचारीमाथिको न्यूनतम् दायित्व पूरा नगरेका कारण हवाई उडानमा चुनौती थपिन सक्ने भन्दै प्राधिकरणले यसको उडानमा रोक लगाएको हो ।

सञ्चालनमा रहेका हेलिकप्टर कम्पनी १० वटा छन् । एयर डाइनेष्टी हेलि सर्भिसेज, अन्नपूर्ण हेलिकप्टर, अल्टिच्युड एयर, फिस्टेल एयर, हेलि एभरेष्ट, कैलाश हेलिकप्टर सर्भिसेज, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, श्री एयरलाइन्स र सिम्रिक एयर सञ्चालनमा छन् ।

गत महिना सोलुखुम्बुमा दुर्घटना भएपछि भने मनाङ एयर जहाजविहीन भएको छ । मुस्ताङ हेलिकप्टरले भएको एउटा जहाज पनि थन्क्याएको थियो । कम्पनीले एक महिनाअघि हेलिकप्टर थप गरेकाले पुनः उडानको तयारी गरिरहेको छ ।


राजु बास्कोटा