प्रविधिको प्रयोगसँगै हरायो एसएमएस, निःशुल्क सुविधाले म्यासेन्जरमा थुप्रियो सन्देश



काठमाडौं । डिजिटल प्रविधिको प्रयोगले व्यक्ति-व्यक्तिबीच हुने सर्ट म्यासेज सर्भिस (एसएमएस)को आदनप्रदान करिब शून्य भएको छ । मोबाइलमा प्रयोग हुने ओभर दि टप (ओटीटी) सेवाको बढ्दो प्रयोगले म्यासेज नै हराउन थालेको छ भने म्यासेन्जरको प्रयोग भने बढिरहेको छ ।

पाँच-सात वर्ष अघिसम्म दसैंमा म्यासेजमार्फत शुभकामना आदनप्रदान हुने गरेको थियो । सहजै वाइफाई इन्टरनेटको प्रयोग जहाँ पुग्यो त्यहीँ हुने र मोबाइल सेवाप्रदायकले सस्तोमा डेटा प्याक दिन थालेपछि म्यासेजको प्रयोग ठप्प हुन थालेको हो ।

अहिले दसैंको शुभकामना आदनप्रदान म्यासेन्सरबाटै हुन्छ । म्यासेन्जरको पहुँच नहुने र पुराना पुस्ता तथा संस्थागत प्रतिनिधित्व देखाउन चाहनेले मात्रै म्यासेज गर्ने गरेका छन् । यस्तो म्यासेजको प्रयोग नगन्य मात्रामा हुने गरेको छ ।

म्यासेन्जरको प्रयोग गरेर दसैंको शुभकामना आदानप्रदान गर्ने र डिजाइन गरेर फोटोसहितको शुभकामना दिने प्रचालनका कारण पनि म्यासेज ठप्प हुन पुगेको हो । जसका कारण म्यासेन्जरमा सन्देश थुप्रिन थाल्यो भने म्यासेजको इन्बक्स भने खाली हुन थालेको छ । म्यासेन्जरमा आएका म्यासेज हेर्न नभ्याउने र कतिपय पेन्डिङमै रहिरहेको भए पनि म्यासेज भने मोबाइल प्रयोगकर्ताको रुचिमै पर्न छोडेको छ ।

टेलिकम सेवाप्रदायकलाई समेत म्यासेज प्राथमिकतामा पर्न छाडेको छ । सेवाप्रदायकले मोबाइल डेटा सस्तो प्याकेजमा उपलब्ध गराउने र डेटाबाटै आम्दानी बढाउन ध्यान दिन थालेका छन् । म्यासेज पठाउने जमाना हराएका कारण कति भयो भनेर गणना गर्ने र तथ्यांक सार्वजनिक गर्न पनि छोडिएको निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेलका प्रतिनिधि बताउँछन् ।

एनसेलका प्रतिनिधिका अनुसार ५ वर्ष अघिसम्म दसैंमा प्रयोग हुने एसएमएसको गणना गर्ने गरिएको थियो । अहिले सस्तो डेटा प्याक दिन थालेपछि र हरेक क्षण प्रयोगकर्ता मोबाइल डेटाकै पहुँचमा हुने भएकाले एसएमएसको गणनै हुन छोडेको उनले बताए । व्यक्तिगत एसएमएसलाई म्यासेन्जरले सकाइसकेको भए पनि संस्थागत रुपमा प्रयोग हुने तथा बल्क म्यासेज भने अझै चल्तीमा छ ।

नेपाल टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले पनि ओटीटीका कारण म्यासेज हुनै छोडेको बताउँछन् । उनका अनुसार पैसा तिरेर हुने म्यासेजभन्दा इन्टरनेटको पहुँचले निःशुल्क रुपमा प्रयोग हुने म्यासेन्जर, ह्वाट्सएप र भाइबरको प्रयोग बढेको छ ।

नेपाल टेलिकमका अनुसार बैंक तथा वित्तीय संस्था तथा धेरैलाई एउटै सन्देश पठाउने बल्क म्यासेज भने अझै भइरहेको छ । धेरैलाई पठाइने यस्तो म्यासेजको लागि टेलिकमले अझै प्रवर्धन गरिररहेको छ ।

व्यक्तिगत रुपमा प्रयोग हुन थालेको भए पनि संस्थागत रुपमा हुने यस्तो बल्क म्यासेज गर्न भने सहजीकरण गर्ने र आकर्षणका लागि अफर ल्याउनेसम्मको काम सेवाप्रदायकबाट भइरहेको छ ।


क्लिकमान्डु