नेपाली बैंकलाई मोरोक्कोको कम्पनीले भुक्तानीसम्बन्धी सेवा दिँदै, नेपालमै कार्यालय स्थापना गर्ने तयारी



नेपालका ३ वाणिज्य बैंक र स्मार्ट च्वाइस टेक्लोनोजी (एससीटी) लाई डिजिटल भुक्तानीसम्बन्धी सेवा मोरोक्कोको आइटी कम्पनी एसटुएमले प्रदान गरिरहेको छ ।

मोरोक्को (क्यासाबलंका) । अफ्रिकी देश मोरोक्कोको आइटी कम्पनीले नेपालका बैंकहरुमा भुक्तानी प्रणाली व्यवस्थापन सम्बन्धी सेवा प्रदान गर्ने गरेको पाइएको छ ।

मोरोक्कोको आर्थिक राजधानी क्यासाबलंकामा प्रधान कार्यालय रहेको आइटी कम्पनी एसटुएमले नेपालका बैंकहरुलाई इण्ड टु इण्ड इलेक्ट्रोलिक फण्ड ट्रान्सफर स्वीच, कार्ड व्यवस्थापन सोलुसनसहित एटीएम पीओएस ड्राइभिङ, क्रेडिट तथा डेभिड प्रिपेड कार्ड, ठगी व्यवस्थापनलगायतका सेवा दिँदै आएको हो ।

एसटुएमले नेपाली बैंकहरुलाई भिषा, मास्टरकार्ड, एमेक्स, युपीआई लगायतका अन्तर्राष्ट्रिय सेवा प्रदायकसँग पनि कनेन्सन गर्ने काम गरिरहेको कम्पनीका उपाध्यक्ष आमरती रिफ्फिले जानकारी दिए ।

एसटुएमले नेपाली कम्पनी अक्टाकोर सोलुसनलाई स्थानीय साझेदार नियुक्त गर्दै मोरोक्कोबाट भुक्तानी सम्बन्धी सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।

कम्पनीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको काम गर्न अनुमति पाएको स्मार्ट च्वाइस टेक्लोनोजी (एससीटी) लाई सेवा दिइरहेको जनाएको छ । कम्पनीले नेपालको फोन पेसँग पनि साझेदारीमा काम गर्ने तयारी गरेको छ ।

कम्पनीका उपाध्यक्ष रिफ्फि नेपाली डिजिटल पेमन्ट बजारमा ठूलो सम्भावना भएको बताउँछन् । ‘अहिले हाम्रो मार्केट सेयर सानो भएपनि नेपाली बजारमा ठूलो सम्भावना देखेकाले स्थानीय कार्यालय पनि स्थापना गर्ने सोचिरहेका छौं,’ रिफ्फीले भने,‘नेपालमा कार्यालय स्थापना गरेर दक्षिण एसियाका बजारमा सेवा दिने हाम्रो सोच छ ।’

इलेक्ट्रोनिक पेमेन्ट सम्बन्धी सेवा प्रदान गर्न एसटुएम १९८३ सालमा स्थापना भएको थियो ।

मोरोक्को र उत्तर अफ्रिकामा सेवा दिने उद्देश्यले स्थापना भएको कम्पनीले सन् १९९५ मा अमेरिकी कम्पनी फर्स्ट बैंक कार्ड सफ्टवेयरसँग सहकार्य गर्दै अमेरिकी र एसियाली क्षेत्रमा बजार विस्तार गरेको थियो । हाल कम्पनीले ३५ देशमा सेवा दिँदै आएको जनाएको छ ।

कम्पनीले ट्यूनीसिया र बहराइनमा भुक्तानी र कार्ड सम्बन्धी सेवा प्रदान गर्न सहायक कम्पनी स्थापना गरेको जनाएको छ ।
सन् २०११ मा क्यासाबलंका स्टक एक्सचेञ्जमा सूचीकृत एसटुएमले नेपालमा सन् २०१७ सालदेखि सेवा प्रदान गरिरहेको छ।

नेपालमा एटीएम आपूर्ति गरिरहेका कम्पनीको माध्यमबाट नेपाली बैंकसँग सम्बन्ध बनाएको कम्पनीका कार्यकारी उपाध्यक्ष रिफ्फि बताउँछन् ।

‘नेपालमा भुक्तानी सेवा सम्बन्धी टेण्डर नेप्सले आह्वान गरेको थियो, हामीले उक्त टेण्डरमा प्रस्ताव पेस गर्यौं। हामीले नेप्सलाई भुक्तानी सम्बन्धि सफ्टवेयर आपूर्ति गरेका थियौं । ,’ रिफ्फिले भने,‘त्यसपछि नेपालको बैंकिङ क्षेत्रमा डिजिटल पेमेन्टको ठूलो अवसर देख्यौं । अहिले केही बैंकलाई सेवा दिइरहेका छौं ।’

गभर्नर अधिकारी र एसटुएमका अध्यक्षबीच भेट

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरोक्कोको मारकेस पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसटुएमका अध्यक्ष रचिद अबु एल बाल र कार्यकारी उपाध्यक्ष रिफ्फीसँग भेट गरेका छन् ।

नेपाली बैंकहरुलाई सेवा प्रदान गरिरहेको कम्पनीका उच्च अधिकारीसँग भएको भेटमा गर्भनर अधिकारीले नेपालमा सहायक कम्पनी स्थापना गरेर दक्षिण एसियाली देशमा सेवा विस्तार गर्ने सम्भावना भएको बताएका थिए ।

‘नेपालमा आईटी पढेका धेरै युवाहरु छन् । तपाईंहरुले सामान्य तालिम दिएर पेमेन्ट क्षेत्रमा काम गर्न दक्ष जनशक्ति तयार गर्न सक्नु हुनेछ,’ अधिकारीले एसटुएमका अध्यक्ष र उपाध्यक्षसँगको भेटमा भने, ‘नेपालबाट दक्षिण एसियाका देशमा सिधा उडान भएकाले तपाईंहरुलाई भारत, बंगलादेश, श्रीलंका लगायतका देशमा पनि बजार बिस्तार गर्न सहज हुनेछ । अहिले नेपाल सरकारले पनि प्रविधि कम्पनीलाई विदेशी लगानी गर्न लचिलो नीति लिएकाले तपाईंहरुलाई सहज हुन्छ ।’

भेटमा कम्पनीका अध्यक्ष रचिद अबु एल बालले आगामी फ्रेब्रुअरीमा नेपालमा डिजिटल पेमेन्ट सम्बन्धी जानकारी दिन सम्मेलन आयोजना गर्ने तयारी भइरहेको बताए ।


शरद ओझा