ग्लोबल हंगर इन्डेक्सः भोकमरी सूचीमा भारतभन्दा नेपालको स्थित राम्रो
काठमाडौं । विश्वव्यापी भोकमरी मुलुकहरुको सूचीमा नेपालको अवस्था सुधार भएको छ । आयरल्याण्डको कन्सर्न वर्ल्ड वाइड र जर्मनीको वेल्टहंगर हिल्फे नामक गरेको संस्थाले १२५ मुलुकको भोकमरी अवस्थाको अध्ययनले भारतको भन्दा नेपालको स्थिति राम्रो देखाएको छ ।
ग्लोवल हंगर इन्डेक्सले हालै सार्वजनिक गरेको विश्व भोकमरी सूचकांक (जीएचआई) प्रतिवेदनअनुसार दक्षिण एशियाली मुलुकहरु अफगानिस्तान, पाकिस्तान र भारतको तुलनामा नेपालले भोकमरी मुलुकको सूचीमा अवस्था सुधार गरेको छ । अफगानिस्तान, पाकिस्तान र भारत ‘गम्भीर प्रकृतिको भोकमरी’को सूचीमा सूचीकृत छन् ।
दक्षिण एशियाली मुलुकमध्ये वंगालदेश, श्रीलंका र नेपालको अवस्था भारत, पाकिस्तान र अफगानिस्तानभन्दा माथि छ । नेपालसहित वंगलादेश र श्रीलंका ‘मध्यम प्रकृतिको भोकमरी मुलुक’को सूचीमा छन् ।
ग्लोबल हंगर इन्डेक्सको अघिल्लो वर्ष २०२२ मा जीएचआईमा ८१औं स्थानमा सूचीकृत भएको थियो । अहिले त्यो अवस्थामा सुधार गर्दै सन् २०२३ मा नेपाल ६९औं स्थानमा आइपुगेको छ ।
ग्लोबल हंगर इन्डेक्सले दक्षिण एशियाली मुलुकमध्ये भुटान र माल्दिभ्सको विवरण प्राप्त नभएको जनाएको छ । भारतले आफ्नो मुलुकलाई गम्भीर प्रकृतिको भोकमरी मुलुकमा सूचीकृत गरेजस्तो अवस्था नरहेको भन्दै उक्त प्रतिवेदनलाई त्रुटीपूर्ण भनेको छ ।
ग्लोवल हंगर इन्डेक्सले भोकमरीको अवस्था मापन गर्न शून्यदेखि १ सय अंक निर्धारण गरेको छ । यसमा सबैभन्दा कम अंक प्राप्त गर्ने मुलुक कम भोकमरीमा पर्छ । बढी अंक प्राप्त गर्ने मुलुक अत्यधिक भोकमरीको सूचीमा सुचीकृत हुन्छन् ।
प्रतिवेदनअनुसार नेपालले १५ अंक प्राप्त गरेको छ । ग्लोबल हंगर इन्डेक्सले १० देखि १९.९ अंक प्राप्त गर्ने मुलुकलाई मध्यम प्रकृतिको भोकमरी मुलुकमा सूचीकृत गर्दै आएको छ । त्यस्तै २० देखि ३४.९ अंक प्राप्त गर्ने मुलुकलाई गम्भीर प्रकृतिको भोकमरी, ३५ देखि ४९.९ अंक प्राप्त गर्ने मुलुकलाई खतराजन्य भोकमरी र ५० भन्दा माथि अंक प्राप्त गर्ने मुलुकलाई अत्यन्तै चिन्ताजनक मुलुकको सूचीमा सूचीकृत गरिएको छ ।
प्रतिवेदनअनुसार अफगानिस्तानले ३०.६ अंक, भारतले २८.७ अंक र पाकिस्तानले २६.६ अंक प्राप्त गरेका छन् । नेपालभन्दा श्रीलंका भोकमरीको अवस्था सुधार गरी २ अंक माथि झरेको छ । श्रीलंकाले १३ अंक प्राप्त गरेको छ भने बंगलादेशले १९ अंक प्राप्त गरेको छ ।
अल्प पोषणको मापन गर्दा कुल जनसंख्यामध्ये कति जनाले पर्याप्त परिमाणमा क्यालोरीसहितको खाना उपभोग गर्न पाए, उमेरअनुसार उचाइ नहुने ५ वर्षमुनिका बालबालिकाको संख्या, उचाइअनुसार तौल नभएका बालबालिकाको संख्या र ५ वर्षकै अवधिमा मृत्यु हुने बालबालिकाको संख्याको आधारमा भोकमरी मुलुकको अवस्था मापन गर्ने व्यवस्था छ ।